चाडवर्पमा बालबालिकालाई खुसी नै खुसी दिउँ

suva-raj-pokharel

- शुभराज पोखरेल

दशैंमा टीका प्रसाद लगाउँदा दिने आशीरवचन्  :


आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।

ऐश्वर्य नशुषे गतिश्च पावने मानश्च दुर्योधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

द्रोण पुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दरशथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन् , नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस् भनी मान्यजनबाट आशीर्वचन लिइन्छ । मनमा भएको विकारलाई हटाई सबल र सक्षम व्यक्तित्व विकासका लागि भगवान्को प्रसाद ग्रहण गर्दै टीका लगाइन्छ ।

दशै बालबालिकाको खुसीको चाड हो । हिन्दु धर्मालम्बी बालबालिकाको लागि संस्कृति तथा सामाजिक संस्कार बुझ्ने र आत्मसात गर्ने अवसर हो । समग्र नेपालीहरुको लागि कम्तीमा एक वर्षमै भएपनि हजुरबुबा-आमा, ठुलोबुबा-आमा, काकाकाकी, मामामाइजू, फुपूफुपाजु, दिदीबहिनी, दिदीभिनाजु, दाजुभाइ छरछिमेकी र साथीहरुसँगको पूनर्मिलनको हो । 
दशैमा बालबालिकाको लागि नयाँ लुगा, दक्षिणा, मिठो खाना, यात्रा, साथीसँगी तथा आफन्त भेट, लिङ्गे तथा रोटे पीङ तथा गाउँघरका चोक‡चोकमा हुने दुर्गा पूजा, विभिन्न नाचगान तथा रमाइलो देख्दा र सुन्नासाथ प्रफूल्लित  हुन्छन् । त्यसैले हरेक रमाइलो र जमघटहरुमा वयस्कभन्दा बालबालिका नै धेरै उत्साहित हुने गर्दछन् ।
विभिन्न अवसरमा हुने पारिवारिक तथा सामाजिक अवसर  भन्नासाथ बालबालिकाको खुसी र उत्साहको मापन नै गर्न सकिँदैन । उनीहरुको यस्ता खुसी र उत्सहलाई के हामी अभिभावहरुले खुसीकै रुपमा जोगाई राख्न सहयोग गरेका छौ त ? कुनै अवसर तथा आफन्तकामा जाने कुरा सुन्नासाथ घरमा भएका राम्रा मध्येको सबैभन्दा राम्रो कपडा लगाएर जान तयार हुन्छन् । त्यतिबेलाबाटै अभिभावक र बालबालिकाको बीचमा द्वन्द्व शुरु भइहाल्छ । लुगा मिलाएर लगाउन पनि आउँदैन्,  लगाएकै मिलेन । अनुहार कति नराम्रो बनाएको, फोहोरी उस्तै छ । कति धेरै उत्ताउलो भएको ? त्यहाँ पुगरे हाम्रो इज्जत फाल्लास् नि ! ज्ञानी भएर बस्ने, बोलिको टुङ्गो छैन । कोहीसँग झगडा गर्लास् नि ! खानै नपाएको जस्तो व्यवहार नदेखाउनु .... आदि आदि । यस्ता  भनाई पनि रिस तथा आवेसमा गाली गर्दै भनिन्छ ।

जब बालबालिका परिवारिक तथा सामाजिम गतिविधिहरुमा रमाउँछन् । त्यसबेला उनीहरुले कति बेला आफूले सोचेभन्दा भिन्न व्यवार गर्दछन्  र उनीहरुलाई तत्काले गाली गरौं यस्तै अवसरको मौका कुरेर बसेका हुन्छन् कयौं अभिभावकहरु । जमघट र सामाजिक कार्यक्रमबाट निस्कना साथ आज हाम्रो इज्जत नै फालिस, हामीले खान नदिएको झँै गरिस्, केही नदेखेको जस्तो जंगली व्यवहार देखाइस् अब देखि कहीं पनि तलाई लिएर जान्न आदि आदि !

खुसीको अवसरमा आफू स्वतन्त्र र उन्मूक्तसाथ निस्कन चाहेका एकजना बालक वा बालिका घरबाट निस्केदेखि घरमा पुनः फर्कंदा सम्म किन म आज त्यहाँ गएछु ? सधैं कति गालि खानु, के म साच्चिकै नराम्रो हो त ? जस्ता कुराले आफैँलाई दोषी देख्ने, चिट्चिटाहट हुनुको साथै अभिभावकले आफूलाई सधंै अविश्वास गर्दछन् भन्ने धारणाको विकास भइरहेको हुन्छ । आफूलाई कमजोर महसुस गर्दछन् । सामान्य कुरामा पनि रिसाउने, झर्केर बोल्ने क्रमशः अभिभावकबाट टाढा हुन रुचाउने र उनीहरुले आत्मविश्वास पनि गुमाउँदै जान्छन् ।

दशैको पारिवारिक जमघटमा अभिभावकहरुले एक अर्काको बालबालिकाको परीक्षामा नम्बर वा जिपिएका बारेमा व्यापक चर्चा गर्दछन् । कुनै एक जना बालबालिकाले अर्काे सानीमा, फुपू, माइजू, ठुलोबुबा वा काकाको छोराछोरीको भन्दा कम नम्बर ल्याएकोमा त्यहाँ हुने एक अर्काबीचको तुलनाले पनि बालबालिकालाई एकै ठाउँमा सँगै बसेर रमाउने वातावरणमा नै असर परिरहेको हुन्छ । यतिमात्र हैन घर फर्केपछि पनि यतिधेरै सुविधा हुँदा हुँदै पनि उसको जति पनि पढ्न नसक्ने जस्ता वाक्यले बालबालिकामा हीनताबोध गराउन प्रेरित गर्दछ ।
अभिभावबीचको कुराकानीकै क्रममा थाहै नपाई आफ्ना बालबालिका फटाहा भएको, नराम्रो बानी भएको, पढ्नमा अल्छे, कुरौटे, लामो हात पनि गर्छ कहिले काहीं, अझै ओछ्यानमा पिसाप फेर्छ, एकदमै रिसाहा, जिद्दी छ जस्ता नकारात्मक कुराहरु हुन पुग्दछन् । बालबालिकाका बारेमा हुने नकारात्मक कुरा एककान दुई कान मैदान भई आफन्तहरुबाट उनीहरुलाई हेर्ने दृष्टिकोणमा नकारात्म धारणा मात्र हैन व्यवहार पनि नकारात्मक हुने गर्दछ ।  उनीहरुलाई आफन्तकै अगाडि लज्जित गराइन्छ । अभिभावक तथा वयस्कलाई सामान्य लाग्ने यी र यस्ता अनौपचारिक रुपमा हुने कुराकानी तथा व्यवहारले बालबालिकाको बारेमा हरेक व्यक्तिमा नकारात्मक धारणा विकास गर्ने पक्ष हुन् । यसले उनीहरुको समग्र पारिवारिक र सामाजिक सम्बन्धमा असर गर्छ ।  विकासमा पनि प्रत्यक्ष असर परिरहेको हुन्छ । व्यवहारमा पनि नकारात्मक र हिंसात्मक बन्दै जानसक्छ ।

दशैं मान्यजनबाट टीका प्रसाद र आर्शीवाद ग्रहण गर्ने महत्वपूर्ण अवसर हो । यसरी दशैंको प्रसाद टीका ग्रहण गरिरहँदा दिने आर्शीवादभन्दा  पनि तँ पढ्दैनस्, लठ्ठु छस्, हाम्रो त नाकै काटिस्, अब .... को भन्दा राम्रो नम्बर ल्याएर पास गर्नु, झूटो बोेल्छस् अब देखि झूटो नबोल्नु, कसैले भनेको मान्दैनस् अराजक छस् ज्ञानी बन्नु आदि आदि ..... ! यसरी मान्यजनद्वारा आर्शीवादको नाममा उसलाई सार्वजनिक रुपमा नराम्रो मात्र भनेर व्याख्या  गर्ने कार्यले उसलाई सबैको अगाडि लज्जित बनाइरहेको हुन्छ । आर्शीवाद दिनेलाई आफूले राम्रो आर्शीवाद दिएको वा आज मज्जाले गालि गरें भन्ने लागिरहेको होला तर त्यो बच्चा जसको स्वाभिमान र विश्वासको खुल्ला लिलाम हो । यस्ता बालबालिकाको भावनासँग सम्बन्धित कुरामा हरेक अभिभावकले म के भनिरहेको छु अनुभूति गरौं ।

हरेकका राम्रा पक्ष र कमीकमजोरी हुनु मानविय तथा जैविक गुण नै हो । खुसीको अवसरमा सार्वजनिक रुपमा उनीहरुका राम्रो पक्षलाई बढावा दिऔं । कमीकमजोरीका बारेमा उनीहरुसँग व्यक्तिगत रुपमा बसेर कुराकानी गरौं । कमजोरीबाट मुक्त हुने उपाय र सिप सिकाआंै । दशँै खुसीको अवसर हो । एकअर्काको बीचको खुसी साटासाट गर्ने हो । अभिभावकहरुले आफ्नो नातागोता, छिमेकीहरुको राम्रो पक्षको बारेमा चार्चा गर्दै आफन्तको महत्व समाज र संस्कार बालबालिकामा हस्तान्तरण गर्ने  महत्वपूर्ण अवसर हो । यसलाई यसैगरी मनाऔं ।

खाना पकाइरहँदा ठुलाहरुको स्वादको खानाले बालबालिकालाई धेरै पिरो, चिल्लो, काँचो हुन सक्ने पक्षलाई सधैं ख्याल गरौं । ठुलाहरु खेला खेल्दै रमाइला कुराकानी र विभिन्नखाले खाने कुरामा रमाइरहँदा त्यहा साना बालबालिकाले के सिकिरहेका छन् । उनीहरु कतै वेवास्ताको शिकार त भइरहेका छैनन् । समाजका नराम्रा पक्षहरुको नक्कल गरिरहेका त छैनन् । त्यस्ता सामान्य तथा बालबालिकाको जीवनमा नराम्रोसँग प्रभाव पर्ने पक्षमा हाम्रो ध्यान पुग्नुको साटो आफैँ रमाइलोमा हराएर उनीहरुलाई पनि गतल बाटोमा लाग्न प्रेरित त गरिहेका छैनौं ? यस विषयमा सचेत रहौं  ।

दशैंको इतिहास, यसको महत्व, पुजा विधि, सास्कृतिक तथा समाजिक सस्कार मान्यता र स्थानिय खाना महत्व र यसको विधि हस्तान्तरण गरौं । आधुनिकताको नाममा हाम्रो आप्mनो मौलिक संस्कृति, मौलिक तथा पौष्टिक स्थानीय खानालाई प्राथमिकत दिँदै प्रयोग गरौं । बालबालिकामा हाम्रो आफ्नो संस्कार संस्कृति, पोषण र यसको महत्व र यसलाई नयाँ पुस्ताले आत्मसात गर्दै व्यवस्थित र व्यवहारिक रुपमा प्रोयोग गर्ने ज्ञान, सीप हस्तान्तरण गरौं । हाम्रो सम्पत्ती हाम्रो संस्कृतिको संरक्षण गरौं ।
सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना !

Opinion: 
Language: