बालदिवस (बालकविता) - रश्मी श्रेष्ठ जोशी

Rasmi-Joshi-2022- second poem

बामे सर्दै, तोते बोल्दै, सुरू हुन्छ यो जीवन

निश्छल निर्दोष रमाइलो, कति सुन्दर बालापन

भोलिको पीर छैन हाम्लाई, रमाउँछौं आज मै

कोही सँग डर , मान्छौँ लाज नै

 

हाम्रा लागि सबै समान, ठुलासाना छैनन् कोही

हाम्रा लागि सबै सुन्दर, कालो गोरो हैनन् कोही

फेरि किन हामीबीच भेदभाव, फरक व्यवहार

हरेक बालबालिकाको एउटै हैन आधिकार ?

 

पढ्न पाएका छैनन् कत्तिले, कोही नाङ्गा भोका

छैन घर, छैन परिवार, सडकमै हुर्किन्छन् कैयौं बालबालिका

निर्दोष, अवोध बालबालिका माथि हुन्छ अत्याचार

बाल हिंसा, भ्रूण हत्या, अपहरण अनि बलात्कार

 

शब्दहरूमा मात्रै सीमित हुन्छ हाम्रो बालअधिकार

कुराहरूमा मात्रै सुनिन्छ बालबालिका भोलिका कर्णधार

कहिले आउला त्यो समय जब हुने छैनौँ हामी विवश

त्यही बेला हृदयदेखि मनाउनेछौँ बालदिवस

Literature: 
Language: