वर्तमान सन्दर्भमा बालसाहित्य लेखकका चुनौती र समाज परिवर्तनको सवाल

लेख-रचना विचार

कार्तिकेय घिमिरे

अहिले विश्व विज्ञान र प्रविधिको तीब्रतर विकासँगै अगाडि बढिरहेको छ । विज्ञानका क्षेत्रमा भएका ठूला-ठूला आविष्कारहरुको चमचमाउँदो चमक र प्रविधिको उच्चतम् उपयोगले गर्दा आज मानव जातिले यसको भरपूर आनन्द लिइरहेको अवस्था छ । एकातिर मानिसका हरेक दैनन्दिन क्रियाकलापमा ठूलो परिवर्तन देखा परिरहेको छ भने अर्कोतिर मानिसको यस दिमाखी विजय, अर्थोपार्जन गर्ने रस्साकस्सी र शक्ति प्रदर्शनको प्रतिस्पर्धाको होडबाजीका कारणले प्रकृति नै संकटमा परेको छ । अर्थात् पृथ्वी, पानी, आकाश र हिमालमा नै यसको असरको संकेतका काला बादलहरु मडारिन थालिसकेका छन् । कार्बनको कहालिलाग्दो दुस्चक्रमा प्रकृतिको पद्घति नै डगमगाउँदो अवस्थामा पुग्ने संकेत देखिन थालेको छ । 

वास्तवमा यो समय हरेक प्राणीका लागि चुनौतीपूर्ण समय हो । यो बेला यो पृथ्वीमा आश्रित हरेक प्राणीको जीवन संघर्षमय अवस्थामा गुज्रिरहेको छ । वातावरणमा प्रतिकूल अवस्था सिर्जना गर्न उद्यत ठूला र धनी राष्ट्रहरुको कारण यो समस्या आगामी दिनमा अझ बढी घनीभूत हुँदै भयाबह बन्दै जाने खतरा छ ।

यसरी आफू र आफ्नो लागि मात्र चिन्ता गर्नुपर्ने समूहभन्दा अलिकति माथि रही एउटा सर्जक भएर आफ्नो रचनामार्फत् असंख्य जनतामा चेतना, मनोरन्जन र सन्देश फैलाउँने दायित्व बोकेको लेखकका लागि यस यस अवस्थामा निकै चुनौतीहरु छन् । त्यसमा पनि भर्खरै समाज र विश्वलाई बुझ्दै गरेका अनि आफूलाई पनि चिन्दै र चिनाउँदै गरेका साना बालबालिकाहरुका लागि बालसाहित्य लेख्ने लेखकका लागि भने यो समयको लेखन अझ बढी सशक्त चुनौतीपूर्ण छ । किनकि ठूला पाठक त आफूले पढ्ने कुरा फिल्टर गरेर लिनसक्ने सामर्थ्य राख्छन् । उनीहरुले थुप्रै आरोह अवरोहहरुलाई भोगिसकेका हुन्छन् । अनुभव पनि उनीहरुको ठूलो अस्त्र हुन्छ । तर बालबालिकाहरुको हकमा यो पृथ्वीका हरेक काम कुरा नयाँ हुन्छन् । अर्थात् उनीहरु जीवनको प्रारम्भमा हुन्छन् । भर्खरै-भर्खरै भोगिरहेका हुन्छन् यी भीडका मानिसहरुलाई, अनि अनि छातीमै कुल्चिएर अघि बढ्ने यी विकास र परिवर्तनका तीब्रताहरुलाई पनि ।

हो, यहाँनिर प्रश्न उठ्नसक्छ । आज बढ्दै गएको अशान्ति र अनेकखालका उताचढावका बीचबाट एउटा सौहार्दपूर्ण बालापन हामीले हाम्रा बालबालिकाहरुलाई कसरी दिन सक्छौं ? कसरी दिने हामीले उनीहरुलाई सुन्दर बालापन ब्यतित गर्ने मौका ? प्रश्न यो जति सहज छ । त्यतिकै जटिल पनि छ । हरेक कुरामा बयस्कहरु हावि भएको हाम्रो समाजमा बालबालिकाका

इच्छा, आकांक्षा र कामनाहरु पनि निरुत्तर हुने गरेका छन् । त्यसैले यो रिक्तता, यो शून्यता र यो जटिल जडतालाई चिर्दै अघि बढ्नका लागि बालबालिकाहरुले सँधै एउटा कुशल बालसाहित्य लेखकको छत्रछायाँ खोजिरहेका हुन्छन् । उनीहरुलाई कल्पनाको उडान गराउँने, सोच्ने शक्तिमा भरपूर विकास गराउँने र समाजको यथार्थसँग साक्षात्कार गराउँने जस्ता यी विविधखालका साहित्य उनीहरुका घरको ढोका-ढोकामै पुर्‍याइनुपर्छ ।

     आज हाम्रो देशमा कृति प्रकाशनको कोणबाट हेर्दा बालसाहित्यको स्थिति एकदमै राम्रो छ । गैर सरकारी संस्थाहरुले गाउँगाउँमा स्थापना गरेका पुस्तकालयमा किताबहरु किनेर पुर्‍याइरहेका छन् । त्यसैले यो बेला बालसाहित्यका पुस्तक प्रकाशनको बाढी आइरहेको छ । तर अधिकांश प्रबाशकले चिनेजानेका र नजिककाहरुको किताब छापेर बालसाहित्यमा लगानी बढाइरहेका छन् । एकदमै थोरै लेखकहरुमात्र यस क्षेत्रमा जस्तोसुकै प्रतिकूल अवस्थामा पनि टिकेका र भविष्यमा पनि यही क्षेत्रमा समर्पित हुन्छु भनेर लागेका देखिन्छन् । अहिलेका लेखकहरुको ठूलो हूल अहिले आएको चमकधमकलाई हेरेर यो मौसमको बाजा बजाएर थोरबहुत नाम र दाम कमाउँने ध्याउँन्नमा बालसाहित्य लेखक बन्न आतुर भएर यस क्षेत्रमा हाम्फालेका छन् ।

अतः धेरै भन्दा धेरै लेखक बालसाहित्यमा सहभागी भएको वि.सं.२०६६ को आजको मितिसम्मको यो सुखद सन्दर्भमा यो पुस्तक प्रकाशनको बाढीलाई नराम्रो भन्ने पक्षमा म छैन । किनकि जुन-जुन लेखकका कृतिहरु जो-जो प्रकाशकहरुले छापे ती सबैले लगानी उठ्ने वातावरण देखेर नै छापे । यसबाट लेखक र प्रकाशक दुबैलाई फाइदा भयो । फाइदा हुनु यो आफैमा सकारात्मक पक्ष हो । यसको हामीले स्वागत गर्नैपर्छ । किनकि ती पुस्तक गाउँगाउँका पुस्तकालयमा पुगेपछि ती क्षेत्रका बालबालिकाले पढ्नेछन् र तिनलाई पनि फाइदा पुग्नेछ । त्यसैले यो सबैको फाइदाको कुरा हुन पुगेको छ । जुन सँधै स्वागतयोग्य रहिरहने छ ।

तर यहाँनिर उठाउँन खोजिएको मुख्य विषय के हो भने पुस्तक प्रकाशनको सशक्त माहोल बन्दै गएको बालसाहित्य लेखकहरुका लागि वर्तमान सन्दर्भमा केही महत्वपूर्ण चुनौतीहरु छन् । तिनलाई सामना गर्न सक्ने दक्षता उनीहरुले हासिल गर्नसक्नुपर्छ । त्यसका लागि अब चुनौतीका पहाडहरुबारे नै बहस केन्द्रीत गरौं ।

पहिलो चुनौती बदलिदो विश्वको विषयगत विविधताको पक्ष हो । आज हरेक दिन, हरेक क्षण नयाँ-नयाँ क्षेत्रमा विकासहरु भइरहेका छन् । त्यसैले अब बालसाहित्य लेखकले परिवर्तनको त्यो तीब्र गतिलाई बुझ्न सक्नुपर्छ । ऊ परिवर्तन प्रति चनाखो हुनुपर्छ र उसले हरेक परिवर्तन र विकास जसले बालबालिकासँग प्रत्यक्ष सरोकार राख्छन् त्यस्ता विषयको जानकारी राख्नुपर्छ । यो उसको लागि चानचुने चुनौती होइन ।

त्यस्तै अर्को महत्वपूर्ण चुनौती पाठकको विविधताको चुनौती हो । हामी माझमा एकातिर शहरका उच्चतम् प्रविधिमा रहमाइरहेका बालबालिकाहरु छन् । अर्कोतिर शहरमै पनि मूलतः सरकारी विद्यालयमा पढिरहेका प्रविधिको सुविधाबाट बन्चित बालबालिका छन् । र, अर्को थरी बालबलिकाहरु छन् ती भने भूगोलको विकटता, राज्यको बेवास्ता र गरिबी दुस्चक्र अनि हरेक कुराको अवसरबाट बिल्कुलै बन्चित छन् । आफूलाई बालसाहित्य लेखक हुँ भन्नेले यी सबैथरी बालबालिकाको निम्ति लेख्न सक्नुपर्छ । यो ठूलो चुनौतीपूर्ण कुरा हो । यसको सामना गर्नसक्ने सिप र धैर्य हाम्रा लेखकहरुमा हुनु जरुरी छ ।

हो, आज वास्तवमै विविध भूगोल, समाज र विविध सन्दर्भमा बाँचिरहेका बालबालिकाहरुबीचको भावनात्मक एकता कमजोर छ । यहाँ एकथरी बालबालिकहरु वर्षभरि घिउँ भातमा रमाउँछन् भने अर्कोथरि वर्षको तीन महिना चमलको भात खान पाउँन पनि पुकारा गरिरहेका छन् र झन अर्कोथरी त चामलको भात खान त के खाना खान नै छाक गन्नुपर्ने स्थितिमा छन् । खै हामी बालसाहित्य लेखकले लेख्न सकेको यो भावनात्मक दुरीलाई कम गर्दै यी सबैलाई जोड्नेखालको बालसाहित्य ? हामी आफूलाई बालसाहित्य लेखक हौं भन्नेहरुले । यो हाम्रा लागि अर्को ठूलो र अहम् चुनौती हो ।

अस्ति भर्खरको कुरा हो, मेरी छिमेकी दिदीले आफ्ना दुइजना छोराछोरीको पुराना लुगा भनेर तीन बोरा पोको पारेर मेरै अगाडि स्टोर कोठामा थन्क्याइन् । ती थन्किदै गरेका हरेक लुगा मैले हेरेको थिएँ । यहाँ जाडोमा आङ्ग ढाक्न नपाएर बालबालिकाहरु मरिरहेका छन् । अब ती लुगा मुसाले खाएर त्यतिकै सड्ने भए । किनकि ती दिदीलाई लुगा दिने संस्था खोजिरहने झन्झट गर्ने फुर्सद छैन । खै हामीले लेखेको बालसाहित्य पढेका ती नानीहरुले ममी हाम्रो नाना ती गरिब बालबालिकालाई दिनुपर्छ भनेर भन्न सकेको ?

  त्यसैले अब हामीलाई हिमाल, पहाड र तराईका बालबालिकालाई यस्तै मुद्दामा एकाकार बनाएर जोड्नेखालको बालसाहित्य चाहिएको छ । यहाँ जापानका बालबालिकाहरु आएर सहयोग गर्छन् तर हाम्रा आफ्नै बालबालिकाहरु संवेदनहीन भएर बसेका छन् । यो पक्षलाई भत्काउँन अब हामीले सामाजिक संवेगका बालसाहित्यहरुको बाढी ल्याउँनुपर्छ । आफ्नै समाजभित्रका हरेक बालबालिकाको संवेग पढ्न हामी बयस्क बालसाहित्य लेखकले त सकेका छैनौं भने कलिला बालसाथीहर्रुलई किन दोष दिने ?

 यहाँ आफूलाई बालसाहितयको विज्ञ हौं भन्नेहरु आज लेखकको हाँकका कुरा

 गर्छन् । तर उनीहरु छेपारो, बिरालो र खरायोको बालसाहित्य लेख्छन् र उच्चतम् प्रविधिमा रमाइरहेका सात प्रतिशत बालबालिकालाई मात्र समेटेर लेख्छन् । अरुको डलर खाएर जलवायु परिवर्तन र ल्यापटपका कुरा लेख्छन् ।

यस्तै एउटा लेखक म पनि हुँला, तपाईं पनि हुनुहोला, ऊ पनि होला र उनी पनि होलिन् । यस्तो अवस्थामा मैले लेखेको बालसाहित्यले मेरो समाज परिवर्तन गर्नसक्ने सामर्थ्य राख्छ, भोलि सुन्दर देश निर्माण गर्छ भनेर मैले कसरी विश्वास राख्ने ? भो म विश्वास गर्न सक्दिन । त्यसैले यो अविश्वासलाई जित्दै, अविश्वासको कालो बादल हटाउँनेखालको बालसाहित्य लेख्नु नै म, तपाईं,

तिमी, हजूर सबै बालसाहित्य लेखकहरुको आजको चुनौती हो । के तपाईं यसका लागि तयार हुनुहुन्छ ?

यदि तयार हुनुहुन्छ भने बालसाहित्य सम्मेलनको नारा जलवायु परिवर्तन र यसको असर होइन समाज परिवर्तनका लागि बालसाहित्य लेखक र बालबालिकाको भूमिका भन्ने मूल नारा लिएर अगाडि बढ्नुस् ।

त्यसैमा सक्रमणकालीन नेपालको कल्याण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *