बालदिवसको उपहार

baldiwasko-upahar

 

 

 (बालकथा)

- कार्तिकेय

“म पनि जाने ! हजुरआमासँग मिठो पापा छ ।” सानो बाबु राजु रुँदै करायो । 

गुरुआमाले ट्वाल्ल पर्दै गुरुबालाई हेरिन् ।

“हुन्न हुन्न ! यस्तो बेला मनले होइन बुद्धिले काम गर्नुपर्छ बुढी । त्यहाँ आमा बाको घर वरिपरि १० जना कोरोना रोगी भेटिइसके रे । फेरि यो त्यहाँ गएपछि हजुरबालाई लिएर गाउँ घुम्न र त्यहाँका केटाकेटीसँग खेल्न जान्छ । भो भो आज नलैजाऊ !” गुरुबाले थचक्क गुन्द्रीमा बस्दै भने ।

राजु हिक्कहिक्क गर्दै बेस्सरी रोयो । गुरुआमाले उसलाई गम्लङ्ग अँगालो मारिन् । आमाको अँगालोमा बाँधिएपछि राजुको रुवाई विस्तारै कम हुँदै गयो ।

“म मेरो सानो बाबुलाई छोडेर कतै जान्न ।” गुरुआमाले उसलाई माया गर्दै भनिन् । यसो भन्दै गर्दा उनको आँखा आँसुले टम्म भरियो । सारीको सप्कोले आँसु पुछ्दै उनी छोरोलाई हेर्दै सोच्न थालिन्,

“यो केटो हजुरबुवा हजुरआमा भनेपछि हिरिक्कै गर्छ । सानो ४ वर्ष पुगेदेखि नै भो अब म तिमीलाई बोक्न सक्दिन । हजुरआमा घर नजाने भनेकी थिएँ ! तर त्यति सानो बच्चो यति लामो बाटो आउँछ र जाने गर्छ भन्दा छिमेकीहरु छक्क पर्थे । कहिलेकाहीं त म आफैँ पनि छक्क पर्थेँ । म विद्यालयमा पढाउन छिर्ने बेला बुवाले आएर लैजानुहुन्थ्यो । ऊ दिनभरि हजुरबुवा र हजुरआमासँग खेल्थ्यो । बेलुका फर्केर आएपछि जब ऊ सुत्थ्यो । अनि म उसका नरम खुट्टा हेरेर आफैँ टोलाउँथेँ । आँखा रसाउँथ्यो । अनि ती साना गोडामा तेल लगाइदिन्थेँ । तर समय नि कस्तो आयो ? हिँड छोरा म बोकेरै लान्छु भन्ने शक्ति पनि ममा छैन ! ऊलाई त के छ जाऊँ भन्यो भने बतोडले कुदेरै मामाघर पुग्न खोज्छ । अब त ७ वर्षको भइसक्यो । सानोदेखि दौडिएको बाटो भएर होला । अब यो २ घन्टाको हिँडाई पनि उसलाई केही लाग्नै छोडिसक्यो । तर, यस्तो बेला मलाई ... ?” गुरुआमा एक्लै बडबडाइन् ।

उनले अकस्मात् सम्झिन्, “ओहो, आज त हामी समुदायको कोटा शिक्षकलाई तलब लिन बोलाएका छन् । यस्तो महामारीको बेला भनेको बेला गएन भने फेरि कहिले पाइने हो ठेगान छैन । घरमा नि खर्चको निकै खाचो छ । निजी विद्यालयमा पढाउने गुरुबाले पनि तलब नपाएको आधा वर्ष नि पुगिसक्यो ।”

गुरुआमा मनमनै आफैँसग कुरा गर्दै ओछ्यानबाट विस्तारै उठिन् । छोरोलाई सानो ओढ्ने ओढाइदिइन् । छोरो फुसफुस सुतिरहेको थियो ।

“गुरुबा अब यो सुत्यो । साँझ मात्र ब्युझिन्छ होला । म विद्यालय गएर बजारसम्म पुगेर आउँछु है ! ब्युँझियो भने यसो पाठो देखाउँदै घुमाउनुहोला ।” गुरुआमाले दुःखी स्वरमा भनिन् ।

“भो दुःखी नहोऊ गुरुआमा ! सब ठिक हुन्छ । विस्तारै केटोलाई म घरमै रमाउने बानी पार्छु । ढुक्क भएर जाऊ । सकभर छिट्टै आउनू नि है !” गुरुबाले आफ्नी प्यारी बुढी (गुरुआमा) को पिठ्युँ थपथपाउँदै भने ।

त्यसपछि गुरुआमा फिस्स हाँसिन् । अनि फटाफट बाटो लागिन् । विद्यालय पुग्न छिटोछिटो गर्दा नि दुई घन्टा हिँड्नुपथ्र्यो । उकाली, ओराली गर्दै क्यानखोला तरेपछि बल्लतल्ल विद्यालय पुगिन्थ्यो । विद्यालयबाट केही पर उनको माइती घर थियो ।

 गुरुआमा एकसुरमा सकभर छिटो हिँड्दै थिइन् । कान्लामाथिबाट काइँला दाइ अकस्मात् कराए – “मास्टरनी नानी, अलि होस गर्दै जानू है । तल खोल्सामा बाघ छ रे । केटाकेटीहरु हल्लीखल्ली गर्दैछन् ।”

गुरुआमा टक्क अडिइन् । उनको मुटुको चाल बढ्यो ।

“होइन, आज त म विद्यालय पुग्नैपर्छ ।” उनले मनमनै अठोट गरिन् । अनि फटाफट बाटो लागिन् । अलिपर पुगेपछि एक हुल केटाकेटी दौडिँदै आए ।

“के भयो ? किन कुँदेका तिमेरु ?” गुरुआमाले सोधिन् ।

“पर खोल्सामा बाघ छ बाघ !” साहिला काकाकी छोरी रीताले स्वाँ स्वाँ गर्दै भनी ।

“अनि कता गयो त ?” गुरुआमाले उत्सुक हुँदै सोधिन् ।

“एकछिन अघिसम्म त्यही थियो । तर अहिले कता हरायो कता ।” रीताले डराउँदै भनी ।

“लौ तिमीहरु घर गएर बस ! छिटो जाओ ।” गुरुआमाले भनिन् ।

“गुरुआमा, तपाईं चाहिँ त्यतै जाने र ?” अर्जुनले सोध्यो । ऊ गुरुआमाको विद्यार्थी थियो । ७ कक्षामा एक वर्ष पढाएकी थिइन् ।

“आज मैले जानैपर्छ बाबु !” गुरुआमाले दृढ स्वरमा भनिन् ।

केटाकेटीहरु गुरुआमा जानुभएको हेरेर एकछिन टोलाए । अनि  घरतिर दौडिए ।

गुरुआमा सकभर छिटो बाटो लाग्दै थिइन् । केटाकेटीले भनेको खोल्सो आउन थालेपछि उनी अलि चनाखो भइन्, डराइन । मुटु छिटोछिटो धड्कन थाल्यो । उनले यसो चियाएर तलतिर खोल्सोमा हेरिन् । आम्मै, बाघको टिलिक्क टल्किएको शरीरको पछाडिको भाग देखियो । ओहो, बाघ त शिकार खानमा मस्त थियो । गुरुआमाले बाघले के खाएको हो भन्ने कुरा नजिक गएर हेर्न सकिनन् । उनी फटाफट हिँडिन् । र, जति सक्यो छिटो गरेर विद्यालय पुगिन् ।

हस्याङफस्याङ गर्दै विद्यालय आइपुगेकी सम्झना गुरुआमालाई हेर्दै लेखापाल गुरुले हाँस्दै सोधे – “होइन, सय मिटरको दौड जितेर आइयो कि क्या हो ?”

“आज बाटामा बाघ भेटियो । शिकार खाँदै थियो !” गुरुआमाले असिनपसिन हुँदै भनिन् ।

“आम्मै ! हो र भन्या ? लौ एकछिन आराम गर्नुस् ! मुख पनि धुनुस् ।” लेखापाल गुरुले भने ।

एकछिन आराम गरेपछि गुरुआमाको डर कम भयो ।

“ज्यानै माया मारेर पढाउन आउनुभएको छ हाम्री गुरुआमा !” लेखापाल गुरुले पैसा बुझेर दस्तखत गर्दै गरेकी गुरुआमालाई हेर्दै भने ।

“यसपालि मासिक तलबको आधा रकम मात्र दिन सकेका छौँ है !” पैसा गन्दै गरेकी सम्झना गुरुआमालाई हेर्दै लेखापाल गुरुले सानो स्वरमा भने ।

गुरुआमाले खुइया गर्दै भनिन् – “ठिकै छ, समुदायको कोटाको शिक्षिका भएपछि यस्तै हो । धन्य ! तिन महिनाको रहेछ र नुन तेल चाहिँ किन्न पुग्ने भो !”

 पैसा लिएपछि गुरुआमा बिदा भएर हरिवन बजारतिर लागिन् । उनले बजार पुगेर नुनतेल किनिन् । घर फर्कने बेलामा शशी इन्टरप्राइजेज पसल आयो । पसल अगाडि एउटी आमा र बच्चा बात मार्दै गरेका थिए । उनले एकछिन रोकिएर हेरिन् । आफ्नो छोरालाई झलझली सम्झिन् ।

“बालदिवस नि आयो । त्यो केटोलाई केही उपहार लगिदिनु परो ! के लगिदिऊ होला ?” गुरुआमाले पसल अगाडि उभिएर सामान हेर्दै सोचिन् ।

“दिदी, केही चाहिने हो भने भनिहाल्नुस् है । लकडाउनले पसल खोलेको छैन । म त सामान छुटेर लिन आएको मात्र हुँ ।” पसलका मालिकले भने ।

 

एकछिन विचार गरेर गुरुआमाले छोरा र बुवाआमाका लागि उपहार किनिन् । अनि पोको बोकेर फटाफट बाटो लागिन् ।

बाटामा मानिसहरु चौतारीमा थकाइ मारिहरेका थिए । तर, त्यो दिन अरु बेलाको जस्तो भिड थिएन । हरिवन बजारमा पनि फाट्टफुट्ट मान्छे हिँडेका देखिन्थे । औषधी र किराना पसलहरु मात्र खुलेका थिए ।

“नमस्ते, गुरुआमा !” राजेशले नमस्कार गर्दै भन्यो ।

आफूले कक्षा ९ मा पढाएको विद्यार्थी युवा भइसकेको देखेर गुरुआमाले एकछिन छक्क परेर हेर्दै भनिन् – “नमस्ते ! अहिले के गर्दैछौ बाबु ?”

“गाडी र मोटर बनाउन सिक्ने विषय पढ्दैछु गुरुआमा !” राजेशले खुसी हुँदै भन्यो ।

 “लौ त बाबु, टाढा पुग्नु छ, म लागे है भन्दै गुरुआमा बाटो लागिन् । राजेश पनि नमस्ते गरेर आफ्नो घरभित्र छिर्यो ।

त्यो दिन बाटामा पनि त्यति धेरै मान्छेहरु थिएनन् । बाटो खाली थियो । गुरुआमा यताउति नहेर्दै सकभर छिटो अगाडि बढ्दै थिइन् ।

 “ऐ दिदी ! कफ्र्यु लागेको दिन पनि कता हिँडिरहेको हँ ?” परबाट एउटा प्रहरी कराउँदै दौडिएर आयो ।

नजिक आइपुगेपछि त्यो प्रहरीले नमस्ते ! गुरुआमा भन्दै दुई हात जोडेर नमस्ते ग र्यो ।

 

 “चिन्नुभयो मिस ? म सन्तबहादुर !” प्रहरीले भन्यो ।

“ऐ सन्त ! तिमी प्रहरी भइसक्यौ बाबु ? माफ गर है बाबु ! मैले त हतारमा  कफ्र्युको कुरा नै भुसुक्कै बिर्सेछु ।” गुरुआमाले भनिन् ।

“होइन ठिक छ गुरुआमा ! मान्छेले रोग नसारुन् भनेर मात्र हो ! मलाई क्षमा गर्नु है गुरुआमा ! मैले नचिनेर कराएँ ।” सन्तबहादुले नम्र स्वरमा भन्यो ।

“होइन बाबु, ठिक छ ! त्यो तिम्रो काम गरेका हौ नि !” गुरुआमाले भनिन् ।

छुट्टिने बेलामा सन्तले गुरुआमालई दुई हात जोडेर नमस्ते ग र्यो ।

“तिम्रो भलो होस् बाबु !” गुरुआमाले आशीर्वाद दिँदै भनिन् ।

छिटोछिटो हिँड्दै गरेकी गुरुआमाको मनमा रोइरहेको छोराको याद आयो ।

“केटो उठ्यो कि ? रुँदै पो छ कि ?” यही कुरा सोच्दै गुरुआमा सकेसम्म छिटो हिँडिन् ।

माइती घर पुगेर बुवाआमालाई भेटेपछि गुरुआमा खुसी भइन् । एकछिन आराम गरेर एक लोटा पानी खाइन् । उनले सबै कुरा सम्झाउँदै बुवालाई एउटा प्याकेट दिइन् । नाति विरामी भएको खबरले बुढाबुढी हजुरबुवा र हजुरआमा दुःखी भए ।

“नानी यो तँ नि लगा र नाति र ज्वाइँलाई नि दिनू है ! बाहिर हिँड्दा यो लगाएर मात्र हिँडेस् छोरी !” आमाले ३ वटा मास्क गुरुआमाको हातमा राखिदिइन् ।

गुरुआमाले मास्क हेर्दै भनिन् – “यहाँ पनि कोरोना आइसक्यो है आमा !”

“तेरो काकालाई नि भयो छोरी ! बैंकमा काम गर्ने बुहारीलाई सुरुमा भयो रे !” बुवाले दिक्क मान्दै भने ।

 “अहिले त छरछिमेकमा नि आफ्नै घरमा बसौँ । कसैको घरमा पाहुना नजाऔँ ! भन्दै गाउँपालिकाले माइकमा भन्दै हिँडेको छ नानी !” आमाले दुःखी स्वरमा भनिन् ।

बुवाआमाको कुरा सुनेर गुरुआमालाई दुःख लाग्यो ।

“अब यो केही समयको लागि मात्र हो रे ! केही महिना घरभित्रै अनुशासनमा बसेपछि सब ठिक हुन्छ रे !” उनले बुवाआमातिर फर्किएर हाँस्दै भनिन् ।

पढेकी छोरीको कुरा सुनेर बुवाआमाको चाउरिएको गाला उज्यालो देखियो ।

“लौ बुवा म घर पुगेर सल्लाहा गरे अनुसार नै गर्छु नि है ! तपाईंले कुरा त बुझ्नुभयो नि ?” छुट्टिने बेलामा गुरुआमाले सोधिन् ।

“बुझेँ नानी बुझेँ !” बुवाले भने ।

“मैले नि बुझेँ नानी ! म नि सम्झाई हाल्छु नि । यो नाति केटोलाई दिनु है !” आमाले एउटा खानेकुराको बट्टा दिँदै भनिन् ।

त्यसपछि गुरुआमा हतारहतार घरतिर लागिन् । बाटाभरि उनको मनमा घरबाट हिँड्दा रोएर सुतेको छोराको सम्झना झलझली आइरह्यो । उकाली–ओराली विद्यालय, घर र बजार गर्दागर्दै ५ घन्टा बढी हिँडेको ज्यान फत्रक गलिसकेको थियो । त्यसमाथि साथमा नुन तेल र सामानको पोको पनि थियो । घर पुग्नै लाग्दा काकाले कान्लामाथिबाट बिहानको जसैगरी कराउँदै भने – “नानी ! आज खोल्सामा बाघले एउटा मृग मारेर खाएछ नि है !”

काकाको कुराले गुरुआमाले बिहान जाँदा शिकार खाँदै गरेको बाघ सम्झिइन् । छोरो भेट्ने हतारोले उनले त त्यो खोल्साको बाघ पनि बिर्सेकी रहिछिन् । उनी बल्ल झसङ्ग भइन् । उनी घर पुग्दा झमक्क साँझ परिसकेको थियो ।

“बाबु उठ्यो त गुरुबा ?” उनले पोको पिढिमा राख्दै सोधिन् ।

“उठेर निकैबेर रोयो । अनि बल्ल सुत्यो । केही गर्दा नि मानेन है आज त ! केटोलाई हनहनी ज्वरो आएको छ ! के गर्ने होला ?” गुरुबाले नियाउरो अनुहार लाएर भने ।

“होइन सब ठिक हुन्छ । आफूले जानेको केही न केही उपाय गर्नुपर्छ ।” गुरुआमाले आँसु झार्दै भनिन् ।

त्यसपछि गुरुआमाले बाहिरबाट आएको कपडा फेरिन् । हातमुख साबुन पानीले राम्ररी धोइन् । अनि उनी चिसो पानी र टालो बोकेर छोरा छेउमा गइन् ।

“तिमी यो उपायतिर लाग । म खाना बनाउँछु है !” छोरालाई पानी पट्टी लगाउँदै गरेकी बुढीलाई पुलुक्क हेर्दै गुरुबाले भने ।

“हस् हुन्छ । तरकारीमा सागको रस खाने है !” गुरुआमाले भनिन् ।

गुरुआमाको उपाय पानीपट्टी रहेछ भन्ने कुरा बुझेर गुरु बा भान्सामा गए । यता गुरुआमाले छोरालाई विस्तारै सुमसुम्याइन् । बच्चाको जिउ हनहनी तातेको थियो । निधारमा चिसो भएपछि छोराले पुलुक्क हे¥यो । आमालाई अगाडि देखेपछि ऊ आमासँग टाँसियो । अनि आमासँग अँगालो मारेर निदायो ।

भोलिपल्ट बिहान बच्चाको ज्वरो अलि कम भएको थियो । गुरुआमाले उता घरका बुवालाई सम्झाए जस्तै आफ्ना बुढा गुरुबालाई पनि सबै कुरा बेलुका नै सम्झाइसकेकी थिइन् ।

 हुन्छ, कोसिस गरौँ न त ! गुरुबाले आशा गर्दै भनेका थिए ।

“लौ लौ बाबु ! हजुरबा हजुरआमा आउनुभयो ।” गुरुबाले बेलुका गुरुआमाले भने अनुसार छोरो उठ्ने बित्तिकै कराउँदै भने ।

 

केटो छक्क प¥यो । खै कहाँ हुनुहुन्छ भन्दै ऊ आमा भएतिर दौडियो ।

गुरुआमा एउटा टेबुलमाथि हजुरबा र हजुरआमाको हाँसिरहेको फोटो राखेर खाटमा बसिरहेकी थिइन् । उनी छेउमा पुगेर त्यो सानो केटो राजुले पनि एकटकसँग हजुरबुवा हजुरआमालाई हे र्यो ।  

“खोई त हजुरबा आमा ?” राजुले सोध्यो ।

त्यसपछि गुरुआमाले एउटा सानो प्याकेट राजुको हातमा दिँदै भनिन् – “यो मेरो सानो छोरालाई बालदिवसको उपहार !”

राजुले बिस्तारै सानो बक्सा खोल्यो ।

“यो कसरी खेल्ने हो आमा ?” उसले सामान हेर्दै सोध्यो ।

त्यसपछि गुरुआमाले खेलौनामा भएका नम्बर थिचिन् । अनि उसको अगाडि राखिदिइन् ।

“को हो ? मेरो नाति राजुले फोन गरेको हो ?”

अचानक हजुरआमाको साँच्चैको आवाज सुनियो ।

राजुले एकपटक टेबुलमा राखिएको हजुरआमाको फोटोलाई हे¥यो । अनि फेरि त्यो खेलौनालाई हे र्यो ।

“के गर्दैछ मेरो सानो बाबु ?” हजुरआमाले पठाइदिएको पुस्टकारी खायो ।

हजुरआमाले सोधिन् ।

 त्यसपछि बल्ल सानेले च्याप्प त्यो खेलौना आमाको हातबाट लियो । अनि हातमा बोकेर आमाले गरेजस्तै गरी बोल्दै भन्यो – “मैले मिठो पापा खाएँ आहा आमा ! ”

उताबाट हजुरबाको बोली पनि सुनियो – “मिठो पापा अर्को पनि देऊ त छोरी  सानेलाई ! ”

अनि बल्ल राजु खुसी हुँदै फोनमा बोल्न थाल्यो । त्यो दिन राजुले हजुरबुवा र हजुरआमासँग धेरैबेर मजाले कुरा ग¥यो । अनि ऊ टन्न दुध भात खाएर सुत्यो । उसको ज्वरो पनि धेरै कम भइसकेको थियो ।

त्यसपछि गुरुबाले आफ्नो धेरैअघि बिग्रेको मोबाइल फोनलाई दिक्क मानेर हेर्दै नयाँ फोनलाई लोभ गर्दै हेरे ।

 “यो तिमीलाई पनि हो बुढा ! यो उन्नाइस सयको फोनले आज अमूल्य काम ग र्यो ।”

गुरुआमाले खुसी हुँदै भनिन् ।

“त्यो त हो बुढी !” गुरुबाले मुसुक्क हाँस्दै भने ।

त्यसपछि सानो छोरोलाई दुईतिरबाट अँगालो मारेर गुरुबा र गुरुआमा मस्तसँग सुते ।

 

पोस्ट बक्स २५८५९, काठमाडौँ, नेपाल ।

 

Literature: 
Language: