आदरणीय लेखक कवितारामको स्मृतिमा ब्रेल पेपर वितरण

kabitaram-shrestha

काठमाडौँ/२०७६ कार्तिक २१– कविताराम वाङ्मय कोष (कविताराम बालसाहित्य प्रवद्र्धन अनुष्ठान) का संस्थापक एवम् बालसाहित्य प्रतिष्ठान नेपालका आदरणीय अभिभावक वरिष्ठ बालसाहित्य लेखक डा. कविताराम श्रेष्ठको स्मृतिमा प्रतिष्ठानले नारायणी मावि, नारायणघाट, चितवनमा अध्ययनरत ३५ जना दृष्टिविहीन बालबालिकाहरुका लागि ब्रेलपेपर वितरण गरेको छ । प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष रमेश सुवेदी       (दृष्टिविहीन प्रतिभा) को संयोजकत्वमा यो कार्यक्रम सम्पन्न भएको हो ।
आदरणीय लेखक कवितारामको स्मृतिमा प्रतिष्ठानले यसअघि चार भाषाको बालचित्रपुस्तक प्रकाशन, कथा सुनौं/सुनाऔं र हजुरबुवा हजुरआमा भन्नुहुन्छ मेरो गाउँको कथा गरी दुई कार्यक्रमका लागि चेतनामूलक स्टिकर प्रकाशन, ब्रेलबुक र सत्यमोहन जोशी लिखित सम्पदा परिचय कृति तथा अन्य बालपुस्तकहरु निःशुल्क वितरण लगायत विविध कार्यहरु गरिसकेको छ ।
लेखक कवितारामले प्रतिष्ठानको अत्यन्त कठिन अवस्थामा नविकरण समेत हुन नसकेको यस प्रतिष्ठानलाई सहयोग गरी ठूलो गुन लगाउनुभएको थियो । कविताराम वाङ्मय कोषसँगको सहकार्यमा नेपालमा कथावाचनका लागि चेतना जगाउन “हरेक दिन कथा सुनौं/सुनाऔं” अभियानले गति लिन पुग्यो । यसको श्रेय पनि आदरणीय लेखक कवितारामलाई नै जान्छ । यो अहिले प्रतिष्ठानको एउटा प्रभावकारी नियमित कार्यक्रम हो । हालसम्म देशका ४५ जिल्लामा गरी १ सयभन्दा बढी स्थानमा प्रतिष्ठानले कथावाचन कार्यक्रम सम्पन्न गरिसकेको छ । 
कवितारामलाई सम्झँदै प्रतिष्ठानका अध्यक्ष कार्तिकेय भन्नुहुन्छ, “उहाँ एउटा सहृदयी अग्रज लेखक हुनुहुन्थ्यो । उहाँसँग सहकार्य गरी धेरै नयाँ कुरा सिक्ने अवसर पाएको छु । जीवनको कठिन अवस्थामा पनि जीवनलाई उत्सवका रुपमा लिएर निरन्तर कर्म क्षेत्रमा तल्लीन रहने उहाँको छवि हामी सबैका लागि प्रेरणादायी रहेको छ ।”

Segment: 
Language: