मेरा पिताजी – राष्ट्रकवि माधवप्रसाद घिमिरे

madhav-ghimire-national-poet

(हामी हरेक वर्ष भाद्रकृष्ण औँसीलाई पितृदिवसका रुपमा पिता (बाबु) को मुख हेर्ने दिन अर्थात् फादर्स डे का रुपमा मनाउँछौँ । यस पटक हामीले १०० वर्ष पुग्नुभएका हाम्रा आदरणीय कवि, नेपाल राष्ट्रकै पिताजी राष्ट्रकवि माधवप्रसाद घिमिरले आफ्ना पिताजी गौरीशंकर शर्मा घिमिरेका बारेमा गर्नुभएको सम्झना प्रस्तुत गरेका छौँ । आगामी भाद्र १३ गते पिता सम्मान दिवस (पितृदिवस) को दिन हो । अब ४ दिनपछि यो दिवस रहेको छ । भाइबहिनीहरु, त्यो दिन तिमीहरुले पनि आफ्ना पिताजीलाई मिठामिठा खानेकुरा दिएर, माया गरेर यो दिवस मनाउनू है !)
आफ्ना पिताजीको सम्झना गर्दै राष्ट्रकवि माधवप्रसाद घिमिरेज्यू भन्नुहुन्छ :
   म किसानको छोरो हुँ । म सानो छँदा हाम्रो गोठमा गाईभैसी थुप्रै थिए । गोठाला दाइहरुले गोठमै बसेर पिताजीलाई सहयोग गर्थे । पिताजी गाईभैसी हेरेर नै त्यो दुधालु छ छैन भनेर भनिदिन सक्नुहुन्थ्यो । उहाँ गोठालाहरुसँग ठट्टा रमाइलो पनि गर्नुहुन्थ्यो । गोठालाहरु उहाँदेखि खुसी थिए । रमाएर काम गर्थे ।
म सम्झन्छु, पिताजी एकदमै दयालु हुनुहुन्थ्यो । गोठमा दुध दही घिउ खाएर बाँडेर सकिएर घरमा मोही मात्र आइपुग्थ्यौ । अर्को कुरा पिताजी त्यतिबेलाका कविका कविता लय हालेर गाउनु हुन्थ्यो । उहाँको वाचन सुनेर म मुग्ध हुन्थेँ । खुब रमाउँथेँ ।
पिताजीले त्यतिबेला गोठमा काम गर्नुभएको र खेतीकिसानी गर्नुभएको र ती कविका कवितामा डुबेर वाचन गर्नुभएको देखेर मेरो मनमा सानैदेखि काम भनेको कुनै पनि सानो र ठूलो हुँदैन । सबै काम बराबर हुन्, काम गर्नु नै आफ्नो प्रतिष्ठा बढाउनु हो भन्ने धारणा बन्यो । यो धारणाले जीवनमा सफल हुन मलाई धेरै सहयोग गर्यो ।
म सम्झन्छु मेरा पिताजी सधैँ, मैलेभन्दा बाबु छोरा तिमीले राम्रो गर्नुपर्छ भनेर मलाई सधैँ हौस्याउनु हुन्थ्यो । उहाँको त्यो हौसलाले गर्दा मलाई झन जागरसाथ काम गर्ने उत्साह प्राप्त हुन्थ्यो ।
वास्तवमा हरेक पिताले आफ्ना सन्तानले आफूभन्दा आफ्ना सन्तानले राम्रो गरुन्, अझ बढी दक्ष होऊन् भन्ने चाहना राख्छन् । त्यसैले त वेदमा भनिएको छ ‘पितृदेवो भव’ अर्थात् पितालाई देवता जस्तै मान । मेरा लागि पनि मेरा पिताजी देवता जस्तै हुनुहुन्छ ।
(सम्पादक कार्तिकेयसँगको कुराकानीमा आधारित)

Literature: 
Language: