यसरी पनि पुस्तक उपहार दिन सकिने रहेछ     -  कविता पराजुली 

kabita-parajuli

  ‘ज्ञान लेऊ र देऊ’ भन्ने भावना सधैँ मेरो मनमा आइरहन्थ्यो । यसपालि विभिन्न विद्यालयहरुमा गई केही आफैँले र केही अरु बालसाहित्य लेखकहरुले लेख्नुभएका ज्ञानवर्धक तथा मनोरन्जनात्मक पुस्तकहरु किनेर पढ्न नसक्ने असहाय बालबालिकाहरुको हातमा ती पुस्तकहरु राखिदिन मन लाग्यो । यस बखत पितृ पक्षको समय पनि रहेको हुनाले केही पुण्यकर्म पनि हुन्छ भन्ने लाग्यो । ती बालकहरुको हातमा ती ज्ञानवर्धक पुस्तक राखिदिएर उनीहरुको त्यो मुस्कानसँग आफ्नो पनि मुस्कान साट्न पाउने धोको लिएर चार वटा सामुदायिक विद्यालयहरुमा म पुगेँ । जसमा मैले रचना गरेका दुई वटा कृतिहरु निदरी र हजुरआमा । जसलाई बालसाहित्य प्रतिष्ठान नेपालले प्रकाशित गरेको छ । यो मेरो बालसाहित्य लेखनमा पहिलो प्रयास हो । प्रतिष्ठानले ममाथि विश्वास गरेर प्रकाशन गरिदियो । प्रतिष्ठानप्रति म आभारी छु र पछि आउने दिनहरुमा उहाँहरुको विश्वासलाई अझ सार्थक पार्न सकूँ, यही मेरो चाहना रहेको छ । 

यस पटक पितृलाई सम्झने अवसरमा किताब दान दिएर नयाँ चलन सुरु गर्न मन लाग्यो । घरका आफन्तहरुलाई पनि यो कुरा सुनाएँ । कसैले सुन्नुभयो, कसैले सुन्नुभएन । तर, मेरो इच्छा प्रबल थियो । त्यसैले यस कुरालाई घरमा मैले विद्रोह गरी भन्ने सोचाइ पनि थियो होला । मेरो आफ्नै तर्क थियो । गीता दान गर्ने चलन पहिले देखि नै हाम्रो पूजा पाठमा चल्दै आएको हो । अहिले पनि कहींकहीं ५४ गीता दान भनेर पण्डित बाजेहरुलाई दिइने चलन देखिन्छ । सधैँ दिवङ्गत भइसक्नुभएका पितृहरुको स्मृतिमा वृद्धाआश्रम, अनाथ आश्रम तथा असहाय बालबालिकाहरु बसेका ठाउँसम्म पुगी भोजन गराउने र लत्ताकपडा बाँड्ने गर्दथे ।

आफ्ना पूर्वजहरुले स्वर्गमा वास पाउन्, कुनै पितृहरु भोकै बस्न नपरोस् भनी श्राद्ध गरिने हो । हाम्रो धर्मले पनि ‘धन चोखो दानले, मन चोखो ज्ञानले’ भन्दै आएको पनि छ । यस्ता मनकारी मनहरुले यस पितृपक्षमा धेरै किसिमका दानहरु दिएर आफ्ना पितृहरुलाई तृप्त पार्छन् । कसैको मन हाँस्छ भने त्यो नै सच्चा धर्म हो जस्तो लाग्छ ।

दान शब्दले मलाई अलि खल्लो खल्लो बनाउँछ । किनकि यो शब्दले अलि अर्कै अर्थ बोकिदिएको जस्तो लाग्छ । त्यही भएर म अर्पण भन्न मन पराउँछु । अर्पण गर्ने सिलसिलामा म काठमाडौँ, बालाजुको जन जागृति सामुदायिक विद्यालयमा पुगेँ । त्यहाँ हामी बालसाहित्यका किताब, बिस्कुट र चकलेट लिएर पुगेका थियौँ । हेडसरसँग कुरा भयो । कुनकुन कक्षाका बालबालिकालाई यी पुस्तक दिँदा उपयोगी हुन्छ भन्ने कुरामा एकछिन छलफल भयो । छलफलमा यस पटक कक्षा ६ का विद्यार्थीहरुलाई दिने भन्ने निर्णय भयो । उनीहरुले सरर पढ्छन् र किताब नि च्यात्दैनन् भन्ने मतको जित भयो ।

तर, मेरो मनले मलाई पुस्तक दिनुपर्ने त अलि सानालाई हो नि । गिलो माटोमा बिज रोपिँदै गए पो त्यो उम्रदै जाला । बनिसकेको भाडामा जति बिज हालेर राखे पनि त्यो उम्रने होइन भन्ने मेरो विचार थियो ।

विद्यार्थीको हातहातमा किताब प¥यो । असाध्यै रमाए । सोचेँ यी साना नानीहरुको हाँसोको तर्पणले मेरी आमा पनि तृप्त हुनुभयो होला । म पनि सन्तुष्ट भएँ ।

पुस्तक अर्पण गर्ने कार्य सकेर घर आएँ, सुस्ताएँ । मनमा द्घन्द चल्न थाल्यो । पुस्तक दिने कुरामा च्यात्छन्, जतन गर्दैनन् भन्ने कुरामा सधैँ शिक्षक र हाम्रो बिच अलि कुरा मिल्दैनथ्यो । शायद लाग्थ्यो हामीभन्दा बालमनोविज्ञान उहाँहरुले धेरै बुझ्नुभएको हुनुपर्छ किनकि उहाँहरु सधैँ ती विद्यार्थीहरु बिचमै बस्नुहुन्छ ।

अनि मलाई एउटा घटनाको स्मरणले झस्कायो । करिब दुई वर्षअगाडिको कुरा हो । मेरी छोरी अमेरिकामा सुत्केरी हुन लाग्दा मैले त्यहाँ एक महिना अगाडि जाने निधो गरेँ । जाने बेलामा जन्मने बच्चालाई के उपहार लगिदिउँ भन्ने कुराले पिरोलिरहेको थियो । सबै कुरा पाइन्छ त्यहाँ यहाँभन्दा राम्राराम्रा । जुम्ला जान लागेकी होइन, केही नपाउने ठाउँ । के गर्ने होला ? आफन्तका केटाकेटीहरु पनि यताभन्दा उता धेरै भइसकेका थिए ।

मनमा यही विचारको द्घन्द चलिरहेको थियो । एकदिन अकस्मात् मनमा विचार आयो, पुस्तक उपहार लगिदिँदा कसो होला ? यसरी मनमनै यसपटकको मेरो भ्रमणमा केटाकेटीलाई नेपाली बालपुस्तक उपहार पुस्तक हुनेछ भनेर मनमनै निर्णय गरेँ । मन खुसीले नाच्यो । भोलिपल्ट बागवजारका पुस्तक पसलहरु चाहारेर राम्राराम्रा चित्रसहितका बालपुस्तकहरु किनेर घर आएँ ।

श्रीमान्ले सोध्नुभयो, नातिनीलाई के उपहार लिएर आयौ त ?

मैले पुस्तकहरु टन्नै किनेर ल्याएँ हेर्नुस् त भनेँ ।

जन्मदै नजन्मेको बच्चालाई किताब पो बोकेर ल्यायौ त ! अनौठो ग¥यौ तिमीले । उहाँले भन्नुभयो ।

म चुपचाप उहाँको कुरा सुनिरहेँ । अनि एकछिनपछि भनेँ, हेर्नुस्, सुरुमा आमाबाले पढेर आफ्नो देश सम्झेलान् । यताको सबै कुरा बिर्सिसकेका छन् । हुर्केपछि बच्चाले पनि पढिहाल्छ । अहिले बाआमाले मनपरेका कथा पढेर सुनाइदिन्छन् नि !

म यति भनेर चिया पकाउन थालेँ ।

उपहार हेर्न बेलुका छोरी डा. श्रीया र छोरा डा. श्रेयस मेरो कोठामा आइपुगे । आमा खै त उपहार भने । मैले उपहारका लागि ल्याएका किताब देखाएँ ।

लौ तिमीहरुले पनि यी किताबमा केही शुभेच्छाका शब्दहरु लेखेर हाम्रो घरमा आउने नयाँ सदस्यलाई उपहार देऊ भनी चार वटा किताब छोराछोरीको हातमा राखिदिएँ ।

ए राम्रो गर्नुभएछ भनी उनीहरुले भने । बल्ल मेरो मन अलि हलुको भयो ।

जाने दिन आउन लागिसक्यो । केही लेखेर दिँदैनन् । एकदिन छोरीलाई बोलाएर भनेँ, अब म पर्सी त उड्छु नानी ।

भोलिपल्ट पनि दिदीभाइ खस्याकखुसुक गर्छन् । मलाई उनीहरुको कोठाभित्र जान नि दिँदैनन् । के हो के हो म रनभूल्लमा परेँ ।

छोरा र छोरीले अमेरिका जाने दिनको राति किताब ल्याएर मेरो हातमा राखिदिए । के लेखेछन् त भनी यसो किताबको माथिल्लो पाना पल्टाएँ । मामाघरको हजुरबा भन्ने शीर्षकको तल हुनेवाला हजुबाले मरुभूमिमा गुडाउने क्वार्ड बाइक (चार पाङ्ग्रे मोटरसाइकल) चलाएको फोटो राखेका रहेछन् । यो देखेर म एक्कासी जोडसित हाँसे । धेरैबेरपछि पनि एक्लै हाँसो उठिरह्यो । त्यो फोटो र पुस्तकको सम्झना आयो कि अहिले पनि नहाँसी रहन सक्दिन ।

अर्को किताबको पाना पल्टाएँ । जसमा हजुरबा र हजुरआमाले जातकका कथा सुनाइरहनुभएको फोटो थियो । त्यस्तै अर्को किताब चङ्खेको चलाखी पल्टाएर मरीमरी हाँसे । हाँस्दाहाँस्दा पेट पनि दुख्यो ।

त्यो फोटोमा हुनेवाला बच्चाको वास्तविक मामा अर्थात् मेरो छोराको फोटोलाई चङ्खेसँगै टाँसिएको रहेछ । दिदीभाइका रमाइला क्षणका फोटाहरु हेर्दै म अलि भावुक पनि भएछु । आँखाको कुनाबाट दुई थोपा आँसु पनि तप्प खस्न पुग्यो । यी सबै फोटाहरु कथाभित्रका पात्रहरुझैँ लागे । छोरा र छोरीको रचनात्मक सोचले कति धेरै प्रभाव पार्ने रहेछ । यसको प्रयोग नै ममाथि भयो जस्तो लाग्यो । उनीहरुलाई धन्यवाद नदिइ बस्न सकिनँ, धन्यवाद प्यारा भुन्टाभुन्टी ।

यसरी पनि किताब उपहार दिन सकिँदो रहेछ । पठन संस्कारको विकासका लागि अलिकति संवेदनशील भई सोचिदिए सानो कुराले पनि ठुलो खुसी ल्याउँदोरहेछ भन्ने कुराको ज्ञान यस रचनात्मक प्रयोगबाट मैले सिकेँ । किताबभित्र आफ्नै बाबाआमा, हजुरबा हजुरआमाका र आफन्तका फोटोहरु सजाएर राखिदिँदा त्यो किताब उसले अवश्य पनि च्यात्दैन । सायद पछिसम्म नि जतन गरेर राख्छ किनकि फोटो पुरानै भएपनि हामी च्यातेर फाल्दैनौँ । मेरी छोरी रुजुले पनि पक्कै त्यो किताब फालेकी छैन होली जस्तो लाग्छ । म उपहार छोरीको हातमा आखेर नेपाल फर्केकी पनि झण्डै दुई वर्ष हुन लाग्यो । एउटा कौतूहलले मलाई फेरि उचाल्यो । पत्ता लगाऔँ न त किताब च्यातेर फालिसकेछन्  कि राखेका रहेछन् भनेर मैले अकस्मात् समयको हेक्का नि नगरी भाइबरबाट छोरीलाई फोन गरेँ । उताबाट हेल्लो मामु भन्ने अलि अनिँदो स्वर सुनियो । ला, यो समय फोन गर्न नहुने रातको बाह्र बजेको रहेछ उता भनेर थकथकी लाग्यो । के भन्ने नभन्ने अलमलमा परेँ । फोन गरिसकेपछि केही त भन्नै प¥यो । सरी है नानी मैले समयको ख्याल नै नगरी तिमीलाई फोन लगाएछु ।

ठिक छ भन्नु न मामु । उताबाट छोरीको आवाज आयो ।

मैले त्यो फुच्चीलाई किताब उपहार ल्याइदिएकी थिएँ नि त्यो फाल्यौ कि छ नानी ? मैले अलि डराइडराइ सानो स्वरमा सोधेँ । किनकि त्यहाँ त राख्ने ठाउँ नभयो कि सामान फालिहाल्ने चलन देखेर आएकी थिएँ ।

हजुरलाई आधा रातमा यो के धुन चढ्यो ? भन्दै छोरी हाँसी ।

तिमीहरुकोमा पो आधा रात हाम्रोमा त भर्खरै बिहानै छ नि, मैले भनेँ ।

‘त्यो नानीका उपहारमा आएका किताबहरु सबै जतन गरेर राखिदिएकी छु । कहिलेकाही स्टारी टाइम हुन्छ । उसको त्यही किताब कहिलेकाही झिकेर हजुरबा हजुरआमा भनेर चिनाउँछु र चित्रहरुको बयान गरी कथा बनाएर भन्ने गरेकी छु । चङ्खेको चलाखीको चङ्खे उसको आफ्नै मामा भएको छ । उसको नाम नै मैले चङ्खे मामा राखिदिएकी छु ।’ छोरीले झर्को नमानी भनी ।

ए रमाइलो कुरा गर्यौ नानी । म पछि कुरा गरौला है भनी फोन राखेँ ।

मैले यही कुराबाट महसुस गरेँ नयाँ पुस्ताको नयाँ सोच भनेर । हामीले भए हातमा लौरो लिएर कुप्रो परेका हजुरबाको फोटो राख्ने थियौँ होला । उनीहरुले हजुरबालाई कथाको हिरो नै बनाएर मरुभूमिमा मोटरसाइकल कुदाएको देखाए । यस्ता साना कुराहरुले उनीहरुको सोचमा सकारात्मकताको विकास गर्न सहयोग गर्छ होला । पक्कै पनि अब त्यो किताबको जतन हुन्छ । जतन गर्ने कला पनि हो यो जस्तो लाग्यो । बालबालिकाले सानो छँदा बालपुस्तक समाउन र हेर्दै पढ्न पाएनन् भने ठुलो भएपछि ती किताब भित्रका अति अर्थपूर्ण ज्ञान गुनका कुराको के अर्थ रह्यो र । यही विषय भित्र पसेर एकदिन ती बालकहरुसँगै किताब समाउँदै कथा भन्दै खेल्न थालेँ ।

रचना मिति  : २०७६/०६/१०

 

Opinion: 
Language: