बार्बी डल by मीना बज्राचार्य

meena bajcharya-ktm

सदिक्षा र क्रिष्मा बार्बी डलसित खेलिरहेका थिए । त्यतिनै बेला सुबिर एक्कासी आएर तिनीहरुको हातबाट बार्बी डल खोसेर लगे । त्यसपछि दुबैजनाले सुबिरलाई लखेटे । तर ऊ घोडाजस्तो तेजले दौड्न सक्ने भएकोले उनीहरुले भेट्टाउन सकेनन् । क्रिष्माको सबभन्दा प्यारो पुतली बार्बी डल नै सुबिरले लिएर भागेकोले क्रिष्मा क्वाँ क्वाँ रोइन् ।
क्रिस्मा रोएको आवाज सुनेर सुबिरले बार्बी डललाइर्, “ला ले तेरो पुतली” भनेर परबाटै फ्याँकीदियो । टाढैबाट फ्याँकेकोले बार्बी डलको हातखुट्टा र टाउको छुट्टाछुट्टै उछिटिएर गयो । बार्बी डल बिग्रेको हुनाले क्रिष्मा झन बेस्सरी रोइन् । सदिक्षाले क्रिस्मालाई फकाएर भनिन्, “भइगो भइगो क्रिष्मा नरोउ, बरु जाउँ मेरो घरमा । म मम्मीसँग सुपरग्लु माग्छु, अनि हामी दुबै मिलेर  जोडौंला । अबदेखि त्यो बदमाश सुबिरलाई हामी कहिल्यै नबोल्ने है ?”
उनीहरुको कुरा सुनेर सुबिरले झन हाँसेर झिस्काउँदै भन्यो, “ऐ ! रुन्ची, के तिम्रो बार्बी डल म¥यो भनेर रोएकी ? हा...हा...हा...”
क्रिष्माले रुँदै सुबिरलाई गालि गरीन्, “बदमाश बाँदर ! नकरा धेरै । पख न मेरो काकालाई भन्दिन्छु । उहाँले मलाई मेरो जन्मदिनमा गिफ्ट दिनुभएको बार्बी डललाई तैंले बिगारिदिएको भनेर ।”
बाँदरको जस्तो अनुहार गरेर झन सुबिरले उनीहरुलाई झिस्काउँदै मरी मरी हाँस्यो । सदिक्षा र क्रिस्मा भने ऊदेखि रिसाउँदै आफ्नो बाटो लागे ।
सुबिर ज्यादै चकचके र बदमाश भएकोले उनलाई टोलका र स्कूलका साथीहरु कसैले पनि मनपराउँदैन थियो । उनले सबैलाई जिस्काउँने, झगडा गर्ने र अरुको खेलौना बिगारिदिने काम गरेर दुःख दिन्थ्यो । त्यसैले उसँग कोही पनि साथीहरु खेल्दैखेल्दैनथ्यो ।
एकदिन सुबिरको मामाले अमेरिकाबाट उसकोलागि भनेर खेलौना भएको एउटा बाकस पठाईदिनु भयो । त्यसमा मोटर गाडी, हवाइजहाज र बार्बी डल पनि थियो । सुबिर ज्यादै खुशी हुँदै साथीहरुलाई देखाउन भनेर आए । तर सुबिर आइरहेको देख्नासाथ सबैजना अर्कैतिर जानलागे । त्यसरी सबै जानलागेको देखेर सुबिरले नम्र हुँदै भन्यो, “हेर साथीहरु हो ! मसँग कति राम्रा राम्रा खेलौनाहरु छन्, यी सबै खेलौना अमेरिकाबाट मामाले पठाउँनु भएको हो । यो हवाइजहाज अन ग¥यो कि एकतल्लामाथि सम्म उड्छ । अनि यो गाडिमा दम दियो भने क्या फास्टले गुड्छ । अनि यो बार्बीडल त झन नाच्छ बाबै । ल हेर्ने ?”
तर उनको कुरामा कसैले चासो देखाएनन् । बरु बोल्दै नबोलि सबैजना गए । त्यसपछि अलि पर क्रिस्मा र सदिक्षा खेलिरहेको देखेर सुबिर उतै गयो र भन्यो, “हेर क्रिष्मा, हेर सदिक्षा, मसँग कस्तो राम्रो बार्बी डल छ । यो त तेरो जस्तो होइन गीत गाएर नाच्छ बाबै ।” दुवैजना एकछिन सुबिरको बार्बी डललाई हेरेर ट्वाल्ल परीन् । फेरि क्रिष्माले आफ्नो बार्बीडललाई एकपटक नियालिन् । अनि आँखाभरि आँसु राखेर गईन् । क्रिष्माको पछिपछि सदिक्षा पनि गईन् ।
सुबिरलाई नरमाइलो लाग्यो । त्यत्रो खेलौना हुँदा पनि उसँग कोही खेल्न आएनन् । त्यसपछि दिक्क भएर घरमै फक्र्यो र खाटमा पल्ट्यो ।
सुबिरलाई क्रिष्माको बार्बी डलले लखेट्यो । ऊ पहाडमा चढ्यो । त्यहाँ पनि उनलाई बार्बी डलले छोडिनन् । अनि भाग्ने ठाउँ नै नभएपछि सुबिर बचाउ बचाउ भन्दै चिच्यायो । त्यसपछि बार्बी डलले भनिन्, “बदमाश तैंले मलाई फ्याँकेर मेरो हातखुट्टा भाँचिदिएको होइन ? अब म पनि तँलाई यही पहाडबाट खसालिदिन्छु । हा...हा...हा...” बार्बी डल यसरी हाँसेको देखेर सुबिर डराउँदै भन्यो, “बार्बी डल भनेको त निर्जिव वस्तु होइन ? अनि तिमीले कसरी मलाई फ्याँक्न सक्छ््यौ ?”
बार्बी डल फेरि कड्केर बोलिन्, “ल मैले मानें म त निर्जिव वस्तु रे तर मुर्ख तैंले सबै साथीहरुलाई पनि त दुःख दिइस् नि । अब म तँलाई छोड्दिन ।” यति भन्दै बार्बी डलले सुबिरलाई धकेल्न अघि बढ्यो । अनि सुबिर बेस्सरी चिच्यायो । सुबिर कराएको आवाज सुनेर उनको हजूरआमाले उठाउँदै भन्नुभयो, “बाबु नाति के भयो ? किन यसरी चिच्याएको ? हेर कस्तो चिट्चिट् पसिना आएको, के तिमीले नराम्रो सपना देख्यौ कि के हो ?”
“हो हजूरआमा मलाई त सपनामा त्यो क्रिष्माको बार्बीडलले पहाडबाट धकेलेको नि । के त्यस्तो जाबो पुतलीले पनि बदला लिन्छ त ?”
“बाबु तिमीले अस्ति क्रिष्माको पुतली बिगारिदिएकोले उनी कति रोइन् भनेर उनकी आमाले भन्नुभएको थियो । तिमीले किन साथीको पुतली बिगारेको ? त्यस्तो नराम्रो बदमाशी काम पनि गर्नुहुन्छ त ?”
“हजुरआमा मैले गल्ती गरें “आइ एम सरी”, अबदेखि म त्यस्तो बदमासी गर्दिन । हेर्नोस् न हजुरआमा मसँग कोही पनि खेल्दैनन् । अनि कसैले पनि मलाई बोल्दैनन् । बरु म यो बार्बीडल क्रिष्मालाई दिउँ ?”
“स्याबास नाति ! बल्ल तिम्रो आँखा खुल्यो । अनि यो “सरी” भनेर मलाई होइन क्रिष्मालाई भन । जाउ नाति, तिमी केटामान्छेलाई यो पुतली के काम ? उनलाई दिएर आउ ।” हजुरआमा खुशी भएर भनिन् ।
सुबिर, क्रिष्माको घरमा गयो र उनको घरको दैलोमा गएर घण्टी बजाए । ढोका क्रिस्माले नै खोलिन् । सुबिरलाई देख्नासाथ क्रिष्माले ध्याम्म ढोका बन्द गरीन् । सुबिरले “आइ एम सरी” क्रिष्मा ढोका खोल न । म तिमीलाई बार्बीडल दिन आएको ।” उनको कुरा क्रिष्माले पत्याइन । तर सुबिरले माफी मागेको सुनेर क्रिस्माको आमाले ढोका खालिदिनुभयो, अनि सुबिरले फेरि माफी माग्दै रुन्चे स्वरमा भन्यो, “आन्टी मलाई माफ गरिदिनुहोस् । अबदेखि म कहिल्यै बदमासी काम गर्दिन । क्रिष्मालाई मैले उनको बार्बीडल बिगारेको बदलामा यो बार्बीडल दिन आएको हुँ । प्लीज आन्टी क्रिष्मालाई मसँग बोल भन्दिनुहोस् न ।”
सुबिरको कुराले क्रिष्माको आमा खुशी हुँदै क्रिष्मालाई बोलाउनुभयो र अबदेखि साथी साथी मिलेर खेल भन्नुभयो । त्यसपछि क्रिष्माले सुबिरतिर बिस्तारै आफ्नो हात अघि बढाइन् । दुबैजनाले हात मिलाए । त्यही बेला सदिक्षा र अरु साथीहरु पनि खेल्न भनेर आए । सुबिरले आफुलाई बार्बीडल दिएको भनेर क्रिष्माले देखाइन् । अनि सबैजना मिलेर रमाइलोसँग खेल्न थाले ।

Literature: