काठमाडौँ, माघ ११
अन्धा बालबालिका शैक्षिक केन्द्र , लोलाङ, काठमाडौँमा आश्रित बालबालिकाहरुका लागि आयोजित एकदिने छन्द कविता लेखन तथा वाचन कार्यशाला गत माघ ९ गते विहीबार सम्पन्न भयो ।
’मिट दि अथर’ शृङ्खलाअन्तर्गत्को माघ महिनाको यस कार्यशालामा उक्त आश्रममा आश्रित १९ जना बालबालिकालाई लेखकद्वय भुवनहरि सिग्देल र देवु लुइँटेलले छन्द कविता लेखन तथा वाचन प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको पहिलो चरणमा लेखक भुवनहरि सिग्देलले शास्त्रीय छन्द कविता लेखनको तालिम दिनुभएको थियो ।
दोस्रो चरणमा बालसाहित्य लेखक देवु लुइँटेलले लोकछन्दमा कविता लेखन र वाचनबारे प्रशिक्षण दिनुभएको थियो । उक्त अवसरमा उहाँले बालबालिका माझमा चर्चित बालकविताहरु वाचन गर्दै सोही अनुसार अभ्यास गराउँदै तालिम दिनुभएको थियो । लेखक लुइँटेलको छन्दमा छोटो कविता रचना गर्दै आफ्नो परिचय दिने क्रियाकलाप प्रभावकारी भएको थियो ।
दुवै लेखकको तालिमपछि अभ्यासका क्रममा बालबालिकाहरुले सुन्दर कविता रचना गरी सुनाउनु भएको थियो ।
लेखकद्व सिग्देल र लुइँटेलको प्रशिक्षणका क्रममा बालबालिकाहरु एकदमै खुसी हुनुभएको थियो ।
कार्यक्रमको अन्त्यमा लेखक कार्तिकेयले बालकथा लेखन र वाचनबारे छोटो प्रशिक्षण दिनुभएको थियो ।
कार्तिकेय ट्रस्टको सौजन्यमा बालसाहित्य प्रतिष्ठान नेपालद्वारा आयोजित यस कार्यक्रम ममतामयी माता देवनायिकी रामानुजदासीको स्मृतिमा आयोजना गरिएको हो ।
अन्धा बालबालिकाका लागि शिक्षा केन्द्रका अध्यक्ष विनोद काफ्लेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बोल्दै अध्यक्ष काफ्लेले सिर्जनात्मक क्षमताको विकासले अन्धा बालबालिकाहरुको असल व्यक्तित्व निर्माणमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा लेखक कार्तिकेयले आँखा नदेख्ने बालबालिकामा छन्द लेखनको अभ्यासले उनीहरुको सिर्जनात्मक लेखन सिपको विकास हुनुका साथै उनीहरुको गायन सिप तिखार्न पनि लयको ज्ञानले विशेष महत्व राख्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी लिखित बालतथ्यपुस्तक सम्पदा परिचय र सन्दर्भकथाहरु, जलेश्वरी श्रेष्ठ लिखित बालचित्रकथा जंगलको हीही, सुशीला देउजा लिखित नेपाली बालसाहित्यमा एउटै कृतिमा चार भााषा समावेश गरी प्रकाशित पहिलो बालचित्रकथाकृति बाघ र बाबा, कविता पराजुली लिखित बालकविता संग्रह निदरी, शैलेन्दुप्रकाश नेपाल लिखित बालकविता संग्रह जूनलाई चुम्ने इच्छा, कार्तिकेय लिखित बालकथा संग्रहहरु भ्यागुताको न्याय, म चोर होइन, नयन हरायो, अनुष्का पौडेल लिखित बालचित्रकथाकृति बाघभैरव जात्रा लगायत एक दर्जन कृतिहरु उक्त संस्थाको पुस्तकालयलाई उपहार प्रदान गरिएको थियो । साथै ब्रेललिपिमा प्रकाशित रामकाजी कोने, जलेश्वरी श्रेष्ठ, मनोरमा जफा,गङ्गा कर्माचार्य पौडेल र कार्तिकेयका ब्रेलबुकहरु पनि उपहार प्रदान गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष कार्तिकेयकी ममतामयी माता देवानायिकी रामानुजदासीको स्मृतिमा देशका ९ स्थानका अवस्थित बालगृहहरुका यस किसिमको सिर्जनात्मक लेखन तथा वाचन कार्यशाला गरिने कार्यक्रम रहेको कार्तिकेय ट्रस्टले जानकारी गराएको छ । यसअघि बुंगमतीस्थित अपाङ्ग सेवा केन्द्र, लेबोरटरी स्कूल, कीर्तिपुर र प्रयास नेपाल बालुवाटारमा कार्यक्रम सम्पन्न भइसकेको छ ।
वरिष्ठ बालसाहित्य लेखक प्रभा भट्टराईले लेबरोटरी स्कूलमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरुलाई छन्द वाचन तथा लेखनको तालिम दिनुभएपछि यो अभियान सुरु भएको हो । यस अभियानका क्रममा १५ जना विविध परिवेशका लेखकज्यूहरुले फरक क्षमताका बालबालिकाहरुलाई ’मिट दि अथर’ शृङ्खलाअन्तर्गत् प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको छ । अब अन्य ५ स्थानमा यो कार्यक्रमको आयोजना गरिने कार्तिकेय ट्रस्टका अध्यक्ष/संरक्षक मोहन कार्कीले जानकारी गराउनु भएको छ ।
प्रदान गरिएका ब्रेलबुकहरुको सूची यस प्रकार रहेको छ :
१. मुक्तक मोह (मुक्तक सङ्ग्रह) – लेखक रामकाजी कोने
२. हाँस्ने सुगा र अरु बालकथाहरु – लेखक मनोरमा जफा, नेपाली अनुवाद कार्तिकेय
३. पिङ्की र पुतलीहरु र अरु बालकथाहरु – लेखक जलेश्वरी श्रेष्ठ
४. को ठूलो ? – लेखक गङ्गा कर्माचार्य पौडेल
५. नेपाली बालकथा – २० लेखकका नेपाली बालकथाहरु
६. साँच्चैको हिरो हो कृष्णबहादुर र अरु बालकथाहरु – लेखक कार्तिकेय
७. म चोर होइन र अरु बालकथाहरु – लेखक कार्तिकेय
८. वाहा ! दुनोट पसलेकी छोरी र अरु बालकथाहरु – लेखक कार्तिकेय
९. पिङ्की एण्ड बटरफ्लाइज (बालकथाहरु) – लेखक जलेश्वरी श्रेष्ठ, अङ्ग्रेजी अनुवाद महेश पौड्याल ।