रमाइलो चाड फागु by रञ्जुश्री पराजुली

fagu-holi-jpg

शंकरलाई फागु पूर्णिमा कहिले आउँला र साथीहरुसँग फागु खेलौंला भन्ने हतार लागिरहेको थियो । उसलाई यो चाड धेरै रमाइलो लाग्छ यसपाली फागु खेल्न भनेर उसले पैसा पनि जोगाएर राखेको छ । भोलि फागु पूर्णिमा भएकोले ऊ आफ्नो मिल्ने साथी उमेशसँग आफूहरु यो पर्व कसरी मनाउने” भन्ने सल्लाह गर्न स्कुलबाट आए पछि उसको घर जान्छ ।

उमेशका बुबा बाहिर बगैंचामा टहलिरहेका थिए । शंकर उनलाई नमस्ते गर्दै “उमेश कहाँ छ काका ?” भनेर सोध्छ ।

“ओहो शंकरबाबु तिम्रो हालखबर कस्तो छ ? उमेश आफ्नै कोठामा होला । भित्र जाउ । आज तिमीहरुको के कुरा परेको छ ? तिमी हतारमा जस्तो देखिन्छौं नि”? “त्यस्तो केही होइन काका, तर भोलि फागु पूर्णिमा भएकोले हामी कसरी मनाउँने भन्ने कुरा उमेशसँग सल्लाह गर्न आएको ।”

“हुन्छ नि, केटाकेटीले चाडपर्वमा रमाइलो गर्नु पनि पर्छ । तर आजकल फागु खेल्ने भनेर बेला न कुबेला अफिस, स्कुल, कलेज जानेहरुलाई धेरै दिन आगाडि देखि लोलाले हिर्काउने गर्छन् जसले गर्दा बिना काममा झगडा र दुर्घटना बढिरहेको छ” उनले शंकरलाई संझाउँदै भने ।

“हो काका त्यो कुरा विलकुल साँचो हो । तर हामी त्यस्तो अप्रिय काम गर्दैनौं । हामी त परापूर्वकालदेखि मान्दै आएको हाम्रो संस्कृतिलाई जीवन्त राख्ने अनि मनोरञ्जन पनि गर्ने उद्धेश्यले मात्र फागु खेल्ने विचार गरेका छौं ।”

“त्यो त राम्रो कुरा हो । तिमीहरु जस्ता देशका कर्णधारहरुले यस्तै सोच लिएर अगाडि बढ्नु पर्छ अनि मात्र हामो संस्कृतिको संरक्षण हुन्छ ।”

“हामीबाट कुनै त्यस्तो अप्रिय काम हुँदैन काका” उमेशको बुबालाई विश्वस्त बनाउँदै शंकरले भन्यो ।

“तिमीहरुले फागु खेल्ने भनेपछि मलाई पनि आफूले खेलेको फागुको सम्झना आयो । हामी पनि खुब रमाएर यो चाड मनाउँदथ्यौं ।” आफ्नो बेलाको फागुको संस्मरण गर्दै उमेशका बुबाले भने । खेल्न मन नगर्नेलाई हामी कर गरेर रङ्ग अबीर छयाप्दैन थियौं । यो कुरा उमेशलाई पनि सुनाउनुपर्छ, पख म उसलाई बोलाउँछु भन्दै उनले –“उमेश बाहिर आऊ बाबु ? यहाँ तिम्रो साथी शंकर आएका छन्” भनेर बोलाए ।

“हस् बुबा म आएँ” उमेश बाहिर निस्कियो अनि “ओहो शंकर तिमी कुन बेला आएको ?” भनेर शंकरलाई सोध्यो ।

उमेशका बुबाले उनीहरुलाई तराईमा खेल्ने होली बारे पनि जानकारी दिए । तराईबासीहरु बीच होलीचाड ठूलो उत्साह र उमङ्गकासाथ मनाइन्छ । काठमाडौंमा दशै मनाएजस्तै गरी उनीहरु नाचँगान, मिठा खान–पान, नयाँ लुगाको साथमा मनाउँछन् ।

“तर यो चाड कहिले र कसरी शुरु भयो काका त्यो चाँही मलाई थाहा छैन । त्यसबारे केही जान्न मन लागेको छ मलाई ?” शंकरले जिज्ञाशु भएर उमेशको बुबालाई भन्यो ।

पौराणीक कथन अनुसार राजा हिरण्यकशिपुले त्रैलोकय विजय गरेर ज्यादै विलासीता पूर्वक भौतिकवादी शासन गर्दथ्ये तर उनका छोरा प्रल्हाद भने आध्यात्मिकतामा विश्वास गर्ने खालका थिए । त्यसो भएकोले ती बाबु छोराबीच वैमनस्यता उत्पन्न भएको थियो । हिरण्यकशिपुले प्रल्हादलाई आगोमा डढाएर मार्ने योजना बनाएका थिए ।

“भौतिकवादी भनेको के हो ?” उमेशले बुबालाई सोध्यो । भौतिकवादी भनेको भगवान्लाई विश्वास नगर्ने, विलासी जीवन विताउँनेलाई भनिन्छ ।” उनले स्पष्ट पार्दै भने ।

हिरण्यकशिपुले प्रल्हादलाई आगोमा फाल्दा पनि भगवान्को शक्तिले गर्दा उनलाई केहि पनि भएन । यस्तो हुनु विज्ञान अर्थात् भौतिकवाद प्रति आध्यात्मवादको विजय थियो । प्रल्हादको विजय अर्थात विज्ञानमाथि ज्ञानको विजय भएकोले समस्त देशवासी खुशी मनाउँदै विभिन्न रङ्गद्धारा होली खेलेर रमाइलो गरे । त्यसैबेला देखि होलीलाई मनाउँने प्रचलन चलिआएको रे ” उनले केटाहरुलाई बुझाउँदै भने ।

“बुबा अस्ति हजुरले मलाई भन्दा अर्को कुरा पनि भन्नुभएको थियो त्यो पनि शंकरलाई सुनाईदिनुस्न” बुबालाई संझाउँदै उमेशले भन्यो ।

फागु पर्वबारे अर्को भनाई पनि छ । महाभारत कथामा श्रीकृष्ण भगवानले महाराज युधिष्टिरलाई सुनाउनभएको एउटा प्रंसग पनि उनले ती केटाहरुलाई सुनाए जस अनुसार कुनै एक चक्रवर्ती राजाको राज्यमा एउटी दण्डा नाम गरेकी राक्षसीले केटाकेटीलाई अपहरण गर्ने र जनतालाई दुःख दिने गर्दथी । त्यसले साह्रै दुःख दिएकीले नारद ऋषिले फागु पूर्णिमाको दिन आफ्नो दैवी शक्तिले त्यसलाई भस्म गरिदिए । त्यस दुष्ट राक्षसीको मृत्य भएकोमा सबैले होली खेलेर रमाइलो गरी विजयोत्सब मनाए । होलीकालाई नष्ट गरेकोले यो पर्वको नाम होली रहेको हो भन्ने पौराणीक भनाई रहेको छ ।”

“होली कति दिन सम्म मनाइन्छ बुबा” भनेर उमेशले सोध्यो । “पहिले त आठ दिन मनाउँने चलन थियो तर आजकल पूर्णिमाको दिनमात्र मनाउँने चलन छ । यसको पहिलो दिन हनुमान ढोकामा चीर (रुखको हाँगो) गाडिन्छ । त्यसलाई रङ्गिविरङ्गी ध्वजाले सिंगारिन्छ त्यसलाई पुजा गरिन्छ र गाना बजाना गरेर होली पर्वको प्रारम्भ गरिन्छ । आठ दिन पछि त्यसलाई ढालेर विधिपूर्वक सल्काएर भस्म गरिन्छ । मैले त तिमीहरुलाई फागुबारे सबैकुरा भनिसकेछु, अब तिमीहरु पनि कुनै उपद्रो नगरिकन रमाएर यो पर्व मनाउँनु है त म आफ्नो कामतिर लागे” भन्दै हिडे ।

शंकर र उमेश दुबैले एउटै स्वरमा “हस्” भने ।

Literature: 
Language: