कविता पराजुलीका दुई बालकविताकृतिहरु विमोचित

book-launching-kabita-parajuli-27-asar

काठमाडौँ, असार २८/ कविता पराजुलीका दुई बालकविताकृतिहरु निदरी र हजुरआमाको विमोचन वरिष्ठ बालसाहित्य लेखक विजय चालिसेले गत शुक्रवार  असार २७ गते आयोजित एक भव्य समारोहबीच गर्नुभएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, प्रवचन हल– १, कमलादी, काठमाडौँमा आयोजित उक्त समारोहमा उक्त कृतिभित्रको एकएकवटा रचनालाई लेबरोटरी स्कूलका कक्षा ७ मा अध्ययनरत दृष्टिविहीन बालक प्रोसेस पाण्डे र झंकार कला केन्द्रका बालबालिकाहरुले गाउनुभएको थियो । संगीत संयोजन वरिष्ठ संगीतकारद्धय रमेश सुवेदी र आश्मा अर्यालले गर्नुभएको थियो । दुवै दृष्टिविहीन फरक क्षमताका प्रतिभा हुनुहुन्छ ।
   आश्मा अर्याल, युवा लेखक, संगीतकार, गायिकाले उद्षोण गर्नुभएको उक्त समारोह बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेयको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि र विशेष अतिथिहरुमा क्रमशः गीता केशरी, वरिष्ठ साहित्यकार, सल्लाहकार बालसाहित्य प्रतिष्ठान नेपाल, पूर्व अध्यक्ष गुञ्जन, श्री रञ्जुश्री पराजुली, वरिष्ठ साहित्यकार, आजीवन सदस्य गुञ्जन, जलेश्वरी श्रेष्ठ, वरिष्ठ साहित्यकार, संस्थापक, बालसाहित्य प्रतिष्ठान नेपाल, अध्यक्ष, जलरिका साहित्य प्रतिष्ठान नेपाल, पूर्व उपाध्यक्ष गुञ्जन,  सुशीला देउजा, वरिष्ठ साहित्यकार, संस्थापक, बालसाहित्य प्रतिष्ठान नेपाल, वर्तमान कोषाध्यक्ष गुञ्जन, प्रा.डा. विजया पन्त, त्रिविवि, कीर्तिपुर रहनुभएको थियो । त्यस्तै समीक्षकहरुमा सरिता अर्याल, युवा समीक्षक, स्नातक दोस्रो वर्ष, अंग्रेजी विभाग, शहीद स्मारक कलेज, कीर्तिपुर, पुष्पा लोहनी, बालसमीक्षक, कक्षा १०, न्युटन मावि, बालुवाटार र याङ्जी थोकर, कक्षा १०, वासु मावि, भक्तपुर रहनुभएको थियो । समारोहमा विमोचित कृतिका प्रतिभाशाली युवा चित्रकार पल्पसा मानन्धर, ललिता शर्मा, बालसाहित्य लेखक, नेपालगन्ज, बाँके,  विमोचित कृतिका लेखक कविता पराजुलीका श्रीमान् डा. उमेश नाथ पराजुलीका साथै विमोचित हुने कृतिका लेखकका स्नेही छोरी डा. श्रिया पराजुली र स्नेही छोरा श्रेयश पराजुली तथा उक्त कार्यक्रमका समीक्षक श्री सरिता अर्यालका आदरणीय मातापिता पनि उपस्थित रहनुभएको थियो ।
 उक्त समारोहमा विशेष रचना वाचनमा वरिष्ठ बालसाहित्य लेखकहरु गंगा कर्माचार्य पौडेल, ललिता दोषी, विजयराज न्यौपाने, विद्याप्रसाद घिमिरे, श्यामकृष्ण खुलीमुली, नरेन्द्रकुमार नगरकोटी, देबु लुइँटेल, उद्धव प्याकुरेल, ईश्वर थोकर, पार्वती श्रेष्ठ, मुना मन्जरी भट्टराई, सेन्टमेरिज स्कूलकी कवयित्री शुभिका बराल लगायतले रचना वाचन गर्नुभएको थियो ।
साथै उक्त कार्यक्रममा रिपोर्टरको भूमिकामा स्वयंसेवक श्री देबुु लुइँटेल र शुक्र बि.क.,  भिडियो रेकर्डरको भूमिकामा स्वयंसेवक शीतल बि.क. र अन्य प्रतिष्ठानका स्वयंसेवक साथीहरुले पनि विभिन्न भूमिकामा रही सक्रियतापूर्वक सहयोग गर्नुभएको थियो ।
समारोहमा प्रमुख अतिथि विजय चालिसेले बालसाहित्य लेखकले वर्तमान समाजका बालबालिकाहरुले बाँचिरहेको जीवनको र उनीहरुको आवाज बोल्न सक्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । समारोहमा लेखक पराजुलीका विमोचित कृतिले बालबालिकाको भावना समेट्न सफल भएकोमा वक्ताहरुले लेखकलाई बधाई दिनुभएको थियो ।

उक्त समारोहमा विमोचित कृतिका लेखक कविता पराजुलीले व्यक्त गर्नुभएको मन्तव्यको पूर्ण पाठ यस प्रकार रहेको छ :


यहाँ उपस्थित सबै महानुभावहरुलाई म कविता पराजुलीको हार्दिक नमस्कार छ ।
समारोहका सभापतिज्यू,
प्रमुख अतिथिज्यू,
विशिष्ट अतिथिज्यूहरु, अतिथिज्यूहरु तथा
यस सभा हलमा उपस्थित साहित्यकार, पत्रकार, कलाकार लगायत  सम्पूर्ण महानुभावहरुमा हार्दिक नमन गर्दछु । 
आज म यहाँहरु सामु मेरा दुई बालकविताकृतिहरु निदरी र हजुरआमा लिएर उपस्थित भएकी छु । यसअघि मेरो कविताका कविताहरु नामक कविता कृति प्रकाशित भएको थियो । हो, यस पटक मैले आफ्नो लेखनलाई फरक विधातर्फ मोडेर बालसाहित्य लेखनमा कलम चलाएकी छु । बालसाहित्य लेखनको यो यात्रा गोरेटो जस्तो देखिए पनि यो अति महत्वपूर्ण, गहन, विस्तृत र संवेदनशील राजमार्ग रहेछ । यसले नै हाम्रो सन्तानको भविष्यलाई उज्यालो तिर लैजान गहन भूमिका निर्वाह गरेको देखिन्छ ।  
भनिन्छ, साहित्य समाजको ऐना हो । समाजमा भएका परिवर्तनलाई कविले कलात्मक रुपले पाठकसामु पस्कन्छ । त्यसैगरी बालसाहित्य पनि बालकहरुको हितका लागि लेखिने भएकाले यसले उनीहरुको समग्र विकासमा मद्धत गर्दछ । जस्तै मिलेर खेल्ने, बाँडेर खाने, घरपरिवारलाई मद्धत गर्ने, राष्ट्रप्रेम, पशुपन्छी र प्रकृतिलाई प्रेम गर्ने यस्ता नदेखिने तर गहन विषयका कुराहरु सानैदेखि किताबमा लेखिएका कुरालाई रमाइलो पाराले खेल्दै गाउँदै जाँदा उनीहरुमा यसले सकारात्मक असरहरु पर्दै जान थाल्छन् । त्यसैले बालसाहित्य जस्तो गहन विषयमाथि मलाई कलम चलाउन मन लाग्यो । भन्छौँ हामी केटाकेटीहरु भनेका कुमालेका माटाजस्ता हुन् । जे जेस्तो बनायो त्यस्तै आकार हुने तर ती गिला माटा जस्ता हाम्रा कलिला नानीहरुलाई राम्रो आकार दिन हामी अलि पछि परेका हौँ कि जस्तो लाग्छ । त्यसैले पनि मलाई यो विधामा केही लेखौँ भन्ने भावना जागृत हुन पुग्यो ।
आफ्ना सन्तान असल र सफल बनून् भन्ने चाहना सबै बाबुआमाका हुन्छन् तर कहिलेकाही आफूले सोचेजस्तो हुँदैन । कहिले कहाँ गएर उनीहरु चिप्लिन्छन् र कुलतको बाटो रोज्दछन् । त्यसैले अहिले आमा बुवाहरु आफ्ना सन्तानप्रति धेरै सचेत हुनुपर्ने देखिन्छ । उनीहरुलाई यसो गर, यसो नगर भनिरहँदा त्यो कुरा उनीहरुलाई पच्दैन अनि कति एउटै कुरा गरिरहनुहुन्छ तपाईं भनेर बेवास्ता गर्छन् । त्यसैले परिवारका सदस्यहरुले भन्दा किताबले बोलेका कुरा उनीहरुले सुन्ने र बुझ्छन् पनि । त्यसैले पनि आजको समाजलाई ज्ञानवद्र्धक बालसाहित्यको खाँचो छ । साना केटाकेटीलाई आमाबुवाले पढेर सुनाई त्यसको अर्थ बुझाइदिने र ठूलालाई पढ्न प्रेरणा दिने गर्नु राम्रो हुन्छ । अनि मात्र उनीहरु अनुरागी हुन सक्छन् । कलिलो उमेरमा दया, माया प्रेम रोपिदिन सक्यौँ भने त्यो रोपिएका भावनाहरुले पछि मौलाउने मौका पाउँछन् ।
घर भनेको पहिलो पाठशाला हो । घरलाई घरजस्तै शान्त र रमाइलो राख्नुपर्दछ । अनि मात्र बालकको मष्तिष्कमा सकारात्मक असर पर्दछ । घरमा झैझगडा सधैँ हुन्छ भने त्यो घरबाट केटाकेटीले झगडालुपन र रिसराग नै सिक्दै जान्छन् । त्यसैले बालबालिकाहरुलाई घरमा प्रेरणादायी कथा–कविताहरु मनोरन्जनात्मक तवरले भाका हाली सुनाउने र हाउभाउ सहित कथा सुनाउने गर्नाले उनीहरुमा सुन्ने बानीको विकासका साथै मनोवैज्ञानिक तवरले ती कुराहरुलाई ग्रहण गर्ने शक्तिको पनि विकास हुन्छ । त्यसैले साना बालबालिकाहरुलाई सानैदेखि किताब पढ्ने बानी बसाल्न सकिएको खण्डमा उनीहरुको फुर्सदको समयको राम्रो सदुपयोग हुने थियो जस्तो लाग्दछ । आजकलका अभिभावकहरु धेरै सचेत हुनुभएको छ । बालसाहित्यका पुस्तक किनौँ र आफ्ना नानीहरुलाई पढ्न प्रेरित गरौँ । यो कुरा अहिलेको समयमा झन् अपरीहार्य भइसकेको छ जस्तो लाग्दछ । अभिभावकको कामको व्यस्तताले गर्दा साना केटाकेटीहरुले उहाँहरुसँग धेरैबेर बसेर समय बिताउन पाउँदैनन् । जानी नजानी ती बालकहरुका हातमा आइफोन र आइप्याड आइपुग्छन् । जसले गर्दा उनीहरु पछि गएर समाज, घर, परिवार र पढ्ने बानीबाट टाढा पुग्दछन् । दायित्व हाम्रो हो, कलिला नानीको हातमा मोबाइल थमाउने कि किताब ?  आज यो सोचनीय विषय बन्न पुगेको छ ।
 अब म अलिकति पारिवारिक विषयतिर जान चाहन्छु । किनकि यो निदरी र हजुरआमा दुईवटा बालकविता संग्रहहरु किन लेखेँ भन्ने कुरा नि योसँग सम्बन्धित रहेको छ ।
२०७४ साल फागुनको महिना थियो । जसरी सबै आफन्तहरु आफ्ना छोरी बुहारीहरुले जन्म दिने नयाँ सन्तानको मुख हेर्ने लालसाले विदेश पुग्नुहुन्छ । त्यसरी नै म पनि उडेँ । लामो पर्खाई पछि नातिनीको जन्म भयो । हर्षको सिमा रहेन । पहिलो पटक हजुरआमा बन्न पाउनुको अनुभव निकै रोमान्चक सुखद थियो । वात्सल्य यसरी उर्लेर आयो, मानौैं साउनको भेल उर्लिएर आएझैँ गडगडाउँदै, उर्लिंदै । कहिले शान्त सललल बग्दै, कतै छचल्किँदै मेरा असिम प्रेमका धाराहरु उनीमाथि छताछुल्ल भई पोखिन पुगे । धेरै दिनको अधैर्यले विश्राम पायो । तर यो सनतोष धेरै दिन रहेन । नानी १७ दिनकी हुँदा हामीमाथि ठूलो वज्रपात पर्यो । उनको त्यो सानो मुटुमा केही त्रुटी देखियो । चाँडै शल्यक्रिया गर्नुपर्ने देखियो र ८ घन्टा लामो शल्यक्रियापछि उनले पुनर्जन्म पाइन् । उनीसँग मेरो अगाध प्रेमका साथै भावनात्मक सम्बन्ध पनि जोडिन पुग्यो । उनलाई खेलाउने, सुताउने, खुवाउने जिम्मा मै हजुरआमाले लिएँ । उनको मनलाई शान्त राख्न अंग्रेजीका मीठा धुनहरु बजिरहन्थ्यो । त्यो धुन र गाना सुनेर नातिनी निदाउँथी । म सोच्थेँ मैले जानेकी भए म पनि यिनलाई गाएर सुताउने र खेलाउने गर्थें होला भन्ने लाग्यो । यही कुराले मलाई नमीठोसँग चिमोटिरह्यो । यसैको फलस्वरुप एकदिन निदरी कविता लोरीको भाकामा लेखेर घरको भित्तामा टाँसिदिएँ । त्यही दिनदेखि सबैले निदरी लोरी गाउँदै सुताउन थालियो । यो गाना सुन्दा उनी खुसी पनि हुन्थिन् । त्यसपछि यो क्रमलाई निरन्तरता दिँदै निदरी कविता संग्रह र हजुरआमा बालकविता संग्रह निकाल्न सफल भएँ ।
अन्तमा एउटा कुरा लेखकले सानो एउटा बालसाहित्य लेख्दा जब ऊ स्वयं नै बालकको चरित्रमा डुब्न पुग्छदछ तब मात्र त्यो रचनाले बालक बोल्छ । भाषाको छनोट सरल, सहज र बालकले बुझ्ने, चित्रहरु रमाइला खालका आधा कुरा चित्रले नै बुझाउने हुनु, किताबलाई अन्तिम रुप दिन पुग्दासम्म सम्पादन, प्रकाशन, वितरण आदि सबै खुड्किला पार गरेर मात्र यो बालपुस्तक यहाँहरुको हातसम्म आइपुगेको छ । त्यसैले यो किताब किनेर पढिदिनुस् । यसको मूल्य एक कप कफिको जति पनि छैन । पढेर लेखकलाई सुझाव दिनुहोस् । लेखकलाई यहाँहरुको सल्लाह र सुझावले लेख्ने प्रेरणा मिल्दछ ।
आज विमोचित मेरा किताबहरु यहाँसम्म ल्याई पुर्याउन सहयोग गर्नुहुने यस सभाका सभापति श्री कार्तिकेय घिमिरेप्रति म सधैँ कृतज्ञ रहने छु । त्यसैगरी मलाई सधैँ यस क्षेत्रमा अघि बढ्न हौसला र प्रेराणा दिनुहुने आदरणीय आख्यानकार श्री गीता केशरी दिज्यूप्रति म सधैँ आभारी छु । उहाँको मार्गनिर्देशन बिना मेरो यो साहित्यिक यात्राले शायद गति पाउदैनथ्यो होला । मेरो लेखनलाई पुस्तककार रुपमा ल्याइदिनुहने बालसाहित्य प्रतिष्ठान नेपाललाई मुरीमुरी धन्यवाद दिन चाहन्छु । साथै निदरी रंगीन कृतिका प्रतिभाशाली चित्रकार श्री पल्पसा मानन्धरजी र हजुरआमा कृतिका प्रतिभाशाली चित्रकार अर्पिता शाक्यजीलाई धन्यवाद दिन चाहन्छु । साथै आज मेरो कवितालाई सुमधुर रुपमा गाउनुहुने झन्कार कला केन्द्रका कलाकार बालबालिकाहरु तथा संगीत निर्देशक आश्मा अर्याल र ल्याब स्कूल कीर्तिपुरमा कक्षा ७ मा पढ्ने बालक प्रोस पाण्डे र संगीत शिक्षक रमेश सुवेदीजी तथा आजको कार्यक्रमकी संचालिका प्रतिभाशाली कलाकार श्री आश्मा अर्यालजी र समीक्षकहरु श्री सरिता अर्याल, श्री पुष्पा रेग्मी र श्री याङ्जी थोकर, भक्तपुर लगायत सबै भाइबहिनीहरुमा हार्दिक आभारी छु ।
अन्तमा सबै सहृदयी मनहरुमा हार्दिक नमन गर्दै बिदा चाहन्छु ।
                धन्यवाद ।
                                कविता पराजुली 

Segment: 
Language: