मन परेको खेलौंना Children's Story by उद्धवप्रसाद प्याकुरेल

uddhav-pykurel-2076

दशै विदामा म मामाघर गएको थिएँ । मसँग मामाले दिनुभएको पैसा थियो । म बिहान सुटुक्क बजार गएँ ।
म मामा घरबाट पहिलो पटक एक्लै बजार गएँ । मामाघरबाट बजार पनि टाढा पो रहेछ ।
मैले पसलमा मलाई मन परेको खेलौना किनेँ ।
खेलौना बोकेर म मामाघर फर्कँदै थिएँ । दोबाटोमा आईपुगेँ । “लौजा, घर जाने बाटै पो बिर्सेछु । कुन बाटो जाँदा घर पुगिन्छ होला ?” म विचार गर्न लागेँ ।
“बाबू तिमीले बाटो भुले जस्तो छ ।” कसैले भन्यो । मैले यताउता हेरेँ । त्यहाँ कोही देखिन । यहाँ नजिक त कोही छैन । म छक्क परेँ ।
“तिमी बजार जाँदै थियौँ । दोबाटो नजिकै आई पुग्दा तिमीलाई ठेस लागेको थियो । त्यो ठेस लागेको ढुङ्गा कुन होला ?“
फेरि कसैले भन्यो । मैले विचार गरँे, “अँ यसो भन्ने त यही ठेस लागेको बुढी औंलो हो नि । मलाई अझै दुखिरहेको छ । मैले ठेस लागेको ढुङ्गो पत्ता लगाएँ । अब यहि बाटो गएँभने अवश्य मामाघर पुग्छु ।
म सरासर मामाघर जाँदै थिएँ । फेरि तीनओटा बाटोको समूह  आयो । “लौजा ! अब कुन बाटो घर जाने होला ? म त अलमल परेँ ।
“ए भाइ तिमीले बाटो भुले जस्तो छ नि ?” कसैले भने जस्तो लाग्यो । मैले कराएर भने, “हो मैले मामाघर जाने बाटो बिर्सिएँ ।”
तिमी पसल जाँदा सिस्नो समातेका थियौं । तिमीलाई सिस्नोले हातमा पोलेको थियो । हो अब सिस्नो भएको बाटो पत्ता लगायौं भने घर पुग्न सक्छौ ।” फेरि कसैले भन्यो ।
यताउता हेरेँ यहाँ त कोही छैन । ए, यही पोलेको हातले भनेको रहेछ । सिस्नो भएको बाटो पत्ता लगाएँ । अनि फटाफट घर गएँ ।
केही पर पुगेपछि फेरि चौवाटो आयो । “ला अब कताबाट घर जाने होला ?” म सोच्न लागेँ ।
“हा हा हा यो भाइले घर जाने बाटो भुलेछ ।” कसैले गिज्याएर हाँसे जस्तो लाग्यो । मैले सम्झे, “अघि बजार जाँदा त्यो चौतारोमा एकक्षण बसेको थिएँ ।”
हो त्यही चौतारोको बाटो जाँदा मामाघर पुगिन्छ ।
म फटाफट चौतारोको बाटो मामाघर गएँ ।
“ला ! यो त मामा घर हैन ! अब के गर्ने होला ?” मैले मामाघरलाई राम्रोसँग हेरेँ र सोचेँ, “मामाघरको भित्ता घुरमैलो सेतो थियो, झ्याल ढोकाको रङ खुईलिएको थियो । आँगन चोकमा झारैझार थियो । अहिले त घरको भित्ता पनि चहकिलो छ । झ्याल ढोका चहकिलो  छ । आँगन चोक पनि सफा छ ।”
पछाडिबाट कसैले कुममा समात्यो । म झसङ्ग भएँ । पछाडि फर्किएर हेरेँ । माइजू पो हुनुहुँदो रहेछ ।
माइजूले सोध्नुभयो, “कहाँ गएको यतिका बेर ? म त खोज्न जान लागेकी थिएँ । हेर त हामीले घर सिङ्गारी सक्यौ ।”
म माइजूलाई हेरेर मुसुक्क हाँसे । अनि मलाई मन परेको खेलौना देखाइदिएँ । त्यो खेलौना चङ्गा र लट्टाई थियो ।
२०७६।०४।०४
सानोठिमी भक्तपुर

Literature: 
Language: