किशोर पहाडीको रमाइलो बाल्यकाल

अडियो / भिडियो मेरो बाल्यकाल साहित्य

आदरणीय लेखक किशाेर पहाडी राम्रा कथाहरु लेख्नुहुन्छ। उहाँ नेपाली साहित्यको क्षेत्रमा समर्पित वरिष्ठ कवि र कथाकार हुनुहुन्छ । अग्रज लेखक पहाडीको रमाइलो बाल्यकाल यस अंकमा हामीले प्रस्तुत गरेका छौं । उहाँ बाल्यकालको सम्झना सुनाउँदै भन्नुहुन्छ :
बालखकालको सम्झना गर्दा आफ्नो स्वर्णकालको सम्झना हुन्छ । ‘स्वर्णकाल’ भनेको उज्यालो समय हो । बालखकालमा हामी अबोध हुन्छौँ । ‘अबोध’ भनेको केही पनि नजान्ने हो । बालखकालमा हामीले केही जानेका हुँदैनौँ । त्यसैकारण होला मेरो स्कूले जीवनको पहिलो दिनको सम्झना गर्दा म कति अबोध रहेछु भनी छक्क पर्छु ।

मैले पढेको पहिलो स्कूल हो- काठमाडौँको डिल्लीबजारमा अवस्थित “विजय मेमोरियल हाईस्कूल” । त्यहाँ म ६ वर्षको उमेरमा २ कक्षामा भर्ना भएको थिएँ जस्तो लाग्छ । यो वि.सं. २०१९ सालतिरको कुरा हो । स्कूलको पहिलो दिनमा मेरो मनमा धेरै नै डर थियो । नयाँ ठाउँको डर, नयाँ वातावरणको डर, नयाँ मान्छेहरूको डर, नयाँ शिक्षकहरूको डर ।

त्यतिखेरको मेरो कक्षामा बेञ्च थिएन, सुकुलहरू ओच्छ्याइएका थिए । सुकुल भनेको बस्नको निम्ति परालद्वारा बनाइएको ठूलो चकटी जस्तै चीज हो ।
हामी सुकुलमा बसेर पढिरहेका थियौँ । कक्षामा कुनै शिक्षकले पढाइरहनु भएको थियो । अचानक मलाई सुसुले च्याप्यो । तर डरले गर्दा मैले शिक्षकलाई “म ट्वाइलेट जान्छु” पनि भन्न सकिनँ । कहिले कक्षा सिद्धिएला र जाउँला भनी कुरेर बसिरहेँ । मलाई किन हो किन शिक्षकसँग डर लाग्यो ।

धेरै नै बेर भएपछि पनि कक्षा चाहिँ सिद्धिएन । मैले सुसु रोकेको रोक्यै गरेँ । हुँदा हुँदा हुँदा हुँदा…धेरै नै बेर भएपछि…मैले सुसु रोकिराख्न सकिनँ । सुकुलमा बसेकोबस्यै मेरो सुसु फुस्क्यो । सुकुल जम्मै भिज्यो । अनि म उठेँ । शिक्षककहाँ गएँ र बडो साहसका साथ भनेँ- “मलाई सुसु आयो, सर !”

म त्यसरी उठ्दा कक्षाका सम्पूर्ण विद्यार्थीले मेरो भिजेको कट्टु देखे । अनि “लौ यसले त … … सुसु गरिसकेछ, सर” भनी सबै जना हाँस्न थाले । मलाई लाज लागेर आयो ।
स्वास्थ्यको कारण पनि सुसु आएपछि त्यो रोकिराख्नु नहुने रहेछ । यो कुरा मलाई धेरै पछि थाहा भयो । रोकिराख्दा यसरी एक त बेइज्जत हुने, अर्को स्वास्थ्य पनि खराब हुने । सुसु त रोक्न नहुने रहेछ ।

त्यही स्कूलमा फेरि ४ कक्षामा भएको एउटा अर्को घटनाले पनि केटाकेटीहरू कति अबोध हुन्छन् भनी थाहा हुन्छ ।

४ कक्षामा मौखिक जाँच भइरहेको थियो । सर र मिसहरूले सबै विद्यार्थीलाई पालैपालो विभिन्न प्रश्नहरू सोधिराख्नुभएको थियो । हामीहरूले त्यो प्रश्नको जवाफ मुखैले बोलेर दिनुपर्थ्र्यो ।

मेरो पालो आयो । म उभिएँ र शिक्षकहरूको नजिकै गएँ ।

एकजना शिक्षकले सोध्नुभयो- “जनावरहरूमा सबैभन्दा उफ्रन सक्ने जनावर कुन हो ? “

म यति अज्ञानी र अबोध थिएँ कि यस प्रश्नको जवाफ मैले झवाट्ट दिइहालेँ- “…फट्याङ्ग्रा…”

मलाई उत्तर थाहा थिएन । तर घरमा फट्याङ्ग्रा फुत्रुक् फुत्रुक् उफ्रिरहेको देख्ने गर्दथेँ । त्यसैले त्यही होला भन्ने ठानेँ ।

शिक्षक शिक्षिकाहरू गलल्ल हाँसे । पछि मैले घर फर्केर सबैलाई आफूलाई सोधिएको प्रश्नहरूको बारेमा भनेँ । सबैजना हाँस्नुभयो । अनि उहाँहरूबाटै थाहा भयो कि जनावरमा सबैभन्दा बढी उफ्रन सक्ने जनावर चितुवा हो भनेर ।
ओहो ! म कति अबोध रहेछु हगि ?

विजय मेमोरियल हाईस्कूलमा मैले ६ कक्षासम्म पढेँ । ६ कक्षापछि म वीरगञ्जमा पढ्न गएँ । वीरगञ्जमा मेरो बुवाको अफिस भएको हुँदा म पनि त्यहाँ गएको हुँ । त्यहाँ म त्रि-जुद्ध बहुउद्देश्यीय विद्यालयमा कक्षा ७ मा भर्ना भएँ । यो २०२४ सालको कुरा हो ।
स्कूलमा मेरो सबैभन्दा मिल्ने साथी थिए- रविन्द्रमानन्द बज्राचार्य । ऊ र म दिनहुँ कक्षा कोठामा किताब राखेपछि केहीबेर सिनेमाघरसम्म घुम्न जान्थ्यौं ।

एक दिन त्यसरी नै घुम्न निस्कँदा हामीले बाटोमा कुनै चीज भेट्यौँ । “बच्छीः मबिया… बच्छीः मबिया…” भन्दै मैले त्यो चीज उठाएँ ।
हामी बालखकालमा कुनै चीज भेट्टायौँ भने “बच्छीः मबिया… बच्छीः मबिया…” भन्थ्यौँ । र, त्यसो भन्दा हामीले त्यो चीजलाई आधा आधा पार्नु पर्दैनथ्यो । नेपाल भाषामा ‘ बच्छीः’ भनेको ‘आधा’ र ‘मबिया’ भनेको ‘दिन्नँ’ भनेको हो ।
तर त्यसोभन्दा पनि रविन्द्रले “हुन्न हुन्न…मलाई पनि चाहिन्छ” भन्न थाल्यो ।

त्यो चीज रहेछ- एउटा एयरफोन- रेडियोमा जोडी कानमा लगाई सुन्ने एउटा किसिमको तार ।
म ‘दिन्नँ’ भन्ने, ऊ ‘चाहिन्छ’ भन्ने । दुवैजना एक छिन कराइरहृयौँ । अन्तमा हामीले आधा आधा पार्ने नै निधो गर्‍यौँ । छेउको एउटा ढुङ्गा टिपेर ढ्याङ ढ्याङ हान्यौँ र त्यो एयरफोन फुटायौँ ।

धत्तेरी ! फुटाएपछि त्यो एयरफोन उसलाई पनि काम लागेन, मलाई पनि काम लागेन । नफुटाएको भए त दुइमध्ये एकलाई काम लाग्थ्यो ।
कति अबोध त ! त्यो बेलाका हामी केटाकटीहरु ।

Leave a Reply

Your email address will not be published.