झोला चलचित्रको समीक्षा

Featured मेरो आवाज मैले हेरेको चलचित्र

– शर्मिला लामिछाने
झोला चलचित्रले सन् १९१३ तिरको ग्रामीण नेपाली समाजका यथार्थ घटनाहरुलाई अभिव्यक्त गरेको छ । प्रसिद्ध साहित्यकार कृष्ण धरावासीले कथा झोलालाई यो चलचित्रले विषयवस्तुको मूल आधार बनाएको छ । यस चलचित्रले तत्कालीन समाजमा घट्ने घटनाहरुको सङ्केत गरेको छ । यथार्थको धरातलबाट उठेर विकसित हुँदै यसको कथानक समाजलाई हुनुपर्ने आदर्शको विषयमा आधारित रहेको छ ।
मुरारी बूढा, उनकी कान्छी श्रीमती, घनश्याम कथाका मुख्य पात्र हुन् । कथाको विषयवस्तु मुरारीको बिरामी अवस्थाबाट सुरु हुन्छ । मुरारीकी जेठी श्रीमतीको मृत्युपश्चात् उनले आफूभन्दा ४० वर्ष कान्छी स्त्रीसँग विवाह गरेका हुन्छन् । उनको यस विवाहपश्चात् उनकी पहिलो श्रीमतीका छोराहरु अंश लिएर छुट्टै बसिरहेका हुन्छन् । मुरारी र उनीहरुको सम्बन्ध यतिसम्म चिस्सिएको हुन्छ कि मुरारी बिरामी हुँदा पनि धेरै चासो देखाउँदैनन् । मुरारीकी कान्छी श्रीमतीले जसोतसो गरेर आफ्नो छोरो घनश्यामलाई हुर्काउँछिन्, घरको काम धन्दा सकाउँछिन्, बुढाको स्याहारसुसार गर्छिन्, र कर्तव्य पुरा गर्छिन् । मुरारी आफ्नो मृत्युभन्दा पनि बढी कान्छी श्रीमतीको विषयलाई लिएर चिन्तित हुन्छ । कान्छी श्रीमतीलाई आफ्नो मृत्यु पश्चात् सती नजान भनेको हुन्छ तर कान्छी श्रीमतीले यस कुरालाई धेरै वास्ता गर्दिनन् । उता, घनश्याम वस्तुभाउको ख्याल राख्न भन्दा बढी पढाइमा चासो देखाउँछ । आफ्नो गाईवस्तु भतिजाहरुसँग लग्न खोज्दा भतिजाहरु मान्दैनन् र उसले कतिपल्ट कुटाइ पनि खान्छ ।

जे कुरामा पनि भतिजाहरुले उसलाई होच्याउने गर्छन् । मुरारीको स्वास्थ्यमा केही पनि सुधार नआएपछि ग्रहदशा बिग्रेको हो कि भनेर शान्तिस्वस्ति गराइन्छ । उनको स्वास्थ्यलाभका लागि धामी झाँक्री लगाई बोका पनि काटिन्छ, वैद्यले दिएका अनेक थरी औषधी पनि ख्वाइन्छ, लगातार जाँच गराइन्छ तर कुनै उपचार विधिले पनि उनलाई निको पार्न सक्दैन । अन्ततः मुरारीको मृत्यु हुन्छ । तत्कालीन सामाजिक प्रथा अनुसार कान्छी श्रीमतीलाई सती लग्न तयार गरिन्छ । सती जाने स्त्रीलाई कसैले पनि छुनु हुँदैन भन्ने मान्यता अनुसार सबै गाउँलेहरु मुरारीको घर बाहिर बस्छन् । घनश्याम वस्तुभाउ चराएर घर फर्कंदा घरमा मान्छे जम्मा भएको देख्छ र बुबाको मृत्युको खबर पाउँछ । उसले आफ्नो आमालाई भेट्ने इच्छा गरी जति रोइकराइ गरेपनि उसलाई कसैले पनि आमालाई भेट्न दिँदैन । त्यही बेला घनश्यामलाई सम्हाली आफूसँगै राखेर उसकी काकीले सती प्रथाको विरोध गर्छिन् । आइमाईलाई गाईवस्तुको भन्दा कम दर्जा दिने समाजको वास्तविकता ओकलिन्छन् ।

बच्चा पाउने, स्याहारसुसार गर्ने, घरधन्दा चलाउने र श्रीमान् बितेपछि पनि श्रीमान्सँगै विलय हुनुपर्ने आइमाईको जीवन र यस्तो कुप्रथाप्रति उनले आवाज उठाएकी छिन् । पुरुषको इच्छा र अधीनमा निर्भर रहने आइमाईको जीवनलाई बचाउन पुरुषजातिले नै पहल गरेर यस्ता प्रथा हटाउनुपर्ने उनको मान्यता बताउँछिन् । उता घनश्यामकी आमा टोलाएर बस्छिन्, उनी रुनसक्ने अवस्थामा समेत हुँदिनन् । उनी रातो कपडा लगाएर बेहुली जस्तै सिँगारिन्छिन् । त्यसपछि बाजा बजाएर उनलाई नदीको किनारमा लगिन्छ । नदीको किनारमा उनलाई निर्वस्त्र भएर आफ्नो श्रीमान्को काखमा बस्न लगाइन्छ । त्यसपछि मुरारीको चितामा आगो लगाइन्छ । यो सबै दृश्य घनश्यामले हेरिरहेको हुन्छ र ऊ निकै मर्माहित हुन्छ । ऊ आफ्नी आमालाई भुल्न सक्दैन । भाउजू, काकीले जति सहानुभूति जताए पनि आमाको मायालाई कसैले जित्न सक्दैन । ऊ जतिबेला पनि आमाको बारेमा सोचेर बस्छ । खाना खाने बेलामा आमाले हातले ख्वाएको, बुबाले क,ख लेख्न सिकाएको, आमाले नुहाइदिएको र अन्य थुप्रै सम्झनाले उसलाई हरबखत सताइरहन्छ । एकदिन ऊ जङ्गलतिर जाँदा एक गुफाभित्र केही कुरा चलेको जस्तो देख्छ, मान्छेको जस्तो आकृति देख्छ र उसकी आमा ऊ सामु देखा पर्छिन्, यो देखेर ऊ निकै अचम्मित हुन्छ र साथै निकै खुसी पनि हुन्छ । दुईजना अङ्कमाल गरी आँसुका भेल बगाउँछन् ।

आफू कसरी बाँचे भन्ने कुरा सोध्न स्वाभाविक रहेकाले आपूmलाई जलाउँदा बेलुकाको समय भएकाले आगोले पोल्न थालेपछि कसैले नदेख्ने गरी नदीमा हाम फालेर त्यो गुफामा कसैले थाहा नपाउने गरी जङ्गली जनावरको सिकार हुन पर्खेर बसेको कुरा बताउँछिन् । साथै घनश्यामलाई आफ्नो बारेमा कसैलाई नबताउन र कहिल्यै पनि त्यहाँ नआउन आग्रह गरी हठात् त्यहाँबाट पठाउँछन् । घनश्याम भने त्यस रात काकाकहाँ सुत्न जान्छ र आफूलाई मनपर्ने काकीलाई आमाको बारेमा बताउँछ । काकीले पनि अचम्मित हुँदै खुसी व्यक्त गर्छिन् । काकीले सक्दो मद्दत गर्ने कुरा पनि बताउँछिन् र बिहानपख काकीले दिएको पुरानो लुगा र खानेकुरा सहित घनश्याम आमा भएको ठाउँमा जान्छ । काकीले त्यस लुगा, खानेकुरा आदि दिएको कुरा बताउँछ । साथै चाँडै त्यस ठाउँबाट अन्टात्र जान सल्लाह दिएको पनि बताउँछ । आमाले खिर धेरै दिनपछि खान पाएर होला निकै छिटोछिटो खाएर सकाउँछिन् । आपूmसँगै रहँदा देवरानी र जेठानीको ताल नमिल्ने, जहिल्यै कलह, मतभेद परिरहने भए तापनि आफ्नो जेठानीले दुःख परेको बेला गरेको सहृदयी मद्दतप्रति उनी मननै अचम्मित हुन्छिन् र साह्रै कृतज्ञ पनि हुन्छिन् ।

घनश्याम र उसकी आमा गुफा बाहिर निस्केर नदी किनारनेर आइपुग्दा अर्की एक महिलालाई सती जान चितामाथि राखेर दागबत्ति दिन थालिएको दृश्य देखापर्छ । जब ती महिला आगोको तापले छट्पटिएर भाग्न खोज्छिन्, तब उनलाई ढुङ्गाले टाउकोमा हानेर जलाउनका लागि चितामाथि राखिन्छ । यत्तिकैमा घनश्यामका काका र काकी आइपुग्छन् । झोलामा लुगाफाटो र बन्दोबस्तीका सामान, खर्च दिएर उनीहरुलाई त्यहाँबाट टाढा रहेको, अन्जान ठाउँ, धरान जस्तो उपरिचित ठाउँ जान र जीविकोपार्जन गर्ने सल्लाह दिन्छन् । साथै, यहाँबाट नुन बेच्न जाने मान्छेहरुले उनीहरुलाई चिन्ने सम्भावना भएकाले सतर्क रहेर बस्ने सल्लाह पनि दिन्छन् । काका र कार्कीप्रति अपार कृतज्ञता व्यक्त गर्दै एक नयाँ सुरुवातका लागि घनश्याम र उसकी आमा त्यस ठाउँ छाडेर सदाका लागि जान्छन् ।
पति र पत्नि दुवैले गरेको कुनै पनि पाप स्त्री सती जानाले मेटिन्छ भन्ने मान्टालले सतीप्रथा चल्दै आएको थियो । यस प्रथाले लैङ्गिक विभेदको झल्को पनि दिएको थियो । यस्तो अमानवीय प्रथा १९८२, वैशाख १ गते चन्द्र शमशेरले अन्त्य गरेका थिए ।
झोला चलचित्रमा नेपाली समाजमा विविध झाकीहरुको स्वाभाविक प्रस्तुति पाइन्छ । मुरारीको बिरामी निको पार्न शान्तिस्वस्ति गर्ने, धामी लगाउने, खेतीपाती गर्ने, पशुपालन गर्ने, एकभन्दा बढी श्रीमती विवाह गर्ने, घनश्यामको कलिलो उमेरमा विवाह गर्ने कुरा गरेको, घरघरमा कमरा राखेको, अन्धविश्वासमा पूर्ण विश्वास गर्ने गरेको परिवेशले तत्कालीन ग्रामीण समाजका रीतिरिवाज तथा संस्कृतिका वास्तविक झाँक्रीहरुको चित्रणले यस कथाको वातावरणलाई यथार्थ नजिक पु¥याएको छ ।

नारीलाई थिचोमिचो गर्ने परम्परागत समाजको चित्रण यसमा पाइन्छ । यस चलचित्रले राणाकालीन समयको समयगत परिवेश झल्काउँछ ।
चलचित्रको भाषाशैली समग्रमा सरल र सुबोध्य छ । सरल वाक्यको संयोजन र पात्रानुकूल भाषाको प्रयोगले नाटक सम्प्रेषणीय बनेको छ । तत्सम्, तद्भव शब्दहरुको पनि प्रयोग सन्तुलित देखिन्छ । नेपाली कथ्य भाषाको पनि झल्को चलचित्रले दिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *