लेखक कविता पराजुलीसँग ३ प्रश्न

kabita-parajuli-2019

कविता पराजुली सक्रिय साहित्यकार हुनुहुन्छ । उहाँको ‘कविताका कविता’ कवितासङ्ग्रह, ‘निदरी’ र ‘हजुरआमा’ बालकवितासङ्ग्रह गरी तीन कृतिहरु प्रकाशित छन् ।
नेपाली साहित्यमा उहाँका निबन्ध र कथाहरु फुटकर रुपमा प्रकाशित छन् । पन्त स्मृति प्रतिष्ठानका आजीवन सदस्य कविता नारी लेखकहरुको संगठन गुञ्जनमा पनि सदस्य हुनुहुन्छ । लेखक कविता पराजुली लिखित दुईवटा बालकविताकृतिहरु भोलि २०७६ असार २७ गते एक समारोहबीच नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाडौँको प्रवचन हल नं. १ मा वरिष्ठ बालसाहित्य लेखक विजय चालिसेज्यूले विमोचन गर्दैै हुनुहुन्छ । यसअघि कविताका कविता कविता सङ्ग्रह प्रकाशन गरिसक्नुभएकी पराजुली बालसाहित्य लेखनमा आउनु खुसीको कुरा हो । यस पटकको ३ प्रश्नमा हामीले लेखक पराजुलीको बालसाहित्य लेखन सम्बन्धी विचारहरु र भोलि विमोचन हुने उहाँका २ कृतिहरुबारे कुराकानी गरेका छौँ ।

 
१. बालसाहित्यमा किन आउनुभयो ? यो त थपडी पाइने विधा त होइन नि ? गजल, कवितामा त कार्यक्रममा गई सुनाएर थपडी र वाहा वाहा पाउन सक्नुहुन्थ्यो । तर बालसाहित्यमा त त्यस्तो अवस्था त छैन । तर पनि तपाईंले बालसाहित्य लेखनमा आउनुको केही विशेष कारण छ कि ?

  लेखकलाई हौसलाका लागि थपडी र प्रसंशा पनि आवश्यक छ भन्ने मलाई लाग्दछ । हो, बालसाहित्यमा गजल, कविताको अनुपातमा कम कार्यक्रम हुने भएकाले कार्यक्रममा गएर रचना सुनाई थपडी पाउने अवसर कम होला तर पनि यसमा बालबालिकाहरु माझमा पुग्न पाइन्छ । नयाँ पुस्ताले लामो समयसम्म याद गरिरहन्छन् । नयाँ पुस्ताको निर्माणमा योगदान दिन पाइन्छ । त्यसो भएर बालसाहित्य लेखनमा मलाई रुचि जागेको हो । तर यो धेरै साधना गर्नुपर्ने विधा रहेछ । मेरो यात्रा भर्खर सुरु भएको छ, हेरौं कति गर्न सकिन्छ ।
निश्चय पनि यस पटक मैले आफ्नो लेखनलाई फरक विधातर्फ मोडेर बालसाहित्य लेखनमा कलम चलाएको हुँ । बालसाहित्य लेखनको यो यात्रा गोरेटो जस्तो देखिए पनि यो अति महत्वपूर्ण, गहन, विस्तृत र संवेदनशील राजमार्ग रहेछ । यसले नै हाम्रो सन्तानको भविष्यलाई उज्यालो तिर लैजान गहन भूमिका निर्वाह गरेको देखिन्छ ।  
भनिन्छ, साहित्य समाजको ऐना हो । समाजमा भएका परिवर्तनलाई कविले कलात्मक रुपले पाठकसामु पस्कन्छ । त्यसैगरी बालसाहित्य पनि बालकहरुको हितका लागि लेखिने भएकाले यसले उनीहरुको समग्र विकासमा मद्धत गर्दछ । जस्तै मिलेर खेल्ने, बाँडेर खाने, घरपरिवारलाई मद्धत गर्ने, राष्ट्रप्रेम, पशुपन्छी र प्रकृतिलाई प्रेम गर्ने यस्ता नदेखिने तर गहन विषयका कुराहरु सानैदेखि किताबमा लेखिएका कुरालाई रमाइलो पाराले खेल्दै गाउँदै जाँदा उनीहरुमा यसले सकारात्मक असरहरु पर्दै जान थाल्छन् । त्यसैले बालसाहित्य जस्तो गहन विषयमाथि मलाई कलम चलाउन मन लाग्यो । भन्छौँ हामी केटाकेटीहरु भनेका कुमालेका माटाजस्ता हुन् । जे जेस्तो बनायो त्यस्तै आकार हुने तर ती गिला माटा जस्ता हाम्रा कलिला नानीहरुलाई राम्रो आकार दिन हामी अलि पछि परेका हौँ कि जस्तो लाग्छ । त्यसैले पनि मलाई यो विधामा केही लेखौँ भन्ने भावना जागृत हुन पुग्यो ।

२. भोलि विमोचन हुने तपाईंका २ बालकविता कृतिहरु निदरी र हजुरआमाको बारेमा केही भनिदिनुस् न ।

विमोचित कृतिकाबारेमा कुरा गर्नुअघि मैले बालसाहित्य लेखन सुरु गर्नुको सन्दर्भबारे केही कुरा गर्न चाहन्छु । यसका लागि मैले अलिकति मेरो पारिवारिक विषयतिर प्रवेश गर्नुपर्ने हुन्छ । किनकि यो निदरी र हजुरआमा दुईवटा बालकविता संग्रहहरु किन लेखेँ भन्ने कुरा नि योसँग सम्बन्धित रहेको छ ।
२०७४ साल फागुनको महिना थियो । जसरी सबै आफन्तहरु आफ्ना छोरीबुहारीहरुले जन्म दिने नयाँ सन्तानको मुख हेर्ने लालसाले विदेश पुग्नुहुन्छ । त्यसरी नै म पनि उडेँ । लामो पर्खाई पछि नातिनीको जन्म भयो । हर्षको सिमा रहेन । पहिलो पटक हजुरआमा बन्न पाउनुको अनुभव निकै रोमान्चक सुखद थियो । वात्सल्य यसरी उर्लेर आयो, मानौैं साउनको भेल उर्लिएर आएझैँ गडगडाउँदै, उर्लिंदै । कहिले शान्त सललल बग्दै, कतै छचल्किँदै मेरा असिम प्रेमका धाराहरु उनीमाथि छताछुल्ल भई पोखिन पुगे । धेरै दिनको अधैर्यले विश्राम पायो । तर यो सनतोष धेरै दिन रहेन । नानी १७ दिनकी हुँदा हामीमाथि ठूलो वज्रपात पर्यो । उनको त्यो सानो मुटुमा केही त्रुटी देखियो । चाँडै शल्यक्रिया गर्नुपर्ने देखियो र ८ घन्टा लामो शल्यक्रियापछि उनले पुनर्जन्म पाइन् । उनीसँग मेरो अगाध प्रेमका साथै भावनात्मक सम्बन्ध पनि जोडिन पुग्यो । उनलाई खेलाउने, सुताउने, खुवाउने जिम्मा मै हजुरआमाले लिएँ । उनको मनलाई शान्त राख्न अंग्रेजीका मीठा धुनहरु बजिरहन्थ्यो । त्यो धुन र गाना सुनेर नातिनी निदाउँथी । म सोच्थेँ मैले जानेकी भए म पनि यिनलाई गाएर सुताउने र खेलाउने गर्थें होला भन्ने लाग्यो । यही कुराले मलाई नमीठोसँग चिमोटिरह्यो । यसैको फलस्वरुप एकदिन निदरी कविता लोरीको भाकामा लेखेर घरको भित्तामा टाँसिदिएँ । त्यही दिनदेखि सबैले निदरी लोरी गाउँदै सुताउन थालियो । यो गाना सुन्दा उनी खुसी पनि हुन्थिन् । त्यसपछि यो क्रमलाई निरन्तरता दिँदै निदरी कविता संग्रह र हजुरआमा बालकविता संग्रह निकाल्न सफल भएँ ।
अन्तमा एउटा कुरा लेखकले सानो एउटा बालसाहित्य लेख्दा जब ऊ स्वयं नै बालकको चरित्रमा डुब्न पुग्छदछ तब मात्र त्यो रचनाले बालक बोल्छ । भाषाको छनोट सरल, सहज र बालकले बुझ्ने, चित्रहरु रमाइला खालका आधा कुरा चित्रले नै बुझाउने हुनु, किताबलाई अन्तिम रुप दिन पुग्दासम्म सम्पादन, प्रकाशन, वितरण आदि सबै खुड्किला पार गरेर मात्र यो बालपुस्तक यहाँहरुको हातसम्म आइपुगेको छ । त्यसैले यो किताब किनेर पढिदिनुस् । यसको मूल्य एक कप कफिको जति पनि छैन । पढेर लेखकलाई सुझाव दिनुहोस् । लेखकलाई यहाँहरुको सल्लाह र सुझावले लेख्ने प्रेरणा मिल्दछ ।
आज विमोचित मेरा किताबहरु यहाँसम्म ल्याई पुर्याउन सहयोग गर्नुहुने बालसाहित्य प्रतिष्ठानका अध्यक्ष कार्तिकेय घिमिरेप्रति म सधैँ कृतज्ञ रहने छु । त्यसैगरी मलाई सधैँ यस क्षेत्रमा अघि बढ्न हौसला र प्रेराणा दिनुहुने आदरणीय आख्यानकार श्री गीता केशरी दिज्यूप्रति पनि म सधैँ आभारी छु । उहाँको मार्गनिर्देशन बिना मेरो यो साहित्यिक यात्राले शायद गति पाउदैनथ्यो होला । मेरो लेखनलाई पुस्तककार रुपमा ल्याइदिनुहने बालसाहित्य प्रतिष्ठान नेपाललाई मुरीमुरी धन्यवाद दिन चाहन्छु । साथै निदरी रंगीन कृतिका प्रतिभाशाली चित्रकार श्री पल्पसा मानन्धरजी र हजुरआमा कृतिका प्रतिभाशाली चित्रकार अर्पिता शाक्यजीलाई धन्यवाद दिन चाहन्छु । साथै भोलिको कार्यक्रममा मेरो कवितालाई सुमधुर रुपमा गाउनुहुने झन्कार कला केन्द्रका कलाकार बालबालिकाहरु तथा संगीत निर्देशक तथा उक्त कार्यक्रमकी संचालिका प्रतिभाशाली कलाकार श्री आश्मा अर्यालजी र वरिष्ठ संगीतकार रमेश सुवेदी र लेब्रोरटरी स्कुलका विद्यार्थी गायक भाइहरुमा हार्दिक आभारी छु । साथै मेरा २ कृतिहरु प्रकाशनमा महत्वपूर्ण सहयोग गर्नुहुने मेरा श्रीमान् डा. उमेश नाथ पराजुलीज्यू, छोरी रुजु पराजुली र ज्वाइँ लक्ष्मण घिमिरेज्यू र छोरी डा. श्रीया पराजुली र छोरा श्रेयश पराजुली लगायत सम्पूर्ण सहयोगी मित्रहरुप्रति आभारी छु ।

भोलि विमोचन हुने कृतिबारे वरिष्ठ आख्यानकार गीताकेशरीज्यूको विचारमा भन्नुपर्दा निदरी कविताले बालकहरुलाई सुताउन गाइने गीतको खाँचोलाई परिपूर्ति गरेको छ । गीत गाउँदै बच्चा सुताउनुले बच्चालाई सानै उमेरदेखि गीतको मिठासमा बानी पर्छ र चरित्र निर्माणमा शान्त र स्वच्छताको असर पर्न गई हुर्कंदै जाँदा व्यक्ति शान्तिप्रिय हुन्छ । अहिले हाम्रो देशमा बच्चालाई लोरी सुनाएर सुताउने यो चलन त्यति छैन । कसैले गाइहाले पनि सुत्, नानु सुत् मात्र भन्छन् कि डर देखाउँदै उताबाट गुँजी आइरहेछ, सुत नत्र लैजान्छ भन्ने त्रास देखाउँछन् ।
समय र परिस्थितिको यस बदलिँदो अवस्थामा यस्ता निदरी लोरी गीतहरु गाइनु र लेखिनु जरुरी छ । यसमा सहयोग पु¥याएको छ भन्ने उहाँको ठम्याई रहेको छ । त्यस्तै मेरो अर्को कृति हजुरआमाको बारेमा पनि उहाँले यस्तो भन्नुभएको छ :  हजुरआमा अनुशासन, ज्ञान, स्नेह र देशभक्तिको भावनालाई बाल्यकालदेखि नै अङ्कुरित पार्दै लैजानको लागि लेखिएको उद्देश्यमूलक बालकविताकृति हो ।

 ३. अब बालसाहित्य लेखक हुनुभयो । भोलिका दिनमा  कथा लेखनमा पनि अग्रसर भई बालबालिका माझमा कथावाचन गर्ने पनि विचार छ कि बालकवितामा मात्र कलम चलाउने विचार गर्नुभएको  छ ?

 वास्तवमा मैले कलम चलाउने विधा कविता र कथा नै हुन् । भविष्यमा रमाइला बालकथा लेखी बालबालिका माझमा गई वाचन गर्ने रहर छ । बालकविता र कथा दुवै विधामा मेरो कलम निरन्तर चलिरहन्छ भन्ने सोचेको छु ।

Opinion: 
Language: