केटाकेटी अनलाइन संवाददाता रश्मी खागी
३० औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवस नोभेम्बर २० को सन्दर्भ पारेर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्ले नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन, २०७६ एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ ।
प्रतिवेदनका तथ्यांकले नेपालमा बालबालिका हराउने, यौन हिंसामा पर्ने, बेसहारा हुने तथा बालगृहमा आश्रित हुने बालबालिकाको संख्यामा वृद्धि भएको देखाएको छ । बालबालिका खोजतलास समन्वय केन्द्र, १०४ को तथ्यांक अनुसार अघिल्लो वर्ष २ हजार ३ सय तीस जना बालबालिका हराएकामध्ये एक हजार १७ जना भेटिएका थिए भने एक हजार ३ सय १३ जना फेला परेका थिएनन् । यो संख्या बढेर यस वर्ष हराएका बालबालिकाको संख्या ३ हजार ४ सय २२ पुगेको छ जसमा २ हजार ५ सय ४० जना भेटिएका छन् भने ८ सय ८२ जना अझै भेटिएका छैनन् ।
१४ जिल्लाका ५ सय ३३ बालगृहमा अघिल्लो वर्ष १४ हजार ८ सय ६४ बालबालिका आश्रित थिए जुन संख्या बढेर यस वर्ष १५ हजार ५ सय ६५ पुगेको छ ।
त्यस्तै सडक बालबालिका मुक्त काठमाडौं उपत्यका अभियानले २०७६ असार मसान्तसम्ममा ९ सय ३ बालक र एक सय ८ बालिकको उद्धार गरिएको जनाएको छ । सडकबाट उद्धार गरिएकामध्ये ११ देखि १४ वर्ष उमेरका ४ सय ८५ जना, ६ देखि १० वर्षका १ सय ४१ जना र ५ वर्ष मुनिका १४ जना बालिबालिका रहेका छन् ।
उद्धार भएकामध्ये ६ सय ९७ जनाको बाबुआमा दुवै जीवित रहेको तथा १ सय ११ जनाको बाबुआमा दुवै जीवित नरहेको देखिन्छ । सडकबाट उद्धार गरिए तापनि बालबालिका भागेर पुनः सडकमै फर्कने र सडकमा भारतबाट आएका बालिबालिका पनि रहने गरेको समस्या रहेको जनाइएको छ ।
प्रतिवेदनमा १८ वर्षमुनिका बालिका बलात्कारको सिकार बन्ने क्रम बढेको उल्लेख छ । आर्थिक वर्ष ०७४/७५ मा ९ सय ९५ बालिका बलात्कारको सिकार भएका थिए भने ०७५/७६ मा यो संख्या १ हजार ४ सय २० पुगेको छ । बलात्कारको सिकार भएकामध्ये २० दशमलव ९ प्रतिशत अर्थात् २ सय ९८ जना बालिका १० वर्षमुनिका छन् ।
आर्थिक वर्ष ०७४/७५ मा ४ सय २ वटा जबर्जस्ती करणी उद्योगका घटना भएका थिए भने ०७५/७६ मा यो संख्या घटेर ३ सय ९९ पुगेको छ । प्रतिवेदनमा १० वर्ष मुनिका ६९ अर्थात् कुल घटनाको १७ दशमलव २ प्रतिशत बालिका पीडित भएको उल्लेख छ ।
बालबालिकाहरु अपराध र आपराधिक घटनामा प्रयोग हुने र बालबिझ्याँ (अपराध)का घटनामा वृद्धि भएको समेत प्रतिवेदनले देखाएको छ । अघिल्लो आर्थिक वर्षमा ८ बालसुधारगृहमा ३ सय ८२ जना बालिबालिका संरक्षणमा रहेका थिए भने यो वर्ष त्यो संख्या ८ सय २१ पुगेको छ । बालबिझ्याँमा संलग्न बालबालिकालाई बालसुधार गृहमा राख्ने गरिन्छ । प्रतिवेदनले आर्थिक वर्ष ०७४/७५ मा २७ जिल्लाका कारागारमा ६५ बालबालिका अभिभावकसँग आश्रित रहेकामा ०७५/७६ मा ८२ जना रहेको जनाएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेले दुवै आमाबाबुको मृत्यु भई पारिवारिक अभिभावकत्वविहीन बालबालिकाको अभिभावकत्व ग्रहण गरी लालनपालनसहित आधारभूत संरक्षणको व्यवस्था गर्ने तर्फ मन्त्रालय संवेदनशील रहेको जनाउनुभएको छ । हराएका, बेवारिस फेला परेका तथा अपहरणमा परेका बालबालिकाको तत्काल सकुशल उद्धार तथा संरक्षण व्यवस्थापनका लागि बालबालिका खोजतलास समन्वय केन्द्रको निशुल्क नं. १०४ तथा विविध कारणले जोखिममा परेका र विशेष संरक्षणका आवश्यकता भएका बालबालिकाको संरक्षण व्यवस्थापनका लागि निशुल्क बाल हेल्पलाईन नं. १०९८ सञ्चालन भइरहेको जानकारी दिनुभएको छ ।
कार्यक्रममा बालअधिकारकर्मीहरुले बालदुव्र्यवहार (पेडोफाइल) मा संलग्न विदेशी गिरोह नेपालमा सक्रिय रहेको तथा बालगृह खोलेर बस्ने गरेको तथा बालबालिकालाई धर्मपुत्र/धर्मपुत्री बनाएर विदेश लैजानेहरु धेरै रहेको तथ्य भेटिरहँदा नेपाल सरकारको प्रतिवेदनमा यी कुराहरु संलग्न नभएको गुनासो गरेका थिए ।