छुच्चो गाडी (बालकविता) Children's Poem by रमेशचन्द्र घिमिरे

chuchho-gadi-by-ramesh-chandra
स्कुल पढ्न जाँदै थेँ किताब च्यापेर
रुझाइदियो गाडीले हिलो छ्यापेर
 
सफा लुगा लाएथेँ आइरन गरेथेँ
जुत्ता मोजा लाएर चट्ट परेथेँ
गाडी हाँक्ने गुरुले हाम्लाई हेपेर
कन्तबिजोक बनाए हिलो छ्यापेर
 
रोडकै छेउमा हिँड्दा नि सुख पाइनँ
गाडी नम्बर कति थ्यो टिप्न भ्याइनँ
गुडिहाल्यो तुरुन्तै ढोका ढ्यापेर,
मैलोधैलो बनायो हिलो छ्यापेर ।।
 
हिलै भई स्कुलमा जाऊँ कसरी ?
पढाइ छोडी फर्केर आऊँ कसरी ?
बसेकी छु रुँदै म दुःख खेपेर
दोधारमा पार्दिए हिलो छ्यापेर ।
          - भोर्लेटार, लमजुङ 
     (२०७६/०३/२४) Photo : Ramesh Chandra Ghimire
Literature: 
Language: