ज्ञानको उज्यालो छर्दै रीड नेपाल

gsmp-project-at-panauti

रीड नेपालको कार्यक्रममा नेपाल बालसाहित्य समाजले संयोजन गरेको 'हजुरबाहजुरआमाको कथा, मेरो चित्र' परियोजना अन्तर्गत् बालबालिकालाई कथालेखनबारे तालिम दिने र कथावाचन गर्ने जिम्मेवारी पाएर प्रशिक्षकका रुपमा यसपटक रीड नेपालले काम गरेका ५ वटा जिल्लामा पुग्ने मौका मिल्यो ।
हुन त यस अघि रीड नेपालको बारेमा धेरै सुनेको थिएँ । काठमाडौंमा बसेर रीड नेपाल र टेम्पस इन्टरनेसनलले आयोजना गरेको राष्ट्रिय बालकथा प्रतियोगिताको ‘बालकथाको फूलबारी’ नामक कृति सम्पादन गर्ने मौका पनि अग्रज दाजु डा. कविताराम श्रेष्ठसँगै मिलेको थियो ।
तर यसपटक अवस्था अलि भिन्न थियो । रीडले गरेको काम प्रत्यक्ष हेर्ने मौका प्राप्त हुँदै थियो । पहिलो यात्रा चितवन जिल्लाको भयो । झुवानी सामुदायिक पुस्तकालयमा पुगेर रीडको काम हेर्ने पहिलो मौका मिल्यो । झुवानीमा नौ वर्ष अघि काठमाडौंमा भेट भएका बालबालिकाको हितमा सक्रिय मित्र केशवराज आचार्य भेटिए । उनी नै त्यस पुस्तकालयको अध्यक्ष रहेछन् । त्यसपछि उनकै मुखबाट पुस्तकालयको सुखदुःखको कथा सुन्ने मौका मिल्यो । एउटा दुर्गम गाउँका बालबालिका र युवालाई सूचना संजालमा जोड्ने रीडको काइदा तारिफयोग्य लाग्यो । अनि त्यो पुस्तकालयमा बसेर पढिरहेका बालकसँगको भेट पनि कहिले बिर्सिन नसक्ने बन्यो ।
जुन यस्तो थियो,
एउटा बालक मेरो ‘अचम्मको देश’ बालउपन्यासको किताबमा उड्ने घरको कथा पढेर अन्तिम पेजमा रहेको मेरो परिचय र फोटो हेरेर उनी केही सोच्दै थिए, तर अकस्मात् मलाई ठीक आफ्नो अगाडि देख्दा उनी पक्क परे । प्याट्ट पिटेर रामराम भन्दा उड्ने र प्याट्ट पिटेर बिरामबिराम भन्दा टक्क भूइँमा बस्ने त्यो उपन्यासको अचम्मको पात्र उड्ने घरबारे उनले उत्साहका साथ गफ गरे । त्यसपछि ‘डस्टर उड्यो’ शीर्षकको कथा भन्छु भनेर  चार लाइनमात्र के भनेको थिएँ – मैले यो कथा पढेको छु, अलि पछाडि उभिएका किशोरले कराउँदै भने । ‘मुना’ पत्रिकामा पढेको उनी झन् हौसिंदै कराए ।
यसरी यस्तै मौका प्राप्त भई लक्ष्मी नारायण पुस्तकालय, बेशी सहर लमजुङ, बडिखेल ललितपुर, कुमरी गाउँ नुवाकोट र ज्ञानविकास सामुदायिक पुस्तकालय, पनौती, काभ्रेमा गई रीडले बनाएका पुस्तकालय हेर्ने अवसर मिल्यो । लमजुङका गणेश न्यौपाने हुन् वा पनौतीका महेशकुमार कर्माचार्य हुन् । सबैको सक्रियता लोभलाग्दो थियो । वास्तवमा पुस्तकालयमा उत्साहकासाथ किताब पढिरहेका केटाकेटीको अनुहारमा छाएको खुसी, ओठमा खुलेको मन्द मुस्कान र किबोर्डमा हातका औंला नचाएर विश्वसँग साक्षात्कार गर्ने हतियार चलाउने कला सिक्न खोज्दै गरेका उत्साही किशोरकिशोरीहरुको लहरमा मैले रीड नेपालले बालबालिकाको साथमा बनाउँदै गरेको नेपालको उज्यालो तस्विर देखें । पुस्तक पढौं भन्दै बालबालिकामाझमा आफ्नो कथा भन्दै र उनीहरुका कथा सुन्दै हिँडेको यो लामो समयको अन्तरालमा रीड नेपालको पुस्तकालयमा आएका विद्यार्थीको उत्साहमा मैले ज्ञानको उज्यालो किरण देखें । पूर्णतया नेपाली नागरिकहरुकै सक्रियतामा ‘हामी सक्छौं’ अभियानबाट नै सम्पूर्ण रकमको व्यवस्था  मिलाएर असि लाख संकलन गरी भवन निर्माण पूरा गरी यही २०७१ भाद्र १५ गते उद्घाटन गरी नयाँ भवनमा पुस्तकालय सुचारु हुने तयारीमा रहेको ज्ञानविकास सामुदायिक पुस्तकालय (पनौती, काभ्रे) ले पक्कै यस भेगका जनताको सूचना, ज्ञान र मनोरन्जन प्राप्त गर्ने भोक मेटाउन महत्वपूण योगदान दिने नै छ भन्ने कुरामा म विश्वस्त रहेको छु ।
आजका मितिबाट मलाई विश्वास भएको छ, रीडको यो सक्रियताले बालबालिकाको जीवनमा भव्य परिवर्तनका लागि ठोस योगदान गर्ने छ । धन्य छ रीड नेपाल, रीड नेपालका सहयोगी हातहरुलाई सलाम छ । साथै मेरो यो यात्राका सहयात्री रीड नेपालका मित्रहरु दुर्गेस योगी र रन्जना बिष्ट सुवेदी अनि नेपाल बालसाहित्य समाजका मित्रहरु डा. ध्रुव घिमिरे, यशु श्रेष्ठ, एकाराम सिंह र अनुराधा शर्मा एवं नेपाल बालसाहित्य समाजका अध्यक्ष भिक्टर प्रधान, यी सबैलाई सहयोग, सद्भाव र अवसरका लागि हार्दिक धन्यवाद छ । (Photo by Anuradha /span>

Segment: 
Language: