चिडिमारको कथा

chindimarko-katha-art-2077

      कार्तिकेय

“गे माई चिडिमार पकडगेल (ऐ आमा, चिडिमार समातियो ।)”

रामजनमले दौडिँदै आएर भन्यो ।

जानकीका कान ठाडा भए । उसले बाउले चिडिमारलाई बेचेको चरालाई झलझली सम्झी । 

 “कति राम्रो छ !” उसले मनमनै भनी ।

 “कहाँ छ भाइ कहाँ छ ? त्यलाई कहाँ राखेको छ ?” जानकीले उत्सुक हुँदै सोधी ।

“पुलिसको घरमा राखेको छ ! त्यहाँ बुवा पनि छ ।” रामजनमले आतिँदै भन्यो ।

त्यसपछि जानकी यताउति कतै नहेरी सीधै पुलिस चौकीतिर दौडी । 

बाटामा उसलाई हस्याङफस्याङ गर्दै दौडेको देखेर सबैले अचम्म मानेर हेरे । ऊ भने केही वास्ता नगरी चौकीमा पुगेर मात्र टक्क अडिई ।

उसले चनाखो भएर चरा कतातिर छ भनेर चारैतिर हेरी ।

“पुलिसले कुखुरालाई जस्तै चरालाई नि पकाएर खायो जस्तो छ !” उसले खिन्न भएर मनमनै भनी ।

एकछिनपछि “होइन हजुर होइन !” भन्दै कोही कराएको आवाज सुनियो ।

जानकी सुटुक्क झ्यालछेउमा गई । उसले चियाएर हेरी । चिडिमार कान समातेर प्रहरीको सामुन्ने उभिएको थियो । उसका बा अलि पछाडि अँध्यारो मुख लाएर बसेका थिए । पुलिसको हवल्दार पान चपाउँदै थियो । उसले हातमा कालो डन्डा बोकेको थियो । उसको टोपीमा टिलिक्क ब्याच टल्केको थियो ।

त्यो कोठामा जानकीले सबैथोक देखी । तर उसले त्यहाँ चरालाई भने देखिन । अँह चरा त्यहाँ थिएन ।

“होइन कहाँ राख्यो होला त्यो चिडिमारले चरा ? कतै पुलिसले आफ्नो छोरा अनुकलाललाई दिएर पो पठायो कि ? मेरा बाउले पनि त्यो चरा समातेर ल्याएको दिन मलाई बोक्न दिएको थियो ।” जानकीले आफैँसँग मनमनै कुरा गर्दै भनी । ऊ चरा समातेको दिनको कल्पनामा हराई :

“त्यो दिन म कति रमाएको थियो । मैले यसो हातले चराले छुन खोजेँ । उसले मलाई टोकुँला जस्तै गर्यो । अनि उसलाई मैले पिँजडाभित्र खानेकुरा हालिदिएँ । पानी पनि खान दिएँ । अनि बल्ल ऊ शान्त भयो । ऊ मलाई टवाल्ल परेर हेरिरहेको थियो । त्यो दिन उसलाई आफू सुत्ने खाट छेउमै राखेर म सुतेँ । भोलिपल्ट बिहान भएपछि बाबु काममा गए । त्यो दिनभरि म चरासँग खेलेर बसेँ । दिउँसो भँगेराहरु उडेर पिँजडा नजिक आए । चराले फटफटी पखेटा चाल्यो । पिँजडा भित्र यसो गर्दा उसको एउटा प्वाँख पनि चुँडिएर झर्यो । विचरा ! उसलाई कति दुख्यो होला ! कति उड्न मन लागेको होला ? मैले त्यो दिन यो कुरा धेरै सोचेँ । ”

अचानक पछाडिबाट “चरा मिलगेल पुलिस दाजु ! (चरा भेटियो पुलिस दाइ)” भन्दै कोही कराएको सुनियो ।

जानकीले झसङ्ग हुँदै यसो पछाडि फर्केर हेरी ।

“गे माई ! दारु चाचा पो रहेछ । (ऐ आमा दारु काका पो रहेछ) उसको हातमा पिँजडा र चरा !” जानकीले छक्क पर्दै सानो स्वरमा भनी ।

अनि ऊ चाचाको छेउमा पुगेर चरालाई हेर्न थाली ।

बल्ल कोठाबाट पुलिस, चिडिमार र जानकीका बाउ निस्किए ।

“कहाँ लुकाको रहेछ यो बदमासले ?” पुलिसले रिसाउँदै भन्यो ।

“हजुर नन्दनी भाउजूको पसलमा राखेको रहेछ । पचास टका दिएपछि बल्ल बोल्यो !” दारु चाचाले ङिच्च दाँत देखाउँदै भने ।

 “साला, हरामी ! झुटो बोल्छस् ! पुलिसले चिडिमारलाई एक लात हान्यो ।”

ऊ होइन हजुर, होइन भन्दै हात जोड्दै डराएर अलि पछाडि सर्यो । अब जानकीका बुवा प्रहरीको आँखामा परे । उसलाई पनि प्रहरीले गालामा चड्याम्म हिर्कायो ।

मालिक अब यस्तो गर्दैन मालिक भन्दै ऊ हात जोडेर रोयो ।

यो सबै दृश्य हेर्दाहेर्दै जानकीका गोडा थरथर कामे । उसले आँखा चिम्म गरेर सुटुक्क यो सबै कुरा हेरी । उसको एउटा आँखा चरामा र अर्को आँखा पुलिसमा थियो ।

“यो चरो समातेर बेच्न पाइँदैन भन्ने थाहा छैन ? बदमासहरु !” पुलिसका हाकिमले भने । उनी बल्ल चौकीमा आइपुगे ।

इन्सपेक्टर साब भन्दै प्रहरी हवल्दारले सलाम ठोके । दारु चाचाले पनि हजुर सर भन्दै नमस्कार गरे ।

“के भयो त हलदार साब यिनेरुको कुरा ?” इन्सपेक्टरले सोधे ।

हवल्दारले एकछिन इन्सपेक्टरसँग सल्लाहा गरे ।

“लौ अब चिडिमारसँग लिएको पैसा निकाल त बलदेव ।” हवल्दारले कराउँदै भने ।

जानकीका बा बलदेवले खल्तीबाट ५ सय निकाल्यो । पुलिसलाई पैसा फिर्ता दिँदा उसको हात थर्र काम्यो ।

बाउले पुलिसलाई पैसा दिएपछि ‘आज साम भरपेट मिठो खाने छोरी’ (आज बेलुका भरपेट खाउँला छोरी) भनेर बाउले भनेको कुरा जानकीले झलझली सम्झी । उसको अनुहार नियाउरो भयो । फेरि उसले फटफट पखेटा चाल्दै पिँजडाबाट जान खोजेको चरालाई सम्झी । आफ्नो पखेटा नै खस्ने गरी उफ्रिएर उड्न खोजेको चराको सम्झनाले उसको मन गह्रौ भयो । मनमनै भनी – “यो चरालाई पुलिसले पिँजडामा थुनेर पाल्छ होला । होइन, होइन पुलिसले नि पारिबाट आएको अर्को चिडिमारलाई बेच्छ होला । बाले भनेको पारि यसको पाँच हजार आउँछ रे । अब के गर्छ होला पुलिसले ?”

“ऐ सानी केटी यता आइजे त ।” पुलिसले अकस्मात् बोलायो ।

जानकी निकै डराई । उसले मनमनै भनी – “उसले घरसम्म लगेर चरा छोडि दे भन्यो भने म के गर्ने होला ? राति पकाएर पो खाइदिने हो कि ? ”

“ऐ केटी किन ढिलो हँ ? छिटो आउनू भनेको सुनिनस् !” पुलिसले लौरो ठटाएर कराउँदै भन्यो ।

जानकी झसङ्ग भई । ऊ विस्तारै हिँडेर पुलिसको हाकिम छेउमा पुगी ।

“लु यो चरा बोकेर मेरो पछिपछि हिँड त अब !” पुलिसले कराउँदै भन्यो ।

जानकी पिँजडा बोकेर पछि लागी । ऊ सँगसँगै चिडिमार, उसका बाउ बलदेव, हवल्दार र पुलिसका हाकिम इन्सपेक्टर पनि हिँडे ।

बाटामा हिँड्दै जाँदा जानकीले यसो चरालाई हेरी । आम्मै, त्यो चराले उसलाई टुलुटुलु हेरिरहेको थियो । जानकीले उसलाई मायालु नजरले हेरी ।

“लौ यही ठाउँ ठिक छ । पिँजडालाई यही राखौँ !” पुलिसका हाकिमले भने ।

“पिँजडा यहाँ राखेर पछाडि बस त केटी !” हवल्दारले रुखो स्वरमा भन्यो ।

जानकीले ठुस्स परेर हाकिमतिर हेर्दै पिँजडालाई भुइँमा राखी ।

“आम्मै, पुलिसका हाकिमले कम्मरमा भिरेको सानो बन्दूक पो निकाले ! कतै चरा मार्न त होइन ?” जानकीले डराउँदै मनमनै भनी ।

एकछिनपछि हाकिमले आफ्नो बन्दूक र बेल्ट हवल्दारलाई बोक्न दियो । उसले वनको वरिपरि हेर्यो । त्यहाँ ठुलाठुला रुखहरु थिए । छेउमा सानो मन्दिर पनि थियो ।

”लौ ठिक छ ! यो चराका साथीहरु यतै उडिरहेका छन् जस्तो छ ।” पुलिसका हाकिमले भने ।

”अब के गर्ने त सर ?” हवल्दारले सोध्यो ।

 “ऐ नानी यता आऊ त !” इन्सपेक्टरले जानकीलाई बोलाए ।

जानकी डराई डराई हाकिमको नजिक गएर उभिई । उसको छेउमै पिँजडा थियो । चरो ट्वाल्ल परेर हेरिरहेको थियो ।

“लु अब यो चरोलाई पिँजडाबाट निकालेर उडाइदेऊ !” इन्सपेक्टरले भने ।

पुलिसका हाकिम इन्सपेक्टरको कुरा सुनेर जानकी दङ्ग परी । अघिसम्म फिटिक्कै मन नपरेको पुलिस पनि उसलाई मनपर्न थाल्यो । झन् हाकिम त उसलाई अझ बढी मनपर्यो ।

त्यसपछि जानकीले च्याप्प समातेर चरालाई पिँजडाबाट निकाली । अनि एकपल्ट दुःखी भएका बाउलाई हेरी । एक हप्ताभरि घरमा मिठो खाना नपाक्ने कुरा पनि सम्झी । तर ऊ दुःखी भइन । उसको हातको चरा पखेटा चलाउन हतारिएको थियो । उसले आफ्नो हात खुकुलो पारी । अनि ‘जा अपने माई के पास जा’ (जा आफ्नी आमा भएको ठाउँमा जा) भन्दै फुत्त चरालाई उडाइ दिई । चराले पर पुगेर फुत्त फर्केर हेर्यो । सायद उसले सबैजनालाई धन्यवाद भनेको हुनुपर्छ । त्यसपछि चरा मजाले भुर्र उडेर रुखमाथि गयो ।

जानकी एकपटक फेरि बाउलाई हेरेर दुःखी भई । अनि फेरि रुखमा बसेको चरालाई हेरेर मुसुक्क हाँसी । छोरी खुसी भएकोमा उसको बाउ बलदेव पनि खुसी भयो ।

रुखमा बसेको चरा आफ्नो परिवारसँग रमाउँदै गरेको देखेर सबैजना खुसी भए । अनि रमाउँदै घर फर्किए ।

Literature: 
Language: