नेपाली बालसाहित्य प्रतिष्ठान गठन

silgadhi-news

सिलिगडी, भारत
राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा बालसाहित्यको बिस्तार र विकासका लागि काम गर्ने उद्देश्यसहित आज सिलगडीको समाजेवा समिति, शास्त्रीनगरमा आयोजित लेखकहरुको भेलाले नेपाली बालसाहित्य प्रतिष्ठान, पूर्वोत्तर, भारतको ५ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

सिलगडीका बालसाहित्य लेखक, अन्वेषक मुक्ति उपाध्याय बरालको संयोजकत्वमा गठित उक्त समितिका सदस्यहरुमा बालसाहित्यतर्फ साहित्य अकादमी पुरस्कार २०११ प्राप्त लेखिका स्नेह लता राई (दार्जिलिङ), बालसाहित्यतर्फ साहित्य अकादमी पुरस्कार २०१२ प्राप्त लेखक शिशुपाल शर्मा (खरसाङ), बालपत्रिकाका सम्पादक भीम प्रधान (सिक्किम) र थमन नौबाग (सिक्किम) रहनु भएको छ । यो तदर्थ समितिले तिन महिनाभित्र बालसाहित्य लेखकहरुको बृहत् भेला गरी नेपाली बालसाहित्य प्रतिष्ठान, पूर्वोत्तर, भारतको कार्यसमिति चयन गर्ने छ ।
बालसाहित्य प्रतिष्ठान नेपाल, काठमाडौंका मानार्थ सदस्य एवं वरिष्ठ लेखक नगेन्द्र शर्माको सभापतित्वमा सम्पन्न उक्त सभामा बालसाहित्य प्रतिष्ठान, काठमाडौंका अध्यक्ष कार्तिकेयले नेपाली भाषामा रचना गरिएका भारत सरकारबाट बालसाहित्य तर्फ साहित्य अकादमी पुरस्कारबाट पुरस्कृत उत्कृष्ट बालसाहित्यहरुको नेपाल संस्करण काठमाडौंमा रहेको प्रकाशन संस्था बुकआर्ट नेपालले प्रकाशन गर्ने र त्यसको संयोजन बालसाहित्य प्रतिष्ठान काठमाडौंले गर्ने बताउनु भएको थियो । उक्त अवसरमा बालसाहित्य प्रतिष्ठान काठमाडौंको तर्फबाट साहित्य अकादमी बालसाहित्य पुरस्कार विजेता लेखकहरु स्नेहलता राई, शिशुपाल शर्मा, ८० अंकसम्म निरन्तर बालपत्रिका प्रकाशन र सम्पादन गर्ने समर्पित व्यक्तित्व सम्पादक भीम प्रधान र वरिष्ठ पत्रकार, हिमालय दर्पण दैनिकका कार्यकारी सम्पादक एवं अनुवादक युवराज काफ्लेलाई खादा ओढाएर सम्मान गरिएको थियो । साथै कार्यक्रममा नेपालका २५ जना लेखकहरुको बालकथाहरुको संग्रह बंगाली र आसामी भाषामा प्रकाशन गरिने निर्णय पनि गरिएको थियो ।

Segment: 
Language: