कैद आवाज

नाटक साहित्य

– महेश पौड्याल

पात्रहरू
प्रिन्सिपल
विप्लव  (कक्षा ५ को एक विद्यार्थी)
विष्णु  (नेपाली भाषा शिक्षक)
स्थान :     प्रिन्सिपलको कोठा

स्कुल लागेको बेला हो । त्यस स्कुलमा भर्खरै मात्र कक्षा ५ मा भर्ना भएको नयाँ विद्यार्थी विप्लव प्रिन्सिपलको अफिसको दैलोमा उभिएको छ । भित्र प्रिन्सिपल केही लेखिरहेका छन् । उनकै छेउको भित्तामा एउटा सेतो कागजमा नारा टाँसिएको छ, Speaking English  । गम उक्किएर त्याे कागज झर्न लागेका देखिन्छ

प्रिन्सिपल :     गुड मोर्निङ्ग, विप्लव ।
विप्लव :         गुड मोर्निङ्ग, सर ।
प्रिन्सिपल :     एनी प्रोब्लेम ?
विप्लव :         सर ।
प्रिन्सिपल :      कम ओन, टेल मी ।
विप्लव :         सर ।
प्रिन्सिपल :     ह्वाइ डोन्ट यू टेल एनिथिङ्, विप्लव ?

(विप्लव केही भन्न चाहन्छ, तर अक्मक्किन्छ, सक्तैन । ऊ अवाक उभिइरहन्छ, धेरैबेर । आँखामा आँसु आउँछन् ढलपल  ढलपल । ऊ एक्कासि पछि फर्कन्छ अनि दौडन्छ आफ्नो कक्षाकोठातिर ।)

(भोलिपल्ट पनि ऊ प्रिन्सिपलको अफिसको दैलोमा त्यसरी नै उभिन पुग्छ ।)

प्रिन्सिपल :     येस, पिप्लव । येस्टरडे अल्सो, यू वेन्ट विदाउट अ वर्ड । मे आइ हेल्प यू?
विप्लव :         सर ।
प्रिन्सिपल :     कम इन, एण्ड सिट अन द चेयर ।

(प्रिन्सिपल सीधा हेरिरहन्छन, विप्लपको अनुहारमा, केही अलमल भएझैँ गरी । उनका अनुहारमा केही आशंकाहरु स्पष्ट देख्न सकिन्छ ।)

प्रिन्सिपल :     ह्वाट वाज योस फोर्मर स्कुल?
विप्लव :         स्कुल ।
प्रिन्सिपल :     (पियनलाई बोलाउँदै ) प्रेम! यहाँ आऊ । विल्पवको भर्ना फाइल निकाल त ।
प्रेम :             (भित्र पस्दै) हजूर सर । हुन्छ सर । (प्रस्थान)

प्रिन्सिपल :   आइ नोउ, यू वान्ट टु टेल मी समथिङ् । बट, यू हेभ नट विन एबल टु कलेक्ट द करेज । आर यू अफरेड, विप्लव?
विप्लव :       सर ।

(प्रम प्रवेश गर्छ र विप्लवको भर्ना फाइल प्रिन्सिपलको टेबुलमा राखिदिन्छ । प्रिन्सिपल फाइल पल्टाउन थाल्छन् ।

प्रिन्सिपल :     म्म । सो यू कम फ्रोम प्रगति पब्लिक स्कुल । देट इज अ गुड स्कुल, आइ नोउ । नाव, कम, टेल मी ह्वाट यू वान्ट टु सेइ ।
विप्लव :        सर्, मलाई…..
प्रिन्सिपल :    (झर्केर) इङ्गिस । दिस इज एक इङ्गिलिस मिडियम स्कुल । यू हेभ टु स्पीक इङ्लिस । डु यू नोउ, यू आर चार्जड फाइभ रुपिस् फर एभ्री वर्ड यू स्पीक इन अदर ल्याङ्ग्वेजेस्?
विप्लव :        यस् सर ।
प्रिन्सिपल :    कम्, टेल मी योर प्रोब्लेम नाव ।
विप्लव :        यस् सर ।

(विप्लव फनक्क फर्कन्छ र बाहिरतिर कुद्छ । प्रिन्सिपल उसलाई हेरिरहन्छन्, केही अल्मल्लिएको दृष्टिले । )

(त्यसपछि धेरैदिन सम्म विप्लव प्रिन्सिपलको अफिसमा जाँदैन । एक दिन अपराह्न, उसलाई उसका नेपाली भाषा शिक्षक विष्णु सरसँग केही कुराकानी गर्दै गरेका देखिन्छ । केहीछिनपछि विष्णु सर र विप्लव प्रिन्सिपलको कोठामा पुग्छन् ।)

प्रिन्सिपल :     बसौँ सर । आज सरसँग विप्लव पनि?
विष्णु :     उसँग एउटा गम्भीर समस्या छ सर ।
प्रिन्सिपल :     त्यो त मैले पहिल्यै शंका गरेको थिएँ । ऊ पहिले पनि दुइचार पटक मकहाँ आएको थियो । तर केही नभनी   भाग्यो । खोई किन डराउँछ ऊ मसँग ।
विष्णु :     वास्वतमा सर, उसलाई अङ्ग्रेजी बोल्न आउँदैन । उसँग कुनै विकल्प छैन ।

(प्रिन्सिपल निकै गम्भीर बन्छन् । उनी गहिरो सोचाइमा डुब्छन् र विप्लवलाई हेर्छन् । विप्लवको शिर झुकेको छ ।)

प्रिन्सिपल :     अरु केही थप समस्या?
विष्णु :     भन्छ, उसका साथीहरु उसलाई सधैँ कुट्छन् । तर ऊ कसैलाई भन्दैन ।
प्रिन्सिपल :     किन?
विष्णु :     भाषाले गर्दा सर । उसलाई अङ्ग्रेजी आउँदैन । उसलाई थाहा छ, नेपाली बोलनु भनेको जरिवाना तिर्नु हो । ऊ भन्छ, उसका बुबा छैनन् र आमासँग जरिवाना तिर्ने पैसा छैन । त्यसैले सबै कुटाइहरु सहिदिन्छ सर उसले । यो क्रम धेरैदिनदेखि चलिरहेको छ ।

प्रिन्सिपल :     उसले तपाईलाई भनेको भए हुन्थयो ।
विष्णु :     नयाँ विद्यार्थी हो सर । मसँग नजिकिन पनि त उसलाई समय लाग्यो ।
प्रिन्सिपल :    उसले मलाई भनेको भए पनि हुन्थ्यो ।
विष्णु :     ऊ सरको अफिसमा आएको थियो अरे दुईचार पटक । तर जरिवानामा डरले उसले बोल्न सकेन ।
प्रिन्सिपल :     हो विप्लव ?
विप्लव :     म्म्, सर । ( टाउको हल्लाएर स्वीकारोक्ति जनाउँछ । उसका आँखामा आँसु छन् )
प्रिन्सिपल :     आइ अन्डस्टुड योर प्रोब्लेम । यू मे गो टु योर क्लास ।
विष्णु :     विप्लव, सर्ले कुरा बुझ्नुभाये अरे । तिमी कक्षाकोठामा जाऊ अरे ।

(विप्लव बाहिरिन्छ । )

प्रिन्सिपल :     ती बदमास् केटाहरुलाई कारवाही गर्नुपर्छ ।
विष्णु :    ठिक छ सर तर त्यसमा याे समस्याको स्थायी समाधान छैन ।
प्रिन्सिपल :     उसो भए के गराैँ त ?
विष्णु :    हामीले पुनर्विचार गर्नुपर्छ, अङ्ग्रजी नबोले जरिवाना लाउने नियम ठिक हो कि हैन भनेर । विप्लवजस्ता धेरै छन् यो विद्यालयमा ।
प्रिन्सिपल :     (निकैबेर सोचेर) वास्तवमै ।
विष्णु :    एउटा अवोध बालकका लागि अङ्ग्रेजी महत्वपूर्ण हो कि उसका आधारभूत आवश्यकताहरु महत्वपूर्ण, यो सोच्नु पर्ने ठुलो प्रस्न हो । मेराे त क्लास् छ, म लागेँ सर ।

(विष्णु सर बाहिरिन्छन् । निकैबेर गम्छन् प्रिन्सिपल, कुइनाे टेबलमा र हत्केलामा टाउको अड्याएर । केहीबेरपछि ऊ जुरुक्क उठछन र आफ्नो छेउको भित्तामा खस्न लागेको कागजको Speaking English को सूचनालाई फुत्त निकाल्छन्, च्यातचुत पारेर फोहोरदानीमा हालिदिन्छन् र बाहिरिन्छन् । )

(पर्दा बन्द)

Leave a Reply

Your email address will not be published.