मेरो पाङ्ग्रेलाई कस्तो छ आमा ? Author रमेश विकल

ramesh-vikal

आलोकले एक दिन स्कुलबाट घर आउँदा एउटा सानो छाउरो लिएर आयो । उसको मनमा धुकचुक थियो । भुस्याहा छाउरो बोकेर आयो भनेर आमाबाले केही भन्नुहुने पो हो कि ! गाली पो गर्नुहुने हो कि ? तर आमाबाले त्यस्तो केही गर्नु भएन । बरु बाले खुसी हुँदै भन्नुभयो ‘अहो ! कति राम्रो छाउरो रहेछ, कहाँबाट ल्याएको ।’


‘स्कुलबाट बाबा !’, आलोकले भन्यो, ‘त्यहाँ स्कुलमा नि साथीहरू यसलाई दुःख दिइरहेका थिए । लट्ठीले पिटिरहेका थिए, घोचिरहेका थिए । त्यसैले मैले पैसा तिरेर ल्याएको । उनीहरू बदमास छन् । जसलाई पनि दुःख दिन्छन् । त्यसो गर्न हुँदैन हगि बाबा ?’, आलोकले बाबासँग जिज्ञासा राख्यो ।
‘हो त्यसो गर्नु हुँदैन’, बाले भन्नुभयो, ‘बरु त्यस्ता दुःख पाएका निर्धाहरूलाई माया गर्नुपर्छ, दया गर्नुपर्छ । तिमीले ठीक ग¥यौ ! यो कुकुरलाई फोहोरी घाउ पनि लागेको रहेछ । सफा गरेर औषधी लगाइदेऊ ।’
     घरमा आमाबाले यस्तै राम्रा असल कुरा सिकाएकाले आलोक सानैदेखि असल र राम्रो बानी व्यहोराको केटो थियो । ऊ साथीभाइ सबैसँग मिलेर बस्थ्यो । आफूभन्दा साना, निर्धा, दुब्लालाई माया गर्दथ्यो । केही प¥यो भन्ने मद्दत गर्न अघि सथ्र्यो । गुरुबागुरुआमालाई श्रद्धा गथ्र्यो, आदर गथ्र्यो । पाले दाइ, आया दिदीलाई पनि मान गथ्र्यो । त्यसैले उसलाई सबैले माया गर्थे ।
उसैको स्कुलमा एक जना छुच्चो केटो पनि थियो । ऊ धनीको छोरो थियो । उसको बाबु मन्त्री हाकि के हो त्यस्तै ठूला मान्छे थिए रे । त्यसैले ऊ बाबुको धक्कु देखाएर मनपरि गथ्र्यो । पढ्नुभन्दा केटाहरू बटुलेर बदमासी गथ्र्यो । साना कक्षाका विद्यार्थी, पाले दाइ, आया दिदीहरूलाई हेप्थ्यो । गुरुबागुरुआमालाई टेर्दैनथ्यो, सबैलाई दुःख दिन्थ्यो । त्यो बदमास केटाको नाम प्रचण्ड थियो ।
त्यस दिन प्रचण्ड आफ्ना चण्डाल साथीहरूका साथमा त्यो सानो छाउरालाई सताइरहेको थियो । कोही पुच्छर निमोठेर घिसार्थे, कोही कानमा, नाकमा दिसा—पिसाब गर्ने ठाँउमा छेस्काले घोच्थे । बिचरो छाउरो कुइँंकुइँं गर्दै भुक्थ्यो । तर उनीहरू त्यसलाई लखेटी–लखेटी समातेर घिसार्दै, लछार्दै ल्याएर अनेक दुःख दिइरहेका थिए । यो सबै देखेर आलोकलाई नराम्रो लाग्यो । उसले अगाडि गएर भन्यो, ‘किन तिमीहरूले यो बिचरा छाउरोलाई दुःख दिएको ?’
        ‘हामीलाई मन लाग्यो !’, प्रचण्डले जिराहा निहुँ खोज्ने स्वरमा भन्यो ।
‘तँलाई के को चासो ? तँ साले पाखेको छोरालाई ? तेरा बाबु हो कि, दिदीबहिनी दाजुभाइ हो कि ? हाम्रो काममा रोक लगाउन खोज्ने तँ को होस्, ऐले दिऊँ कि क्या हो ?’ उसले हप्काउँदै भन्यो ।
बेकारमा आफ्नो बाबा र दाजुदिदीलाई उकासेको देखेर आलोकलाई रिस पनि उठ्यो । यसलाई जोरी पु¥याइदिने हो कि क्या हो ? ऊ अगाडि स¥यो, तर उसको मिल्ने साथी ध्रुवले उसलाई रोक्यो, ‘भो छोड्दे ! सित्तैमा यस्तासँग किन जुध्नु ? रछानमा चलाए आफ्नै मुखमा छिटा पर्छ, जाऊँ हिँड् ।’
‘के भनिस् ? मलाई रछान भन्ने तँ ? खोज्या होस् तैँले ?’, जुडो खेलाडीको पाराले प्रचण्ड निहुँ खोज्दै अगाडि आयो । यसपल्ट आलोकले अगाडि सरेर प्रचण्डलाई पछा¥यो, ‘भैगो हामी तँसँग झगडा गर्न आएको होइन । यो छाउरोलाई दुःख नदे ! यो मलाई दे ।’
‘किन दिनु तँलाई सित्तैमा ...? के दिन्छस् तँ मलाई ?’, प्रचण्डले अझै निहुँ खोज्ने तालले भन्यो । आलोकले खाजा खर्चबाट बचाएर राखेको पाँच रुपियाँको नोट झिकेर देखाउँदै भन्यो– ‘यो पाँचको नोट दिन्छु म तँलाई । त्यो मलाई दे, हुन्छ ?’
‘जाबो पाँच रुपियाँको नोट त मलाई दिसा पुछ्न पनि काम लाग्दैन’, प्रचण्डले अनुहार खुम्च्याएर भन्यो । आलोकले अर्को पाँच रुपियाँ झिकेर देखाउँदै भन्यो, ‘लौ भैगो यो दस रुपियाँ दिन्छु, दिन्छस् ?’
धनी बाबुको छोरो प्रचण्डलाई त्यस्ता पाँच÷दस रुपियाँ के आँखा लाग्दो हो । तर, उसको खराब चाल बुझेर उसका बाबुले उसको खर्च एकदमै कम गरिदिएका थिए । चुरोट खान अचेल उसले बाबुको बगली मार्ने कि आमाको थैलो रित्याउने गरेको थियो । तर त्यो पनि सधैँ मिल्दैनथ्यो । त्यसैले कहिलेकाहीँ उसलाई पाँच÷दस रुपियाँ पनि खाँचो पथ्र्यो । ऊ अहिले दस रुपियाँ देखेर दोधारमा प¥यो ।
‘ए प्रचण्ड ! ली ली ! दुई चारवटा चुरोट भए पनि आउँछ’, उसका साथीहरूले उसलाई हौस्याए । अनि उसले त्यो दस रुपियाँ लिएर छाउरो आलोकलाई दियो । कालो जीउमा सेतो खैरो बुट्टा भएको छाउरो सुन्दर थियो । छाउरो लिएर आलोक घर गयो ।
बाबाको आज्ञा पाएपछि उसले छाउरोलाई तातोपानी तताएर नुहाइदियो, घाउ सफा गरेर औषधी लगाइदियो । अनि आफ्नै कोठामा आफ्नो पलङको बगलमै बोरा ओछ्याएर बस्ने ठाउँ बनाइदियो ।
आमाले दूध बिस्कुट ल्याएर खान दिनुभयो । त्यो खाएपछि छाउरो आनन्दसँग बोरामा गुँडुल्किएर बस्यो ।
छाउरो असाध्यै गुनिलो भएर निस्क्यो । आलोकले उसको नाम पाङ्ग्रे राख्यो । ऊ साह्रै राम्रो स्वभावको थियो । दिशापिसाब पनि जथाभावी गर्दैनथ्यो । दिशापिसाब लाग्यो भने कुइँंकुइँं कराउँथ्यो । अनि ढोका खोलिदिएपछि बाहिर टाढा कतै रछानमा कि फोहोर फाल्ने ठाँउमा गरेर आउँथ्यो । ऊ आलोकलाई धेरै पछ्याँउथ्यो । जथाभावी चोरेर खाँदैनथ्यो । भोक लागे पनि कुइँकुईँ कराउँथ्यो । आमाले दूधभात ल्याएर खान दिनुभएपछि खाइपिई गरी बगैँचा, फूलबारीतिर खेल्न जान्थ्यो । चराहरूसँग लखेटीलखेटी खेल्थ्यो । कुनै नौलो मानिस घरमा आयो भने भु भु गर्दै कराउँथ्यो, तर कसैलाई टोक्ने गर्दैनथ्यो । भित्रबाट आमाले कि घरका अरू कसैले झ्यालबाट हेरेर त्यो नौलो मानिससँग हाँसेर राम्रोसँग बोलेपछि ऊ आफ्नो खेलतिर लाग्थ्यो । 
ऊ बराबर आलोकसँगै स्कुल पनि जान्थ्यो । त्यहाँ आलोकले सिकाएका अनेक खेलहरू देखाएर ऊ आलोकका साथीहरूलाई खुसी पनि तुल्याउँथ्यो । सबैले उसलाई माया गर्थे र केकबिस्कुट खान दिन्थे । स्कुल छुटेपछि आलोकसँगै घर फर्कन्थ्यो । अब ऊ यति सुग्घरी र राम्रो भएको थियो, उसलाई आलोक धेरैजसो आफैसँग खाटमै सुत्न दिन्थ्यो । मान्छे र पशु भए पनि आलोक र पाङ्ग्रे एक ज्यानजस्तै भएका थिए, एकै आमाका छोराहरू जस्तै थिए ।
त्यस्तैमा एकपल्ट स्कुलमा देश दर्शनको कार्यक्रम बन्यो । गुरुबागुरुआमाहरूले केही छानिएका विद्यार्थीहरूलाई आफ्नै देशका केही ऐतिहासिक ठाउँमा घुमाउन लाने हुनुभयो । पन्ध्र÷बीस दिनको यो भ्रमणमा आलोक पनि जाने भयो । पाङ्ग्रे पनि ऊसँग जान छट्पटायो । तर आलोकले उसलाई फकायो, ‘तैँले हामीसँग जान मिल्दैन । तँ आमाबाबाको सेवा गरेर घरै बस् । पन्ध्र÷बीस दिन त हो नि ! म आइहाल्छु नि । बरु आउँदा मीठामीठा खानेकुरा ल्याइदिउँला, ज्ञानी भएर बस् ।’
पन्ध्र दिनको यो घुमाइमा आलोकको मनमा हरेक दिन पाङ्ग्रेको सम्झना आइरह्यो । उसले उसको ती नीला र मायालु आँखा, उसको चञ्चले स्वभाव, उसले बगैँचामा चराहरूलाई लखेट्तै उफ्री—उफ्री खेलेका खेल अनि आफैँसँग चौरमा खेलेका अनेक रमाइला खेलहरू कहिल्यै बिर्सन सकेन । उठ्दा, बस्दा, खाँदा र घुम्दा पनि घरिघरि आँखावरिपरि नाचिरहे । कहिले घर पुगेर त्यो प्यारो पाङ्ग्रेलाई बोकेर माया गरौ भनेर ऊ छट्पटाउँथ्यो ।
पन्ध्र दिनको घुमफिर सकेर त्यो टोली घर फक्र्यो । घर आइपुग्दा निकै राती भइसकेको थियो । गुरुहरूले आलोकलाई बाहिर ढोकासम्म पु¥याएर जानुभयो । उसले आमालाई बोलायो आमाले सुनेर ढोका खोल्न आउँदै भन्नुभयो, ‘बाबु
आइपुग्यौ ? किन यति राती पारेको ? पख है म ढोका खोल्न आउँछु ।’
आमा आएर ढोका खोलिदिनुभयो । उसको स्वर सुनेर पाङ्ग्रे अत्यन्त खुसी भयो । ऊ खुसीले आमाको पछिपछि उफ्रँदै आयो । ढोका खु्लेपछि ऊ अत्यन्तै रमाएर आलोकको बुई चढ्न झम्टिँदै आयो । पेटी निकै अग्लो थियो । तल आँगनमा सिमेन्ट लगाएको थियो । यसरी हर्षले कुइँकुइँ गर्दै उफ्रँदै आउँदा पाङ्ग्रेका गोडा कसरी लटपटिएछन् कुन्नि ऊ लगभग दुई फिट अग्लो पेटीबाट तल आँगनको सिमेन्ट लाएको भुइँमा बज्रन पुग्यो ।
‘कुइँ कुइँ !’ उसको घाँटीबाट पीडाको स्वर निस्क्यो । बज्रँदा उसले मुण्टोले टेक्न पुगेछ । कलिलो गर्दन ठनक्कै भाँचिएछ । घाँटीबाट अत्यन्त दर्दनाक स्वर निकाल्दै ऊ छटपटाउन थाल्यो । आलोक आत्तियो, ‘आमा के भयो पाङ्ग्रेलाई ? के भयो मेरो पाङ्ग्रेलाई ?’
उसले पाङ्ग्रेलाई आफ्नो काखमा लियो । आमाले भित्रबाट पानी ल्याएर पाङ्ग्रेको मुखमा हालिदिनुभो । पाङ्ग्रे एक पल्ट नराम्रोसँग छटपटाएर आफ्नो प्यारो आलोकको काखमा शान्त भयो । आलोकको आँखाबाट बलिन्द्र धारा आँसु खस्न थाले । उसको छाती भरियो, बोलीमा भक्कानु फुट्यो, ‘आमा ? के भयो मेरो पाङ्ग्रेलाई ?” मेरो पाङ्ग्रे म¥यो ? पाङ्ग्रे म¥यो?’
आमा केही बोल्न सक्नुभएन । उहाँका पनि आँखा भरिएर आए । अनि बल्ल छोरालाई पाङ्ग्रेको लासबाट तानेर माथि लग्नुभयो । पाङ्ग्रेलाई वीरेले लगेर बगैँचाको एउटा स्याउको बोटको फेदमा गाडिदियो । आलोक बेहाल थियो । ऊ दुई—तीन दिनसम्म रोइरह्यो । दुई दिनसम्म त खाना पनि राम्ररी खाएन । धेरै फकाएपछि बल्ल तल्ल सम्हालियो । बाबाले उसलाई खुसी तुल्याउन एउटा अर्को राम्रो छाउरो ल्याइदिनुभयो । तर आलोकले त्यसलाई हेर्दा पनि हेरेन । त्यसपछि उसले कुनै कुकुर पालेन ।

Literature: 
Language: