भूकम्पबाट त्रसित बालबालिकामाझमा कथावाचन

story-telling-program

बालसाहित्यको प्रवर्धनका लागि समर्पित संस्थाहरु नेपाल बालसाहित्य समाज, बालसाहित्य प्रतिष्ठान नेपाल र केटाकेटी मिडियाले छुट्टाछुट्टै कार्यक्रम गरी भूकम्पबाट त्रसित बालबालिकालाई मनोरन्जन र हौसला प्रदान गर्ने जमर्को गरेका  छन् । 

नेपाल बालसाहित्य समाजले धर्मस्थली र वालाजुमा विद्यार्थीहरुका लागि कथावाचन कार्यक्रम र शिक्षकहरुका लागि यस विशेष अवस्थामा मैत्रीपूर्ण शिक्षणका लागि कथावाचनको महत्वबारे प्रशिक्षण दिएको थियो । यस कार्यक्रममा लेखकहरु प्रा. डा. चूडामणि बन्धु, विश्वम्भर चन्चल, डा. ध्रुव घिमिरे, डा. शैलेन्दु प्रकाश नेपाल, शास्वत पराजुली, रेणुका थापा शोलु, गङ्गा पौडेल, सुशीला प्रधानाङ्ग, यशु श्रेष्ठ, छाया दत्त न्यौपाने, कार्तिकेय र वरिष्ठ गायक एवम् सङ्गीतकार रामकृष्ण दुवालले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा सहभागी बालबालिका र शिक्षकहरुलाई बालकथाका पुस्तकहरु पनि उपहार प्रदान गरिएको थियो । समाजलाई मेला बुक्स, स्वदेश प्रकाशन, केटाकेटी मिडिया, बालसंसार प्रकाशन र रुम टु रीडले पुस्तक उपहार दिएर सघाएका थिए । 

त्यस्तै बालसाहित्य प्रतिष्ठान र केटाकेटी मिडियाको आयोजनामा काठमाडौंको भृकुटी मण्डपमा, ललितपुरमा मदरहुड केयर नेपालको बालगृहमा आश्रित बालबालिकामाझमा र अर्किड नेपालका बालबालिकामाझमा कथावाचन तथा प्रतिभा प्रदर्शनको कार्यक्रम सम्पन्न भएको छ । लेखक कार्तिकेयले रमाइला कथाहरु वाचन गर्नु भएको यस समारोहमा सहभागी बालबालिकाले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । सहभागीलाई कथाको किताब पनि उपहार दिइएको थियो ।

Segment: 
Language: