नेपाली भाषाको अनादर

                           सुभद्रा गौतम
केही दिन अघिको कुरा हो । म राजधानीका विभिन्न विद्यालयहरुमा बालबालिकाका रचनाहरु संकलन गर्दै थिएँ । केटाकेटी नेपाली भाषामा प्रकाशित हुने बालपत्रिका हो । यसै पत्रिकाका लागि बालबालिकाका रचनाहरु संकलन गरिएको हो । यसै सन्दर्भमा म राजधानीको प्रतिष्ठित निजी विद्यालयमा पुगेको थिएँ । त्यस विद्यालयका सहायक प्रधानाध्यापकलाई आफ्नो पत्रिका देखाउँदै कुरा गर्दै थिएँ ।
उनले नेपाली भाषामा मात्र प्रकाशित हुने भनेर पहिल्यै नाक खुम्च्याए । मैले नेपाली भाषामा प्रकाशन गर्नुको कारण स्पष्ट पारेर केही नमुना सामग्रीहरु पढ्न आग्रह गरें । साथै त्यस विद्यालयका बालबालिकाले सिर्जना गरेका नेपाली भाषाका रचना र चित्रकलाहरु दिनका लागि आग्रह गरें ।
उनले तुरून्तै नेपाली विषयका विषय शिक्षकलाई डाकेर म सँग कुरा गर्न भने । साथै मैले देखाएका सामग्री पनि नेपाली शिक्षकलाई नै पढ्न भनियो । म एकछिन अलमल्ल परें । किनकि उनी नेपाली नागरिक नै थिए । त्यसपछि मैले भनें– ‘सर तपाई नेपाली पढ्न सक्नुहुन्न र ?’ उनी केही बेर अक्मकिए र भने ‘सक्छु , तैपनि सम्बन्धित शिक्षकलाई नै पढ्न दिन भनेको ।’
मैले त्यो संवादलाई त्यही अन्त्य गर्न उचित ठानें । किनकि म त्यहाँ विद्यालय प्रशासनसँग भाषाका बारेमा विवाद गर्न गएकी थिइँन । तर मलाई यो विषयले निकै दिन सम्म पिरोलिरह्यो । म जति पनि ठूला–साना भनिएका निजी विद्यालयहरूमा गएँ, ती सबैमा एकै किसिमको संस्कार र माहौल पाएँ । अँग्रेजी, अँग्रेजी, अँग्रेजी, केवल  अँग्रेजी ।
म पनि अँग्रेजी भाषाको विरोधी होइन । हो, म पनि अँग्रेजी भाषालाई सम्मान गर्छु । आवश्यकता अनुसार यसको प्रयोग पनि गर्छु । अँग्रेजी अन्तर्राष्ट्रिय भाषा हो । अहिलेको जस्तो विश्वव्यापीकरणको युगमा अँग्रेजी भाषालाई लत्याउनु भनेको आफूले आफैंलाई पछाडि थकेल्नु हो । समयको उल्टो गतिमा हिड्न खोज्नु जस्तै हो ।
तर यसको मतलब नेपाली भाषालाई अनादर गर्नै पर्छ भन्ने चाँिह म मान्न सक्दिन । नेपाली हाम्रो राष्ट्रिय भाषा हो । हाम्रो साझा पहिचान अनि सम्पर्क भाषा पनि हो । नेपाली भाषा बोल्नै नहुने । नेपाली बोल्नेलाई होच्याउने कस्तो संस्कारको विकास गरिरहेका छन् निजी विद्यालयहरुले ? आफ्नै राष्ट्रिय भाषा प्रति किन यति धेरै वितृष्णा ?
अँग्रेजी विषयमा फेल हुनु हाम्रा लागि लज्जाजनक नहुने । तर हामी हाम्रै आफ्नै राष्ट्रिय भाषा नेपाली विषयमा फेल हुँदा स्वाभिमानको विषय हुने ? आखिर किन ? मैले धेरै अभिभावकहरु देखेकी छु । जो आफ्ना छोराछोरीले अँग्रेजीमा धेरै नम्बर ल्याएर नेपाली विषयमा फेलै भए पनि त्यत्ति निराश देखिदैनन् । उनीहरु भन्छन् –‘नेपालीमा त फेल भएछ नि ! अँग्रेजी त राम्रो गरेको छ ।’ त्यति मात्रै होइन । एकजना आफन्तको  तीन कक्षामा पढ्ने छोराले सरल नेपाली भाषामा लेखिएको बालकथा पढ्न नसकेको देखेर म त हैरानै भएँ । तर उसकी आमा दंग थिइन् । किनकि उनको छोरो अँग्रेजी मात्रै जान्दछ ।
मलाई उनको छोराले अँग्रेजी जानेकोमा कुनै आपत्ति होइन । अँग्रेजी जान्नु पनि पर्छ । बजारमा प्रतिस्पर्धामा आउनका लागि बजारको माग अनुुसारको विषयको ज्ञान हुनुपर्छ । तर यसको मतलब आफ्नै भाषामा कमजोर नै हुनुपर्छ भन्ने त होइन नि ! नेपाली भाषा, हामी मध्ये धेरैको मातृभाषा पनि हो । एकअर्का बीचको संचारको भाषा अनि सम्पर्क भाषा हो । अनि आफ्नै राष्ट्रिय भाषा अशुद्ध लेख्नु, अशुद्ध बोल्नु, परीक्षामा फेलै हुनु कतिसम्मको नालायकीपन हो ? नेपाली भाषा नजान्नु र परीक्षामा फेल हुनु जति लाजमर्दो कुरा हाम्रा लागि अरु हुनै सक्दैन ।
किनकि भाषाप्रतिको सम्मान नरहे हामी नेपाली हुनुको के अस्तित्व नै रह्यो र !

Opinion: