अमेरिकामा एकै दिनमा १० लाख संक्रमण

अमेरिकामा एकै दिनमा १० लाख कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । यो विश्वकै हालसम्मकै दैनिक उच्च संक्रमण हो । द्रुत गतिमा संक्रमण फैलने कोरोनाको ‌ओमिक्रोन भेरियन्टका कारण संक्रमण दर अझै उच्च गतिमा बढ्ने अनुमान अधिकारीहरुले गरेका छन् ।

जोन्स हप्किन्स विश्व विद्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अमेरिकामा गत सोमबार एकै दिनमा १० लाख ८० भन्दा बढी नयाँ संक्रमित थपिएका हुन् । संक्रमण उच्च गतिमा बढिरहँदा पनि विद्यालय बन्द नगर्ने राष्ट्रपति जो बाइडनको निर्णयको चौतर्फी आलोचना भइरहेको छ ।

संक्रमण उच्च गतिमा बढे पनि मृत्युदर भने पहिलेको तुलनामा कमै रहेको छ । तर अस्पताल भर्ना हुने दर विस्तारै बढ्न थालेको छ । भाइरसको द्रुत फैलावटले देशको स्वास्थ्य सेवा प्रणालीमा थप दबाब मात्र दिएको छैन यसले अर्थतन्त्रलाई एकपटक फेरि नराम्रोसित प्रभावित पारेको छ । जसले गर्दा श्रमिकको अभाव, हजारौं उडान रद्द, र केही व्यवसायले फेरि आफ्नो ढोका बन्द गर्न बाध्य भएका छन् ।।