मैत्री सेवाश्रममा जन्मदिन मनाउँदा

anusha-ghimire-2077

- अनुषा घिमिरे, कक्षा- नौ, सरस्वती मावि (जोरपाटी)

पछिल्लो समयमा अधिकांश बालबालिकादेखि ज्येष्ठनागरिकसम्मलाई जन्मदिनको महत्व बढेको छ। सामाजिक सञ्जालमा कतिजनाले शुभकामना दिए अनि कसको शुभकामनामा सबैभन्दा बढी लाईक भयो जस्ता विषयले विद्यालयदेखि चिया चौतारीमासमेत चर्चा हुने गरेको पाइन्छ। जे भएपनि जन्मदिनको बढी चासोचाही बालपनमा नै बढी हुँदो रहेछ। सानी छँदा जन्मदिन आँउदा जति खुसी लाग्थ्यो उमेर बढ्दै गएपछि पहिलाको जति चासो नलागे पनि सम्झनाचाही भइरहन्छ।
          जन्मदिन मनाउने तौरतरिकाहरू समाज र परिवार अनुसार फरकफरक हुन्छन्। कोही आफ्नो जन्मदिनमा बिहानै उठेर मन्दिर जाने, नँया लुगा लगाएर चक्लेट बाड्ने गर्छन् भने कोही आफ्ना साथीभाइ वा परिवारका सदस्यसँग रमाइलो गर्ने, घुम्न जाने गर्छन्। कसैले केक काट्छन् त कसैले पार्टी प्यालेसमा गएर भोजसमेत गरेको पाइन्छ। मेरो परिवार भने तडकभडक र फजुल खर्चमा त्यतिधेरै अग्रसर हुँदैन। जन्मदिनको अवसरमा केक काट्ने र बत्ती निभाउने कुरालाई मेरो बाबाले सुन्नै चाहानुहुन्न। केही वर्ष पहिले एक वर्ष म र ममी मिलेर बाबालाई नभनीकन केक काट्ने कार्यक्रम राखेका थियौँ। बाबाले सहभागिता जनाए पनि मन खुसी नभएको पाएपछि मैले पनि केक काट्नु पक्कै ठीक होइन रहेछ कि भन्ने महशुश गर्न थालेकी छु। बाबाले विगत वर्षदेखि प्रस्ताव गर्दै आउनुभएको थियो कि कुनै आश्रममा गएर आश्रममा बसोवास गर्ने व्यक्तिहरूलाई एक छाक भोजन आफ्नोतर्फबाट गराउने प्रतिबद्दता जनाउनुभएपछि यस वर्ष भने मलाई मेरो जन्मदिन अरू वर्षको भन्दा भिन्दै तरिकाले मनाउन मन लाग्यो। मैले यस वर्ष मेरो जन्मदिनमा मैत्रीसेवाश्रममा बसोवास गर्नुहुने हजुरबा हजुरआमालाई भोजन गराएर सुरूवात गर्न प्रस्ताव राखेँ। बाबाममीले सहर्ष स्वीकार गर्नुभयो।
         पूर्व योजना अनुसार २०७६ कार्तिक नौ गते शनिबार कागतिहारको दिनको साझको भोजनका लागि हामी लप्सेफेदी जाने तयारीमा जुट्यौ। मैले दिदीहरू शोभा र सुजता अनि भाइ वेदान्तलाई पनि मैत्रीसेवाश्रम जानका लागि अनुरोध गरेँ। तर शोभा दिदीको बिदा नमिलेकाले सुजता दिदी र वेदान्त मात्रै हाम्रो साथमा जाने निश्चित भयो। संयोग भन्नुपर्छ मेरो घरको हजुरबुवा पनि दशैदेखि काठमाण्डौमै हुनुहुन्थ्यो। उहाँ पनि मेरो जन्मदिन मनाउन मैत्रीसेवाश्रम जाने निश्चित भयो। हामी छ जना मैत्रीसेवाश्रम जाने कुराको जानकारी बाबाले जेपी प्रतिष्ठानका संस्थापक अध्यक्ष मित्रसेन दाहालज्यूलाई गराइसक्नुभएको रहेछ। उहाँले हामीलाई आफ्नै गाडीमा राखेर मैत्रीसेवाश्रम जाने, त्यहाँ बस्ने र आउने सुविधा मिलाइदिनुभयो।
        गते अनुसार कार्तिक पच्चिस गते मेरो जन्मदिन भए पनि तिथिअनुसार काग तिहारको दिन भएकाले हामीले त्यही दिनलाई महत्व दियौँ। बाटोमा निकै रमाइलो गर्यौँ। मैत्रीसेवाश्रम पुग्दा लगभग बेलुकाको सात बजेको थियो। त्यसपछि हामीले त्यहाँ रहनुभएका सम्पूर्ण हजुरबा, हजुरआमा लगायत त्यहाँका सम्पूर्ण कर्मचारीको उपस्थितिमा जन्मदिन मनायौँ। सम्पूर्ण मैत्रीसेवाश्रम परिवारको तर्फबाट संस्थापक अध्यक्षज्यूले मलाई रूद्राक्ष माला लगाएर उपहार दिदै जन्मदिनको शुभकामना दिनुभएपछि मेरो खुसीको सीमा रहेन। मैले सबैलाई चक्लेट बाडेँ। सबैले मलाई शुभकामना सहित आर्शिवाद दिनुभयो। मेरो यो कर्मले मैत्रीसेवाश्रममा रहनुभएका हजुरबा हजुरआमाको ओठमा हासो र मनमा मुस्कान देखेर मैले मेरो ममि बाबालाई मनभित्रैदेखि धन्यवाद प्रकट गर्दै गौरव गरिरहेकी थिएँ। त्यसपछि भोजनको समयमा प्रतिष्ठानका संस्थापक अध्यक्षले हामीसगैँ एउटै टेबलमा भोजन गर्दै विभिन्न ठट्टा गर्दाका क्षण मेरा लागि अविष्मरणीय रहेका छन्। खाना खाइसकेपछि निकै थाकेका हुनाले सुत्ने तरखर गर्यौ। हाम्रा लागि जीपी कुटीको व्यवस्था भयो। बिहान घाम नउदाउँदै हामी उठ्यौ र अन्य कुटीहरू हेर्नुका साथै त्यहाँ रहनुभएका हजुरबा हजुरआमासँग गफ गर्यौँ। गफ गर्दा निकै नै रमाइलो महशुश भयो। त्यसपछि हामी गाईपुजा गर्नका लागि चाहिने माला उन्न थाल्यौँ र केही समय फेरी घुमफिर गरेर गाई गोरूको पुजा गर्यौँ। त्यसपछि हामीले खाना खायौँ र फेरी घुम्न भनेर अलि माथिसम्म पुगेर फर्कियौँ। हामीले त्यहाँ रमाइलो गर्यौ। अहिलेसम्म मनाएका जन्मदिनमध्ये मेरो यसपालिको जन्मदिन भने यादगार रह्यो। आफ्नो सानो सहयोगले अरू कोही खुसी भएको देख्न पाउँदा मैले आफूलाई नै भाग्यमानी सम्झेँ। मेरो इच्छालाई साकार पारिदिनुहुने मेरा बाबा, ममी लगायत मैत्रीसेवाश्रमका परिकल्पनाकार जेपी प्रतिष्ठानका संस्थापक अध्यक्ष मित्रसेन दाहालज्यू लगाएत सम्पूर्ण मैत्रीसेवाश्रम परिवारप्रति म हार्दिक आभार व्यक्त गर्दछु।

Opinion: 
Language: