रिया आइडल प्रतियोगिता सम्पन्न

relience-idol-2014

माधव अधिकारी
काठमाडौँ
रिलायन्स इन्टरनेसनल एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको रिया आइडल प्रतियोगिता आइतबार सम्पन्न भएको छ । नृत्य र गायन विधामा विगत चारवर्षदेखि भव्य रुपमा आयोजना हुँदै आएको यस कार्यक्रमको चौथो श्रृङ्खलामा ३८ जना प्रतियोगीहरू अन्तिम प्रतिष्पर्धीका रुपमा सहभागी थिए ।

वरिष्ठ गायिका ज्ञानु राणाको प्रमुख आतिथ्य तथा विद्यालयका संस्थापक प्रिन्सिपल खेमलाल भुसालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन विद्यालयका प्राइमरी कोअर्डिनेटर शंकर पौडेलले गर्नुभएको थियो । बिहान ११ बजे सुरु भई दिउँसो ३ः३० बजे समापन भएको प्रतियोगितामा प्राथमिक र माध्यमिक समूहअन्तर्गत नृत्य र गायनतर्फ उत्कृष्ट तीन—तीन जना गरी १२ जना विद्यार्थीहरूलाई प्रमाणपत्र, ट्रफी र पदकद्वारा पुरस्कृत गरियो ।
प्रतियोगितामा माध्यमिक समूह अन्तर्गत गायनतर्फ उत्साह लामा, मेहराज बुढाथोकी क्रमशः प्रथम, द्वितीय भएका थिए भने पुजा राउत र नवीना नेपाले तृतीय स्थान हासिल गर्न सफल भएका थिए । त्यसैगरी प्राथमिकतर्फ राज चौहान, दिव्य दृष्टि थकुल्ला, सृजन श्रेष्ठले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भए । नृत्यतर्फ माध्यमिक समूह अन्तर्गत क्रमशः स्मृति रेग्मी, लक्ष्मी बराइली, निमा छिरिङ शेर्पा प्रथम, द्वितीय र तृतीय भएका छन् भने प्राथमिक समूह अन्तर्गत क्रमशः रुजनल राई, कृतन वाग्ले, नानुसा राई प्रथम, द्वितीय र तृतीय हुन सफल भए । गायनतर्फ निर्णायकको भूमिकामा युवा गायक तथा संगीतकार मनोज राज रहनुभएको थियो भने नृत्य विधातर्फ दक्षिणा लामा र महेश थापाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
रिलायन्स इन्टरनेसनल एकेडेमीले कला, साहित्य, खेलकुद आदि गतिविधिलाई पढाइकै अभिन्न अंगका रुपमा सञ्चालन गर्दै आएको छ । विविध अतिरिक्त क्रियाकलापलाई नियमित र व्यवस्थित गर्न विद्यालयले सहायक प्रिन्सिपल दामोदर निरौलाको संयोजकत्वमा छुट्टै अतिरिक्त क्रियाकलाप विभागको स्थापना गरेको र उक्त विभागले विद्यार्थीहरूको चौतर्फी व्यक्तित्व विकासका लागि दर्जनौँ विधामा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिरहेको विद्यालय जनाएको छ ।
कार्यक्रमको अन्त्यमा विद्यार्थीको आन्तरिक प्रतिभाको प्रष्फुटन गराउन विद्यालयले यस्ता कार्यक्रमहरू आयोजना गर्नु अनुकरणीय र प्रशंसनीय भएको उल्लेख गर्दै प्रमुख अतिथि ज्ञानु राणाले पुरस्कृत विद्यार्थीहरूलाई बधाई र शुभकामना दिँदै आफ्ना केही चर्चित गीतहरू गाएर दर्शकहरूलाई मन्त्रमुग्ध पार्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथि राणालाई विद्यालयका प्रिन्सिपलले दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो ।

Segment: 
Language: