नेपाली बालसाहित्यमा सुशीला देउजा र महिमा बालउपन्यास : एक चर्चा

मैले पढेको किताब

सुशीला देउजा कथा, कविता, नियात्रा र लघुकथा लेखनमा परिचित साहित्यकार हुनुहुन्छ । उहाँका प्रयासको पहिलो खुड्किलो (कथा संग्रह, २०६३), नयाँ बिहानी (कविता संग्रह, २०६३), पर्दाभित्रको यथार्थ र काबुल यात्रा (कथा संग्रह) र यात्रा संस्मरण, २०६४०, दोभान (लघुकथा र कविता संग्रह, २०६६), केही पाइला केही अनुभूति (विकसितदेखि द्वन्द्प्रभावित मुलुकहरुको भ्रमणबाट, २०६८), चारु (कथा संग्रह, २०७०), भगवानको रुप (सचित्र बालकथासङ्ग्रह, २०७१), बाघ र बाबा (बालचित्रकथाकृति, २०७४), पेटको आगो (लघुकथासंग्रह, २०७५), चारुमतीकाे रहस्य (बालचित्रकथा, २०७७) र सम्पदा दर्शन- भाग १ र २ (बालनियात्रासंग्रह, २०७८) गरी १३ वटा कृतिहरु प्रकाशित छन् । उहाँले ‘दुर्गादेवी उत्कृष्ट बालसाहित्य लेखक पुरस्कार, २०७४’ , सूचक सम्मान, नेपाल इन्जिनियरिङ श्रीमती समाज सम्मान, कपन बानेश्वर साहित्यिक साप्ताहिक पत्रिकाबाट उत्कृष्ट लेखक सम्मान, २०७२ लगायत विभिन्न सम्मान र पुरस्कारहरु प्राप्त गर्नुभएको छ । उहाँले त्रिविविबाट स्नातक गर्नुभएको छ ।

वास्तवमा नेपाली बालसाहित्यमा सुशीला देउजा नयाँ नाम होइन । उहाँ यस क्षेत्रमा निरन्तर सक्रिय हुनुहुन्छ । यसअघि नेपाली बालसाहित्यमा पहिलो प्रयासस्वरुप एउटै कृतिमा चार भाषा समावेश गरी उहाँको बाघ र बाबा बालचित्रकथाकृति प्रकाशित भएको थियो । उक्त कृतिका लागि उहाँले दुर्गादेवी उत्कृष्ट बालसाहित्य लेखक पुरस्कार, २०७४ पनि प्राप्त गर्नु भएको थियो । उक्त कृतिमा एकदिन एउटा बाघ दौडिँदै आएर बाबाको कुटी छेउमा भ्वाक्क पछारिन्छ । त्यसपछि बाबाले बाघको उपचार गर्छन् । अनि बाघले पनि बाबालाई आपत परेको बेलामा सहयोग गर्छ । उक्त किताबमा रहेका सुन्दर चित्रहरु वरिष्ठ चित्रकार अविन श्रेष्ठले बनाउनुभएको हो । चारवटा भाषामा एकैचोटि एउटै किताबमा प्रकाशित यो नेपालको पहिलो बालचित्रकथाको किताब हो । अनुवादकहरु डा। रामदयाल राकेश ९मैथिली०, नरेशवीर शाक्य ९नेपाल भाषा० र महेश पौड्याल ९अङ्ग्रेजी० ले यस किताबमा काम गर्नुभएको छ । यस कृति बालसाहित्य प्रतिष्ठान नेपालबाट प्रकाशित भएको हो ।

वास्तवमा अहिले नेपाली बालसाहित्यमा बालउपन्यासको अत्यन्त ठुलो अभाव रहेको छ । यो अभावलाई पूरा गर्न नसकिएको अवस्था छ । यस्तो अवस्थामा लेखक देउजा नयाँ बालउपन्यास महिमा लिएर हामी माझमा आउनुभएको छ । उहाँलाई हार्दिक स्वागत र बधाई छ ।

प्रस्तुत बालउपन्यास महिमा लेखक देउजाको पहिलो बालउपन्यास हो । हराएका बुवा खोज्न एउटी छोरीले गरेकी संघर्षको कथा नै महिमा उपन्यासको मूल कथा हो । बुवालाई असाध्यै माया गर्ने छोरी महिमाका माध्यमले लेखक देउजाले ग्याजेटमा रमाइरहेको वर्तमान पुस्तालाई परिवारको महत्वबारे केही कुरा भन्नुभएको छ । वास्तवमा यस उपन्यासकी नायिका महिमा मार्फत् लेखिका देउजाले आमाबुवाप्रति सहिष्णु बन्न र आफ्नो कर्तव्यप्रति सजग हुन बालबालिकालाई आव्हान गर्नुभएको छ । ग्याजेटमा रमाएर आफ्नै घरमा पनि आमाबुवाबाट पूरै अलग भई जीवन निर्वाह गर्नतर्फ अग्रसर भइरहेको वर्तमान नयाँपुस्ताका लागि महिमा एउटा फरक कथा हो । यस कथाका माध्यमले आफूसँग हुँदा महत्व नदिइएका आमाबुवाको महत्व उहाँहरु हामीमाझ नहुनुभएपछि कति धेरै हुन्छ भन्ने कुरालाई मार्मिक ढंगले भनिएको छ । प्रकाश रञ्जितको चित्रकलाले किताबलाई अझ आकर्षक बनाएको छ ।

पहिलो प्रयासमा यति राम्रो बालउपन्यास रचना गर्ने लेखिका देउजालाई बधाई छ । उहाँले यस उपन्यास तयारी गर्दाको क्रममा बालबालिकासँग अन्तरक्रिया गर्दै उनीहरुलाई पाण्डुलिपि पढ्न दिएर प्राप्त सुझावबारे सचेत भई यो उपन्यास तयार गरेको सम्झना साझा गर्नुभएको छ । कृतिमा समावेश लेखकको भनाइ मन्तव्यका क्रममा लेखिका देउजा भन्नुहुन्छ “वास्तवमा असल बालसाहित्य सिर्जना गर्न धेरै मिहिनेत गनुपर्ने रहेछ । यो त सुरुवात मात्र हो । बालबालिकाको संगतले मैले धेरै कुरा सिकेकी छु ।”

साँच्चै महिमा कृति प्रकाशनअगाडि चेल्सी स्कुलका बालबालिकाहरु माझ गरिएको पाण्डुलिपिमाथि छलफल कार्यक्रम र बालबालिकाबाट प्राप्त सुझावहरुले लेखक मनलाई झकझक्याएको छ । लेखिका देउजाको यो उत्साह र जागरले भविष्यमा उहाँका अन्य उपन्यासहरु पनि पढ्न पाइनेछ भन्ने विश्वास राख्दै उहाँलाई यस कृतिको सफलताको शुभकामना छ । असी पृष्ठको यस सचित्र बालउपन्यासको मूल्य रु। २०५ रहेको छ ।

कार्तिकेय

Leave a Reply

Your email address will not be published. Required fields are marked *