– रञ्जुश्री पराजुली
प्राचीन भारतको किर्तकन्धा नगरीमा बाँदर जाति राज्य गर्दथे । ती बाँदर जातिको राजाको नाम सुग्रिव थियो । सुग्रिव एक आदर्श राजा थिए । उनका एकजना अभिन्न मित्र थिए । ती मित्रको नाम हनुमान थियो । हुनमान बाँदर जाति भए पनि धेरै बलिया र बुद्धिमान थिए । उनी यति धेरै बलिया थिए कि ठूला ठूला पर्वत पनि हातले उचाल्न सक्दथे रे भन्ने कुराको चर्चा बाल्मिकी ऋषिद्वारा लेखिएको रामायण महाकाव्यमा पाइन्छ ।
सुग्रिवका एकजना दाजु पनि थिए । तिनको नाम वालि थियो । एकपटक वालि युद्ध गर्न भनेर गएको धेरै समयसम्म फर्केनन् र त्यसबेला वालि किब्किन्धाका राजा थिए । बालि युद्धमा हराएको हुनाले बाँनर जातिले सुग्रिवलाई त्यहाँको राजा बनाए । हनुमानले आफ्ना प्यारा मित्र सुग्रिवलाई बल र बुद्धि दुबैले भ्याउने सबै कुरामा सहयोग गरे । हनुमान पवन पुत्र थिए । त्यसैले बलमा उनलाई कसैले पनि जित्न सक्दैन थियो । पवन पुत्र भएकै हुनाले उनी छिटो र छरितो पनि थिए ।

युद्धमा गएको वालि मरेको रहेनछ । ऊ धेरै वर्षपछि किब्किन्धा फर्कियो र राजगद्दीको लागि उसले आफ्नो भाइ सुग्रिवलाई राज्यबाट निकालि दियो । बालि सुग्रिव जस्तो असल राजा थिएन । हनुमानले सुग्रिवको त्यस्तो दुःखको बेलामा पनि साथ नछोडेर असल मित्र बनेर सबै कुरामा सहयोग गरे । किब्किन्धाबाट निकालिएको सुग्रिव पहाड छेउतिर गएर बस्न थाले । त्यसैबेला रामचन्द्र पनि आफ्ना पिताद्वारा पाएको वचन चौध वर्ष वनबास बिताउनको लागि त्यही पहाडकै छेउको जङ्गलमा बसेका थिए । रामको साथमा लक्ष्मण पनि थिए । पहिले त सुग्रिव र हनुमानले रामलाई चिनेनन् । तर, रावणले सीतालई अपहरण गरेर लगेपछि राम र लक्ष्मण सीतालाई खोज्दै पहाडका कुना काप्चा र बाक्लो जङ्गलभित्र गए । त्यसैबेला रामचन्द्रको हनुमानसँग भेट भयो । सुग्रिवले त पहिले वनमा बसेका राम लक्ष्मणलाई वालिको जासुस भन्ने शंका गरेका थिए । तर, बुद्धिमान हनुमानले राम लक्ष्मणको वास्तविकता पत्ता लगाए । हनुमानले रावणले सीतालाई हरण गरेर लगेको पनि थाहा पाए ।
हनुमान परोपकारी र सहयोगी थिए । अयोध्याका असल राजकुमार रामको दुःख हनुमानलाई आफ्नै दुःख जस्तो लाग्यो । उनले रामलाई सीता माता खोज्नको लागि आफूले सकेको मद्दत गर्ने वचन दिए । रामचन्द्रले पनि दाजुद्वारा लखेटिएका हनुमानका मित्र सुग्रिवको दुःख लाग्दो कुरा थाहा पाए । रामले वालिसँग युद्ध गरेर उसलाई पराजित गरी सुग्रिवलाई किब्किन्धा राज्य फिर्ता दिलाए ।
हनुमानले पनि आफ्नो मित्र सुग्रिवलाई रामचन्द्रले त्यति ठूलो गुण लगाएको बिर्सेनन् । उनले आफू र आफ्ना समस्त जाति मिलेर रावणले हरण गरेर लगिएकी सीता मातालाई खोजेर ल्याई रामलाई सुम्पने प्रण मनमनै गरे । हनुमानले भारतवर्षको विभिन्न ठाउँमा सीतामाताको खोजी गर्न आफ्ना साथीहरू पठाए ।
रावणले सीता मातालाई लङ्का राज्यको अशोक वाटिकामा लुकाएर राखेको थियो । सो कुरा खोजि गरेर हनुमानले पत्ता लगाए । हुनमानले सीतालाई आफू रामको विश्वासिलो पात्र भएको कुरा विश्वास दिलाउन रामको चिनो औंठी लिएर सीतालाई भेट्न गए । हनुमानले अशोक वाटिका पुगेर रावणकी बन्दी बनाइएकी सीतालाई रामको औंठी देखाए । आफ्ना पतिको औंठी देखेपछि सीता मातालाई उनी आफ्ना पतिका मित्र भएको कुरामा शंका लागेन । उनले पनि हुनमानलाई रामलाई देखाउनको लागि आफ्नो हातको बाला (चुडामणी) फुकालेर दिइन् ।

राम र रावणको घमासान युद्ध भयो । युद्धमा हनुमानले रामको तर्फबाट बहादुरीकासाथ रावणसँग युद्ध गरे । उनले रावणका धेरै सेनालाई मारे । हनुमानको बल र पराक्रम देखेर रावणतर्फका सेना आत्तिए । सोही युद्धमा रावणको छोरा इनद्रजीतले छलपूर्वक लक्ष्मणलाई विषाक्त वाण प्रहार ग¥यो । सो विषाक्त वाणको प्रहारले लक्ष्मण मृत्युशैयामा ढले । वैद्यले जङ्गलबाट सञ्जिवनी जडीबुटी तुरुन्त ल्याउन सकेमात्र लक्ष्मण बाँच्न सक्ने कुरा गरे । हनुमान दुर्लभ सञ्जिवनी बुटीको खोजीमा उडेर गए । उनले सञ्जिवनी बुटी चिन्न नसकेर पहाड नै उचालेर ल्याए ।
हनुमानले बोकेर ल्याएको पहाडको जङ्गलभित्रबाट बैद्यले सञ्जिवनी बुटी चिनेर त्यसद्वारा लक्ष्मणको उपचार गरे । लक्ष्मणलाई निको भयो । ठीक समयमा हनुमानले सञ्जिवनी बुटी बैद्यछेऊ ल्याई पु¥याएको हुनाले मात्र लक्ष्मण बाँचेका हुन् । हनुमानले सो बुटी नल्याएको भए लक्ष्मण मर्दथे । हनुमानले रामको पक्षबाट रावणसँग युद्ध गरे । उनले आफ्नो पुच्छरमा आगो लगाएर रावणको राज्य लङ्का जलाएर भष्म पनि पारिदिए । अन्त्यमा रामचन्द्रद्वारा रावणको मृत्यु भयो । राम युद्धमा विजयी भए । सीता र लक्ष्मणसहित अयोध्या फर्किए । हनुमान पनि रामसँगै अयोध्या आए । त्यसपछि हनुमानले रामको साथ कहिले पनि छाडेनन् । हनुमान असल मित्र थिए । आज पनि असल मित्रको तुलना गर्दा हनुमान जस्तो भन्ने चलन छ ।
केटाकेटी न्युज बालपत्रिकाबाट साभार ।
