गुरु Children's Poem by रश्मि जोशी

Rasmi-Joshi-2022

मेरा साना औंला समाएर

लग्यौ जब तिमीले कक्षा कोठामा

घरबाट कोही लिन आउँछन् कि भनी

मेरा आँखाले चाहिं हेरिरहन्थे ढोकामा

 

तिमी सुमसुम्याउँथ्यौ

कहिले अँगालो हाल्थ्यौ

अरूलाई पनि माया दिनुपथ्र्यो नि

त्यो बेला मलाई हेरेर मुस्कुराउँथ्यौ

 

बिस्तारै रून छाडेँ

तिमीले दिएको वात्सल्यले बिर्सन थालेँ घरलाई पनि

तिमीमै देखेँ छायाँ आमाको

तिमीमा पाएँ माया आमाको

 

बिर्सेर कहिलेकाहीं बोलाउथेँ तिमीलाईमामुभनी

मेरो औंला समाएर लेख्न सिकायौ

मेरा हात समाएर हिँड्न सिकायौ,

इन्द्रेणीको रङ देखायौ, रङहरूको नाम लेखायौ

 

साथीहरूसँग खेल्न सिकायौ

सबैसँग मिल्न सिकायौ

असल विद्यार्थी मात्र हैन असल मानिस बन्नुपर्छ भनी

जीवनमा ठूलो पाठ पढायौ

 

मलाइ मात्र हैन, तिमीले कैयौं पुस्तालाई शिक्षित बनायौ

ज्ञानरूपी ज्योतिले यो विश्वको अन्धकार हटायौ

चोरेर नचोरिने, बाँडेर नसिद्धिने, यस्तो तिम्रो ज्ञानको भण्डार

अझै पनि लागिरहेकै छौ तिमी शिक्षासेवामा निरन्तर निरन्तर  

 

शिक्षक तिमीलाई हृदयदेखिको नमन

गुरु तिमीलाई कोटिकोटि प्रणाम ।।

(लेखक रश्मि श्रेष्ठ जोशी भन्नुहुन्छमलाई सानै बेला देखि सहित्यमा रुचि कथाकविता लेख्ने गर्छु केही फुटकर कविता प्रकाशित भएका छन् अब एउटा बालकथाको किताब प्रकाशन गर्ने तयारीमा छु विगत १२ वर्षदेखि वात्सल्य मन्टेश्वरी चिल्ड्रेन हाउस शिशु विद्यालय सञ्चालन गर्दै आएकी छु )

Literature: 
Language: