केयर बालगृहबारे बोल्यो बालअधिकार परिषद्

समाचार

काठमाडौँ, २०७७ साउन २३

बुढानीलकण्ठ, काठमाडौँस्थित केयर बालगृहबारे राष्ट्रिय बालअधिकार परिषद्ले प्रेस विज्ञप्ती जारी गरेको छ । बालगृहमा रहेका बालबालिकालाई रुवाउँदै लगिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सञ्जालमा विभिन्न विचारहरु व्यक्त गर्दै परिषद्को उक्त कदमको पक्ष र विपक्षमा विभिन्न विचारहरु पोस्ट भएका थिए ।

बालअधिकार परिषद्वारा हिजो साउन २२ गते विहीवार जारी विज्ञप्तीमा मिति २०७७ साउन २१ गते केयर बालगृहबाट उद्दार गरिएका ११ जना बालिकालाई अस्थायी संरक्षण केन्द्रमा पुनःस्थापना गरिएको जनाइएको छ ।

विज्ञप्तीमा साउन २१ गते केयर बालगृह रहेको स्थान बुढानीलकण्ठ नगरपालिका वडा नं ११ को वडा कार्यालय, बालबालिका खोजतलास समन्वय केन्द्र, भृकुटीमण्डप र महानगरीय प्रहरी प्रभाग कपनको संयुक्त टोलीले उक्त उद्दार कार्य सम्पन्न गरेको बताइएको छ ।

बालबालिकालाई उद्दार गनुपर्ने कारणबारे प्रस्ट पार्दै विज्ञप्तीमा बालअधिकार परिषद्ले भनेको छ – केयर बालगृहकी सञ्चालिकाले मिति २०७७ साउन १२ गते बेवारिसे शिशु चौरमा फेला परेको र आफूले संरक्षण गरिरहेको भन्ने जानकारी विभिन्न सामाजिक सञ्जाल मार्फत् सार्वजनिक गरे पश्चात् देश विदेशबाट आर्थिक सहयोग जम्मा भइरहेको सूचना प्राप्त भएपछि मिति २०७७ साउन १३ गते यस परिषद्को नेतृत्वमा बालबालिका खोजतलास केन्द्र १०४ र स्थानीय प्रहरी सहितको टोलीले उक्त बालगृह तथा शिशुको बारेमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा बालगृह सञ्चालिकाले सोही बालगृहका बालिकाले चौरमा खेल्ने क्रममा शिशु बेवारिसे अवस्थामा फेला परेको बताएकी थिइन् । तर केही दिन पश्चात उक्त बालिकालाई जन्म दिने आमा काठमाडौँको एक गैर सरकारी संस्थामा रहेको कुरा अनुसन्धानको क्रममा जानकारी भयो ।

यसरी बेवारिसे फेला परेको भनिएको शिशु सम्बन्धी विवरण पछिल्लो जानकारीबाट झुटो देखिएको, विभिन्न व्यक्ति तथा दाताबाट चन्दा लिएको, बालगृह सञ्चालकको काम कारवाही शंकास्पद रहेको, बाल गृहमा रहेका बालिकाहरुको आवश्यक रेखदेख, संरक्षण तथा व्यवस्थापन गर्ने अन्य कर्मचारी नरहेको, यस घटनालाई लिएर बालगृहमा पत्रकार तथा चन्दा दाताको अत्याधिक भिडभाड, होहल्ला र टिकाटिप्पणी भै त्रासको वातावरण सिर्जना भए लगायतको अवस्थाले बालगृहमा रहेका बालिकाहरुलाई मानसिक र सामाजिक रुपमा हुनसक्ने नकारात्मक असर पर्नबाट बचाउन तथा आश्रित अन्य बालिकाहरुको विवरणको वारेमा आवश्यक थप छानविन गर्नुपर्ने समेत देखिएकाले परिषद्को गम्भीर ध्यानाकर्षण हुन गई विशेष संरक्षणको आवश्यकता भएका बालबालिकालाई बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ४८, ४९ र ५० बमोजिम संरक्षण गनुपर्नेमा उक्त शिशुलाई संलग्न पक्षले दफा ६६ को उपदफा २) को खण्ड ट र द बमोजिम बालगृहमा राखेको अवस्था देखिन गएकोले उक्त बालगृहबाट ११ जना बालिकाको उद्दार गरिएको हो ।’

बालअधिकार परिषद्का अधिकृत÷सूचना अधिकारी रामबहादुर चन्दको हस्ताक्षरमा जारी विज्ञप्तीमा परिषद्ले सम्बन्धित सबै पक्षलाई बालबालिकाको सर्वोतम हितलाई ध्यान दिई बालबालिका सम्बन्धी कानुन तथा मापदण्ड बमोजिम बालअधिकारको संरक्षण, प्रवर्धन र परिपूर्तिमा जिम्मेवार हुन हार्दिक अपिल पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *