श्रीश भण्डारीको अठोट Book Review by देवु लुइँटेल

athot-book-cover

लेखक/पत्रकार श्रीश भण्डारीको ‘अठोट’ पुस्तक बाल हृदयलाई केन्द्रमा राखेर लेखिएको महत्वपूर्ण कृति हो । इटर्नल पब्लिकेसनले हालै प्रकाशनमा ल्याएको यो कृति बाल सुलभ इच्छाहरूलाई बुझेर तिनको संवेगात्मक पक्ष केलाउन सफल छ । यसमा लेखकले बालबालिकाको मनमस्तिष्कमा उत्पन्न हुने घटना प्रतिघटनालाई सूक्ष्म अध्ययन गरेर पाएका तथ्यहरु तथा वैयक्तिक अनुभवद्वारा खारिएका कुराहरू  पस्केका छन् ।
पुस्तकमा लेखक स्वयम्ले कतै विधाको नाम उल्लेख नगरेका भएता पनि ‘अठोट’ निबन्धात्मक कृति हो । लामो समय कान्तिपुर कोपिलाको संयोजक भएर बालसाहित्यमा भिजेका स्रष्टा श्रीशको यस कृतिमा सुखी, प्राथमिकता, नभनौ भोलि, स्मरणशक्ति, नो जङ्क, नपरौँ भर, आनीबानी, नरिसाऊ ल, आत्मविश्वास, सिकाइ शैली, परीक्षा, आबुई, पढ्न मन लाग्दैन ?, लत लाग्लाकि !, कस्तो साथी, फरक छुट्याऔँ, फरक शिक्षा र अठोट गरी १८ शीर्षकहरूमा विविध विचार समेटिएका छन् । पाठकले कुनै जटिलताको अनुभव नै नगरी दार्शनिक गम्भीरता ग्रहण गर्ने व्यवस्था यसका लेखकले गरेका छन् । निबन्ध पढिरहदा साँच्चै हाम्रा घरपरिवार र विद्यालयमा बालबालिकाले के कस्ता कुरा रोज्छन्, के विषयलाई प्राथमिकता दिन खोज्छन् र तिनले बालमस्तिष्कमा के कस्ता प्रभाव पार्छन् भन्ने कुरा स्पष्ट पारेका छन् । यसमा स्रष्टाले बालबालिकालाई नराम्रा बानी त्याग्ने अठोट गर्न केके गर्नुपर्छ भनेर सिकाएका छन् । पुस्तकमा जङ्क फुडले हामीमा तथा बालबालिकामा कसरी असर पार्छ, हामीले कसरी रिसको नियन्त्रण गर्ने, जिद्दी बानी कसरी भगाउने, भोलिभोलि भन्ने प्रवृत्तिलाई कसरी कम गर्ने, कुन कुरालाई पहिलो प्राथमिकता दिने, कसरी आत्मविश्वासिलो हुने, कसरी पढ्ने रुचि जगाउने, कस्तो साथीलाई छान्ने र विश्वास गर्ने आदि विषयवस्तुलाई बढो आकर्षक ढङ्गले पस्केका छन् ।
यस पुस्तकको भाषाशैली सरल, सहज र बालसामथ्र्य एवम् बालमनोविज्ञान अनुकुल रहेको छ । छोटा छोटा तर सरल वाक्यको प्रयोग गर्ने भण्डारीको भाषा पठनीय छ । त्यसैले यो कृति पढ्दा  पटक्कै छोड्न मन लाग्दैन । यसमा सन्दर्भ र भावअनुकूलका सादा चित्रको समेत प्रयोग भएको छ । लेखक भण्डारीले यस पुस्तकमा आपूmलाई बालमनोविज्ञान र सन्देश सम्प्रेषण गर्ने दोहोरो भूमिकामा उभ्याएका छन् । यहाँ उनले एकातर्फ बालमनोविज्ञानलाई सूक्ष्म ढङ्गले केलाएका छन् र एक्काइसौँ शाताब्दीका बालबालिकालाई  सकारात्मक रूपले कसरी सम्हाल्न सकिन्छ भनेर पुस्तकमा टिप्स पनि दिएका छन् भने अर्कातर्फ अभिभावकहरूलाई पनि कसरी बच्चालाई सकारात्मक दिशामा डो¥याउनु उपयुक्त हुन्छ भनेर सुझाएका छन् ।
यसर्थ यस ‘अठोट’ पुस्तक विद्यालय स्तरका केटाकेटीहरूको आनीबानी सुधारका लागि बढी उपयोगी देखिन्छ ।                                          

पुस्तकको : अठोट
लेखकको :  श्रीश भण्डारी
प्रकाशक :  इटर्नल पब्लिकेसन, काठमाडौँ
मूल्य :  रु. ३२०/-

Language: 
Book: