तउदहको अर्को कथा Children's Story by Kartikeya

taudahako-katha-by-kartikeya

 

आशा र नयनले आजको कथामा बुबाले सुनाउनुभएको कथा रमाएर सुने । कथाको सुपर हिरो फर्सीबहादुरको बारेमा उनीहरुले थरीथरीका कल्पना गरे । छुट्टीको दिन थियो । उनीहरुलाई घर नजिकै रहेको तउदह घुम्न जान मन लाग्यो । दाइ र बहिनी एकैछिन हिँडेर तउदहमा पुगे । त्यसपछि के भयो ? 

‘आहा ! कति रमाइलो है दादा ! किम्बदन्ती कथामा सुनेको भन्दा नि राम्रो ।’

आशाले दङ्ग पर्दै भनिन् ।

‘हो त नि, कति रमाइलो है नानू !’ नयनले भन्यो ।

नयनले खुसी हुँदै चारैतिर हेर्यो । 

साँच्चै वातावरण एकदमै रमाइलो थियो । उनीहरू एउटा ठुलो पोखरी (दह) छेउमा आइपुगेका थिए । पोखरी एकदमै ठुलो थियो । चारैतिर पानी नै पानी देखिन्थ्यो । 

‘दादा ! हेर्नुस् त कति राम्रा माछा !’ आशाले पोखरीमा देखाउँदै भनिन् ।

दुवैजना पोखरीको डिलमा पुगे ।

माछाहरू पानीमा सुलुलु सुलुलु पौडिरहेका थिए । छेउमा हाँस सलल सलल पौडिरहेको थियो ।

यो दृश्य हेरिरहदा आशाको मन खुसीले गद्गद् भयो । उनले एक अञ्जुली पानी हातमा लिएर फुत्त माछा भएतिर फ्याकिन् । माछा सुलुलु बग्दै पर भाग्यो । नयन हा हा हा  हाँस्यो । आशा हि हि हि हाँस्दै नाचिन् । 

‘दादा ! अब अलि पर जाऊ न ! हेर्नुस् त त्यहाँ कति राम्रा चराहरू !’ आशाले रमाउँदै भनिन् ।

उनीहरू दङ्ग पर्दै अलि अगाडि गए । त्यहाँ एउटा हरियो ढिस्को (हरियो दुबोले बनेको फुच्चे पहाड) थियो । त्यहाँ थरीथरीका चराहरू थिए ।

‘वाहा ! हेर्नुस् त कति राम्रो छिर्केमिर्के चरा, मलाई त त्यो चरा एकदमै मनपर्यो ।’

आशाले औंलाले देखाउँदै भनिन् ।

‘हो त नि कति राम्रो है ! ‘छ नि, मलाई त त्यो बाटुले चरा मनपर्यो । हेर त त्यसको सिउर कति राम्रो छ ।’ नयनले भन्यो ।

‘दादा, अब अलि पर जाऊ न ! हेर्नुस् त त्यहाँ कति राम्रो चिटिक्क परेको बस्ने बेन्च रहेछ । मेरो त खुट्टा नै गलिसक्यो भन्या !’ आशाले अनुरोध गर्दै भनिन् ।

‘हुन्छ, जाऊ न त ! त्यहाँ बसेर माछाले पौडी खेलेको हेर्नुपर्छ  है !’ नयनले जोशिँदै भन्यो । 

उनीहरू गएर बेन्चमा बसे । त्यहीं बेन्च छेउको अर्को बेन्चमा दौरा सुरुवाल र ढाकाटोपी लगाएका एकजना बूढाबा बसेका थिए । उनीहरू छेउमै आएपछि बूढाबाले मुसुक्क हाँसेर उनीहरूतिर हेरे । नयन र आशा दुवैजना पनि पनि मुसुक्क हाँसे ।  

बूढाबाले कुराकानी सुरु गर्दै भने– बाबु नानी, आज घुम्न आएका ?

नयनले रमाइलो मान्दै भन्यो– ‘हो ! आज हाम्रो विद्यालय बिदा छ । अनि बहिनी र म मिलेर घुम्न आएको !’

बूढाबाले दुबैजनालाई पुलुक्क हेरे । एकछिन सबैजना चुपचाप लागे । 

केही समयपछि बूढाबा बोले,

तिमीहरूलाई थाहा छ, बाबु नानी हो ! यो तउदह पोखरी नागराजाको घर हो नि ! यो पोखरीको बीचमा एकदमै गहिरो छ । त्यहाँ नागराजा बस्छन् । 

बूढाबाको कुरा सुनेर आशा छक्क परिन् । उनी जुरुक्क उठेर बूढाबाको छेउमा गइन् । उनले उत्सुक हुँदै सोधिन्– कस्तो नागराजा बा ? त्यो फिल्ममा देखाउने जस्तो ठुलो सर्प   हो ?’

‘हो नानी, त्यो भन्दा नि ठुलो सर्प, एकदमै ठुलो .. सर्प !’ बूढाबाले यत्ति के भनेका थिए ।

नयन पनि बेन्चबाट जुरुक्क उठेर बूढाबाको छेउमा आइपुग्यो । उसले झन् अचम्म मान्दै सोध्यो– कत्रो सर्प रे बा ! घरभन्दा नि ठुलो सर्प ?

‘हो !! बाबु त्यो सर्प साँच्चै ठुलो थियो !’  बूढाबाले भने ।

‘बा ..बा हामीलाई त्यो ठुलो सर्पको कथा सुनाउनुस् न प्लिज !’ नयनले बूढाबाको हात समात्दै अनुरोध गर्यो ।

‘के त्यो ठुलो सर्प अहिले नि यो पोखरीमै बस्छन् ?’ आशाले उत्सुक हुँदै सोधिन् ।

बूढाबाले एकछिन् पोखरीको वरिपरि हेरे । उनले दुबैजनालाई ल आऊ यो दुबोमा बसौं भनेर आफू पनि सँगै चौरमा बसे । 

‘अब त नागराजाको कथा सुन्ने हो !’ आशाले बूढाबातिर पुलुक्क हेर्दै भनिन् ।

त्यतिबेला बूढाबा अझै पनि पोखरीको बीचको भागमा हेरिरहेका थिए । एकछिन पछि उनले कराउँदै भने– ‘लौ सुन, अब म तिमीहरूलाई यो तउदहको बीचमा बस्ने नागराजाको कथा सुनाउँछु !’

त्यो नागराजाको ठुलो मुख थियो । जिउ पनि एकदमै लामो र ठुलो थियो । बूढाबाले यति भन्दै गर्दा आशा र नयनले एकअर्काको हात च्याप्प समाए ।

हो, यो आजभन्दा धेरै वर्ष अगाडिको कुरा हो ! त्यतिबेला म तिमीहरूजस्तै केटाकेटी थिए । यही पोखरी छेउमै मेरो घर थियो । म हरेक दिन यो पोखरीमा घुम्न आउँथे । यहाँका ठुलाठुला माछा र थरीथरीका चरा देखेर म पनि एकदमै  रमाउथें ।

एकदिनको कुरा हो, त्यो दिन सिमसिम पानी परिरहेको थियो । आकाशमा इन्द्रेनी लागेकोले मौसम रमाइलो   थियो । म पोखरीको डिलमा बसेर मस्तसँग पोखरी हेरिरहेको  थिएँ ।

अचानक मैले एउटा अचम्मको दृश्य देखें । एउटा ठुलो सर्प पोखरीको बीचबाट विस्तारै बाहिर निस्किँदै थियो । थाहा छ, त्यो सर्प राजाको बस्ने ठाउँ सिंहासनमा बसेको थियो । उसको दुईतिर दुइवटा गार्ड अंगरक्षक ठुलाठुला टाटेपांग्रे सर्पहरू थिए ।

 

‘अनि त्यसपछि के भयो त बा ?’ आशाले सोधिन् ।

 बूढाबाले फेरि एकपटक दुवैजना केटाकेटीलाई हेरे र भन्न थाले –

त्यो सर्पको सिंहासन पोखरीको पानीमाथि आएर टक्क  बस्यो । अनि त्यो सिंहासनको अगाडिको भागमा अचानक कताकताबाट हो उड्दैउड्दै सर्पकन्या नागपरीहरू आए । उनीहरू स्वर्गका अप्सराहरू, हलिउड र बलिउडका टप हिरोइनहरूभन्दा नि सुन्दर थिए । नागमणि जस्तै धपधप बल्ने उज्यालो लुगा लगाएका थिए ।

‘उनीहरूले त्यसपछि नाच देखाए हो बा ?’

नयनले उत्साहित हुँदै सोध्यो ।

‘होइन, उनीहरूले नाच देखाएनन् । मैले हेर्दा–हेर्दै अघि मैले देखेको सिंहासन ठुलो हुँदैहुँदै झन् बढ्दै गएर झन् ठुलोठुलो भयो । रानी पनि त्यहीं सिंहासनमा बसिन् ।

अब यी नागनागिनीले के गर्दा रहेछन् भनेर मैले एकदमै ध्यान दिएर हेरें ।

सबैजना सिंहासनमा बसिसकेपछि नागराजले कराउँदै भने– ऐ सबैजना आइपुग्यौ ? लौ अब हामी यहाँबाट नागदहमा  जानुपर्छ । त्यहाँ मानिसहरू हामीलाई पूजा गर्न पर्खिरहेका   छन् ।

‘डार्लिङ ! छोराछोरी आइपुगेका छैनन् !’ रानीले भनिन् ।

‘किन नआएका तिनीहरू ! लौ छिटो बोलाऊ !’ नागराजाले कराउँदै भने ।

‘लौ सखी छिटो जाऊ र ती बाबुनानीलाई बोलाएर ल्याऊ !’

रानीले छेउमै उभिएकी नागिनीलाई भनिन् ।

नागिनी हतार गर्दै सलल पानीभित्र छिरिन् ।

एकछिनसम्म म एकटकसँग त्यो सुन्दर सिंहासन, हिरो हिरोइनजस्ता नागनागिनीलाई हेरेर दङ्ग परिरहें ।

एकछिनपछि राजकुमार राजकुमारीजस्तै चिटिक्क परेका सानासाना सर्प आए । ती सर्प देख्दा म निकै खुसी भएँ । तिनले चिटिक्क परेको लुगा लगाएका थिए ।

‘के तिनीहरू हामी जस्तै थिए बा ?’ आशाले बूढाबालाई हेरेर हाँस्दै भनिन् ।

‘हो नानी ! ती तिमीहरू जस्तै थिए । चिटिक्क परेका   राम्रा ! तर उनीहरूको टाउको सर्पको थियो र हात भने थिएन !’  बूढाबाले भने ।

‘ओहो ! कति रमाइलो कथा ! अनि त्यसपछि के भयो त बा, अझ अगाडि भन्नुस् न ! मलाई त क्या मज्जा  भइरहेछ ।’ नयनले दङ्ग पर्दै भन्यो ।

‘ती साना साना नागनागिनी आइसकेपछि नागराजाले एकपल्ट फूँ ... गरेर फूँकार गरे । त्यतिबेला यो पोखरीको पानी यताउता गर्दै जोडसँग छचल्कियो । अनि मैले अचम्म देखें, एउटा सुन्दर, असाध्यै राम्रो, एकदमै मनमोहक चमचम चमचम चमक्क चम्कने इन्द्रेणीको घेरा पोखरीको बीचमा आइपुग्यो । कस्तो अचम्म ! कस्तो अचम्म !! मैले हेर्दाहेर्दै त्यो इन्द्रेणी त  एउटा सुन्दर फुच्चे प्लेन बन्यो ।

त्यो अचम्मको प्लेनमा नागराजा, रानी, राजकुमार, राजकुमारी, अंगरक्षक र सुसारे सखीहरू सबैजना चढे । अनि पिलिक्क पिलिक्क बत्ती बल्यो ! नागराजाले कराउँदै भने– ऐ सगरमाथाको देशकी इन्द्रेणी अब हामीलाई नागदहमा लिएर हिँड ! त्यहाँ कर्कोटक नागको पूजा गर्न मानिसहरू प्रतीक्षा गरिरहेका छन् !’

यसरी त्यो दिन त्यो अचम्मको प्लेन राता, नीला, हरिया, पहेँला सात रङगी थरीथरीका बत्ती बाल्दै उड्यो । मैले रमाउँदै–रमाउँदै त्यो प्लेन उडेको हेरिरहें । त्यो टाढा–टाढा पुगुन्जेलसम्म मैले हेरेको हेर्यै गरें । त्यो दिन म एकदमै खुसी भएको थिएँ । त्यो मेरो जीवनकै सबैभन्दा रमाइलो दिन थियो ।

‘अनि बा अहिले पनि ती नागराजा यो दहमै छन् त ?’

बूढाबाले खुइया गर्दै भने– ‘छन् बा उनी यहीं छन् । अहिले उनी उड्ने सबै खेतमा घरहरू बने । दह वरिपरि फोहोर बढ्यो । त्यहीं कुराबाट दिक्क भएर उनी यो दहको गहिरो भित्र रहेको आफ्नो दरवारमै रमाएर बसेका छन् । बाहिर आएका छैनन् । भोलि यो दह सफा भयो र चारैतिर मानिसहरूले रुख रोपेर हरियाली बढाए भने पक्कै उनी बाहिर आउनेछन् !’

‘अब हामी यो दह सफा राख्छौँ र यसको वरिपरि रुख नि रोप्छौँ नि बा !’

आशाले दृढताका साथ भनिन् ।

नयनले सहमति जनाउँदै टाउको हल्लायो ।

बा केही बोलेनन्, मुसुक्क हाँसे मात्र । 

एकछिमा फेरि त्यहाँ अचम्म भयो, नयन र आशाले एकअर्काको हात च्याप्प समातेर डराउँदै हेरे, अघि कथा

भनिरहेका बूढाबा बसेको भन्दा अलि पर एउटा ठुलो  कालो सर्प देखियो । बूढाबाले टाढैबाट नागलाई दुई हात

जोडेर प्रणाम गरे । आशा र नयनले पनि त्यसै गरी प्रणाम गरे । त्यसपछि त्यो सर्प सुलुलु दहभित्र छिर्यो ।

‘नानी तिमीले गरेको वाचा त सर्पले नि सुन्यौ नि है, अब के गर्छौँ ?’ नयनले भन्यो ।

‘तर म त्यो वाचा पूरा गरेर नै छोड्छु नि दादा !’ आशाले भनी ।

‘तर कसरी सक्छौ र ?’ नयनले शंका गर्दै भन्यो ।

‘म आफ्नो भागको एउटा रुखका लागि आज नै ल्याएर एउटा बिरुवा रोप्छु दादा । अनि अहिले नै यहाँ फालिएका ५ वटा प्लास्टिकका बोतल टिपेर डस्टबिनमा हालिदिएर वाचा पूरा गर्छु नि दादा !’ आशाले विश्वासका साथ भनी ।

नयन आफ्नी इमान्दार र चलाख बहिनीको कुरा सुनेर दङ्ग पर्दै मुसुक्क हाँस्यो ।

आशाले आफ्नो वाचा पूरा गरेपछि साँझतिर आशा र नयन नागराजा, नागरानी, बूढाबा र त्यो कालो सर्पलाई सम्झँदै फटाफट घरतिर लागे ।

(आशाले एउटा बिरुवा रोपेपछि तउदहमा के भयो ? त्यसबारे ‘तउदहको अर्को नयाँ कथा र फर्सीबहादुर’ शीर्षकको अर्को कथामा भन्नेछु नि है !) 

तउदहको बारेमा इतिहास के भन्छ ?

प्राम्भिक युगमा अहिलेको काठमाडौं उपत्यकाको नाम ‘नागह्रद’  थियो । ‘नागह्रद’ को अर्थ नागको ठुलो दह हो । पछि, नागदहको पानी खोलिएपछि काठमाडौं उपत्यकामा वस्ती सुरु  भयो ।

  तउदह एउटा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थान   हो । यो राजधानी काठमाडौंबाट दक्षिणतर्फ पर्दछ । यसको निर्माता महामञ्जुश्री हुन् ।

महामन्जुश्रीले उपत्यकामा मानव वस्ती बसाउन यहाँको जललाई निकास दिन चोभारको पहाड काटेपछि दहमा रहेका जलचर र नागहरू बाहिर बग्न थाले । त्यसैक्रममा महामञ्जुश्रीले कर्कोटक नागराजालाई उपत्यकाको सम्पूर्ण धनसम्पत्तीको जिम्मा दिई मेस संक्रान्ति (वैशाख महिनामा) मा हालको तउदहमा दह निर्माण गरी बस्न   लगाइन् । त्यही बेला मञ्जुश्रीले स्वयम्भूको विश्वरुपको दर्शन पाए ।

तउदह (टौदह) प्राकृतिक निर्मित सुन्दर ताल हो । यो कर्कोटक नागराजाको घर हो । 

नाग पूजा र हाम्रो संस्कृति

हामी नेपालीहरू प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिनलाई ‘नागपञ्चमी’ को नाम दिई घरका ढोकामा विधिपूर्वक गोबरले नागको प्रतिमा बनाई पूजाआजा गर्दछौं । कोहीकोहीचाहिं विभिन्न शैलीका नागका चित्रहरू टाँसी पूजाआजा गर्दछौं । नाग पूजामा हामी नागहरूलाई दूध, दूबो, नैवेध, फलफूल, दक्षिणा चढाएर धूपबत्ती बालेर विधिपूर्वक नाग स्तोत्र पढ्छौं र घरका लागि वर्षदिनसम्म सुरक्षा, शान्ति र समृद्धि मिलोस् भनेर नागराजसँग आसिक माग्दछौं । यसरी घरमा नागको चित्र टाँस्नाले मेघ हावा र अग्नी आगोको डर हुँदैन भन्ने लोकविश्वास पनि रहिआएको पाइन्छ । हामीले पूजा गर्ने प्रमुख नागहरू १२ वटा छन्, ती निम्नानुसार हुन् – १. अनन्त २. वासुकि ३. शेष ४. पद्म ५. कम्बल ६. कर्कोटक ७. अश्वतर ८. धृतराष्ट्र ९. शङ्खपाल १०. कालीय ११. तक्षक र १२. पिङ्गल ।

 

Literature: 
Language: