ह्याप्पी लाईफ होममा बालसहित्यको ह्याप्पी रमाइलो 

story telling at happy life home-

कीर्तिपुर, काठमाडौं, २०७४, असार २४ गते ।

कथावाचन कार्यक्रममा रमाएर मोटे फर्सी बहादुर’ को चित्र बनाए कपिल लोहारले । त्यसपछि उनले ‘नमस्ते, फर्सी बहादुर भने’ अनि आफैं खितित्त हाँसे । उनी सफलता शिक्षा शिक्षा सदन स्कुलमा कक्षा ७ मा पढ्छन् । 

गत शनिवार दिउँसो ह्याप्पी लाईफ होम कीर्तिपुरको वातावरण अर्कै थियो । बाहिर चर्को घाम लागिरहेको थियो । भित्र बालबालिकाहरु ‘डस्टर उड्यो’ र ‘फर्सी बहादुरको कथा’ सुनेर रमाइरहेका थिए । कथा भन्न पुगेका थिए कथावाचक कार्तिकेय । उनले बालबालिकालाई ‘फुच्ची नानी सूर्य भेट्न गइन्’, ‘आमा, पपी छुट्यो’ लगायत आफूले रचना गरेका रमाइला–रमाइला कथाहरु सुनाए । 

कथा सुन्दै जाँदा बालबालिकाहरु दङ्ग परे । 

‘लौ अब चित्र कोर्ने अनि कथा लेख्ने !’

यो आवाजसँगै बालबालिका कथाका पात्रमा हराउन थाले । उनीहरु कथामा भएका पात्रको कल्पना गर्दै थरीथरीका चित्र कोर्न थाले, अनि एक अर्काको चित्र हेर्दै झन बढी रमाए ।

यसरी शनिवारको विदाको दिन सफलता शिक्षा सदन, कीर्तिपुरमा पढ्दै ह्याप्पी लाईफ होममा आश्रित २२ बालबालिकाले कथाको रमाइलोमा २ घन्टा समय बिताए । उनीहरुलाई यो अवसर समाजसेवी प्रा.डा. अच्युतमणि आचार्यको सौजन्यमा बालसाहित्य प्रतिष्ठान नेपालले प्रदान गरेको थियो । प्रतिष्ठानले फरक परिवेशका बालबालिका माझमा माउन्ट एभरेष्ट कथावाचन अभियान चलाइरहेको छ । यस अभियानले हालसम्म देशको ३७ जिल्लामा कथावाचन गरिसकेको कुरा प्रतिष्ठानका संरक्षक प्रा.डा. अच्युतमणि आचार्यले बताए । 

यसरी २४ गते शनिवार ह्याप्पी लाईफ होममा बालसहित्यको ह्याप्पी रमाइलो कार्यक्रम सम्पन्न भयो । कार्यक्रम सकिएपछि मीठो खाजा खाँदै बुकआर्ट नेपालबाट उपहार प्राप्त बालपुस्तकहरु आफ्नो दराजमा सजाएर बालबालिकाहरु सहयोगी सबैप्रति कृतज्ञ भए ।

Segment: