माननीय शिक्षा मन्त्री श्रीमती चित्रलेखा यादव पुस्तक पढ्ने बानी र कथावाचनको तारिफ गर्दै भन्नु हुन्छ,

gsmp-project, 2014

१. जसरी घर बनाउँदा बलियो जग बनायौं भने दसौं तलासम्म अग्लो घर बनाउन पनि सकिन्छ, त्यस्तै बालबालिकामा सानैदेखि पुस्तक पढ्ने बानीको विकास गराउनु भनेको उसको ज्ञान र विवेकलाई फराकिलो बनाउँदै लैजानु हो । जसले उनीहरुलाई जीवनमा सफल र असल मान्छे बन्न सहयोग गर्छ ।

२. म पनि सानोमा खूब कथा सुन्थे, मलाई कथा सुन्न मज्जा लाग्छ । तराईतिर जाडोमा आगो बालेर (घुरमा) वरिपरि बस्ने चलन छ । त्यसरी बस्दा हजुरबाहरुले कथा सुनाउनु हुन्थ्यो अनि कोठामा सुत्न जाँदा हजुरआमाहरुले कथा सुनाउनु हुन्थ्यो । ती कथा असाध्यै रमाइला हुन्थे । ती कथाले नै मलाई जीवनमा मिहिनेत गर्न र अनुशासनमा बस्न सिकाए । ती कथाले मेरो जीवनमा धेरै ठूलो उर्जा प्रदान गरे । त्यसैले कथा सुन्न पाउने बालबालिका भाग्यमानी हुन् जस्तो मलाई लाग्छ । मेरो छोरो जो अमेरिकामा बसेर पढ्छ, उसले नि अस्ति घर आएको बेला ९० वर्षकी हजुरआमालाई बच्चामा सुनाएको कथा फेरि भनिदिनुस् न भनेर अनुरोध गर्यो । वास्तवमा उसमा ती कथाको अमिट छाप बसिरहेको देखेर म छक्क परेँ । वास्तवमै कथावाचन र कथाका किताब पढ्ने बानी मानव जीवनकै महत्वपूर्ण कार्य हुन् भन्ने मलाई लाग्छ । त्यसैले म हरेक बालबालिकालाई कथा भन्न र हरेक दिन घर फर्कंदा उनीहरुलाई थरीथरीका बालसाहित्यका किताब उपहार लगेर दिन अनुरोध गर्दछु ।
(रिड सूचना तथा स्रोत केन्द्रको आयोजना, रिड नेपालको विशेष सहयोगमा मिति २०७१ माघ २० गते हजुरबाहजुरआमाको कथा मेरो चित्र परियोजनाको क्रममा तयार गरिएका पाँचवटा जिल्लाका बालकथाकृति विमोचन गरेपछि उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा मा. शिक्षामन्त्रीले व्यक्त गर्नुभएको विचार ।)

Language: