सहयोगी मैना 

lalita-doshi-2020

    - ललिता ‘दोषी’                                                               

झिसमिसे बिहानीमा कस्तूरी सधैँझैँ आहाराको खोजीमा आफ्नो वासस्थान छोडेर केही परको जङ्गलमा पुग्यो । कस्तूरीको आँखा लहलह परेर पलाइरहेको राम्रो घाँसमा पर्यो । घाँस उम्रिएको ठाउँमा केही खाल्डो भएकोले कस्तूरी उफ्रिएर तल झर्यो । झर्दा पेटमा नीलकाँडा बिझ्यो । पीडाले आत्तिँदै कस्तूरी खाल्डोबाट बाहिर निस्कियो ।

कस्तूरीले आफ्नो पेटमा बिझेको काँडा झिक्न सकिन्छ कि भनी निकै कोसिस गर्यो तर सकेन । असह्य पीडाले रन्थनिँदै आफ्नो वासस्थानतिर फर्कंदै गर्दा कस्तूरीले रूखमा बसेको सुगालाई देख्यो र विनम्र स्वरमा भन्यो– ‘‘सुगा हेर न, मेरो पेटमा नीलकाँडा बिझ्यो । झिकिदेऊ न है ।’’

कस्तूरीको कुरा सुनेर सुगाले च्व ! च्व ! गर्दै भन्यो– ‘‘हेर मेरो चुच्चाले तिम्रो काँडा झिक्न मिल्दैन । काँडा झिक्न मिल्ने भए म अवश्य झिकिदिन्थेँ । भँगेरा अर्को रूखमा छ उसलाई गएर भन न ।’’

कस्तूरी आत्तिँदै अर्को रूख छेउ पुगी भँगेरा बसेको हाँगातिर हेर्दै भन्यो– ‘‘बिन्ती भँगेरा ! मेरो पेटमा बिझेको काँडा झिकिदेऊ न ।’’

‘‘भोका बचेराहरू गुँडमा आहारा पर्खेर बसिरहेका छन् । मलाई काँडा झिक्न फुर्सद छैन ।’’ भन्दै भँगेरा उड्यो ।

कस्तूरी निराश भएर फर्किंदै थियो उसले बाँसको झ्याङमा बसिरहेको सारौँलाई देख्यो र भन्यो– ‘‘सारौँ मेरो पेटमा बिझेको काँडा झिकिदेऊ म तिम्रो गुन कहिल्यै बिर्सने छैन ।’’

सारौँले रिसाउँदै जवाफ फर्कायो– ‘‘अरू कुनै पन्छीहरू देखेनौ र मलाई काम अह्राएको ! म सक्दिनँ, अन्तै जाऊ ।’

पेटमा बिझेको काँडाले रन्थनिदै फर्कँदा कस्तूरीले रूखको हाँगामा मज्जाले बसिरहेको लाटोकोसेरोलाई देख्यो भन्यो– ‘‘साथी लाटोकोसेरो, मेरो पेटमा बिझेको काँडा झिकिदेऊ न है ।’’

लाटोकोसेरोले यताउता चल्मलाउँदै भन्यो– ‘‘तिमी को हौ ?  मैले त तिमीलाई चिनिनँ नि ! दिउँसो त म आँखा देख्दिनँ । फेरि मेरो चुच्चोले पनि काँडा झिक्न मिल्दैन ।’’ कस्तूरीले आफू कस्तूरी हुँ भन्ने कुरा बताउँदै त्यहाँबाट पनि हिँड्यो ।

कस्तूरीलाई दुःखी देखेपछि कागले उसको सामु बस्दै भन्यो– ‘‘के भयो कस्तूरी ? किन झोक्राएको हँ ?’’

कस्तूरीले आफ्नो पीडा कागलाई बतायो । मौका यही हो भन्ने सोचेर कागले म काँडा झिकिदिन्छु भन्यो । कागको कुरा दङ्ग पर्दै काँडा बिझेको ठाउँ कस्तूरीले देखाई दियो । कागले काँडा झिक्ने निहुँ गर्दै कस्तूरीको पेटको नरम मासु खान खोज्यो ।

कस्तूरीलाई कागको मनसाय बुझ्न बेर नै लागेन कस्तूरीले रिसाउँदै भन्यो– ‘‘भैगो छोड काग । मैले तिम्रो उद्देश्य बुझेँ । तिमीले मेरो काँडा झिक्नु पर्दैनँ ।’’ भनी सधैँ बस्ने गरेको काफलको बोटमुनि आएर बसिरह्यो ।

कस्तूरीलाई छटपटाउँदै रूखमुनि बसिरहेको देखेपछि मैनाले सोध्यो– ‘‘तिमीलाई के भयो ? धेरै समय अगाडिदेखि छटपटाइरहेका छौ । तिमीलाई भोक पनि लाग्दैन कि क्या हो ?’’

कस्तुरी मैनाको कुरा नसुनेझैँ गरी बस्यो ।

मैनाले फेरि भन्यो– ‘‘कस्तूरी, मलाई थाहा छ, तिमीलाई केही न केही पीर त पक्कै परेकै छ । आफ्नो पीर अरूलाई बाड्दा मन हलुङ्गो हुन्छ भन्छन् । भन तिमीलाई के समस्या पर्यो ?’’

कस्तूरीले नचाही नचाही बोल्यो– ‘‘खोइ के भनौँ के नभनौँ, सोधिहाल्यौ, भन्नैपर्यो । हेर न, चिप्ले भीरनजिकै राम्रो घाँस देखेर खान झ्याम्मै हामफालेँ । त्यहाँ नीलकाँडा रहेछ पेटमा जाक्किएर मर्नु न बाँच्नु भएको छु ।’’

मैनाले नम्र स्वरमा भन्यो– ‘‘त्यति सानो कुरा मलाई पहिल्यै भनेको भए भै हाल्थ्यो नि ! म एकैछिनमा काँडा झिकिदिन्थे । तिमीले पीडा नै सहनु पर्थेन ।’’

मलाई माफ गर साथी तिमी दयालु छौ । मेरो मद्दत गर्छौ भन्ने कुरा मलाई पत्तै थिएन । भँगेरा, सारौँ, काग आदिसँग मद्दत मागेकै थिएँ । कसैले मद्दत गरेनन् । कागले त काँडा झिक्छु भन्दै पेटको मासु नै ठुँगेर खान खोज्यो । ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ’ भनेझैँ अरूले तर्साएकोले चुपचाप बसेको हुँ ।

मैनाले कस्तूरीनजिकै बस्दै भन्यो– ‘‘सबै पन्छीलाई एउटै आँखाले हेर्नु राम्रो होइन । ल भन मित्र, काँडा कहाँ बिझेको ?’’

काँडा बिझेको ठाउँ देखाएपछि मैनाले आफ्नो चुच्चाले बडो होसियारीसाथ कस्तूरीको काँडा निकालिदियो ।

मैनाले आफूलाई पीडाबाट मुक्त गरिदिएकोमा कस्तूरीले धेरै–धेरै धन्यवाद दियो । कस्तूरीलाई खुसी देखेर मैना पनि खुसी भयो ।

                                           बुद्धनगर काठमाडौँ  

Literature: 
Language: