विद्यालयका बालबालिकासँग लेखक/पत्रकार श्रीश भण्डारी

MEET THE AUTHOR WITH SCHOOL CHILDREN mangsir 2076

ललितपुर, पुस १ /  बालसाहित्य प्रतिष्ठान नेपालको 'विद्यालयका बालबालिकासँग लेखक' नियमित मासिक कार्यक्रमको मंसिर महिनाको कार्यक्रम अन्तर्गत लेखक/पत्रकार श्रीश भण्डारीसँग फोनिक्स स्कूल, सानेपा, ललितपुरमा अध्ययनरत ३५ जना बालबालिकाहरुले गत मंसिर २७ गते अन्तरक्रिया गर्नुभयो ।
बालसाहित्य प्रतिष्ठान नेपाल, बालसाहित्य छलफल समूहको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य सिर्जना केसीले स्वागत गर्नुभएको थियो । प्राचार्य केसीले स्वागतका क्रममा विद्यार्थीले धेरै लेखकका किताबहरु पढ्ने गर्नुभएको हुँदा यसरी सम्भव भएसम्म केही लेखकलाई भेटेर अन्तरक्रिया गर्नु राम्रो कुरा हो, यसलाई निरन्तरता दिनुपर्छ भन्ने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रममा बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेयले कार्यक्रमबारे प्रकाश पार्दै लेखक परिचय प्रस्तुत गर्नुभएको थियो । मन्तव्यका क्रममा उहाँले विद्यालयका बालबालिकासँग लेखक कार्यक्रमले बालबालिकामा पठन संस्कार बढाउने र उनीहरुलाई आफूले पढेको नेपाली किताबको लेखक भेट्ने अवसर प्रदान गरी उनीहरुको सिर्जनात्मक क्षमतालाई उजागर गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा लेखक/पत्रकार भण्डारीले आफ्नो कृति 'अठोट' लेखनका अनुभवहरु सुनाउनुका साथै विद्यार्थीहरुले कसरी चुस्त समय व्यवस्थापन गरी सफलता हासिल गर्न सक्छन् भन्नेबारे चर्चा गर्नुभएको थियो । उहाँको प्रवचन सुनेर बालबालिकाहरु खुसी हुनुभएको   थियो ।
बालबालिकाहरु विभिन्न प्रश्न सोध्दै आफ्ना विचार पनि राख्दै कार्यक्रममा सक्रिय रुपमा सहभागी हुनुभएको थियो । उक्त अवसरमा बालबालिका लेखकहरुले आआफ्ना रचना पनि वाचन गर्नुभएको थियो । साथै लेखकसँग पुस्तक हस्ताक्षर कार्यक्रममा पनि १५ जना बालबालिकाहरु सहभागी हुनुभएको थियो ।
समारोहमा कार्यक्रम संयोजक जानुका खतिवडा बरालले कार्यक्रम हुनु ७ दिन अगाडि नै बालबालिकाहरुलाई अठोट किताब पढ्न दिइएकोले उनीहरुले आफूले भर्खरै पढेको किताबका लेखकसँग अन्तरक्रिया गर्न पाउँदा कृति असाध्यै मन पराएकाले उनीहरु अझ बढी उत्साहित भई छलफलमा सहभागी भएकोमा लेखक र बालबालिकाहरुलाई धन्यबाद व्यक्त गर्नुुभयो ।

Segment: 
Language: