भाइरसको प्रकृति नै म्युटेसन अर्थात् रुप परिवर्तन गरिरहनु हो । सन् २०१९ को अन्त्यतिर चीनको वुहान शहरमा पहिलो पटक फेला परेको कोरोना भाइरस लाखौं पटक म्युटेसन भएको छ । यसको रुप पटकपटक परिवर्तन भइरहेको छ । पछिल्लो पटक म्युटेसन भएर बनेको ओमिक्रोन भेरयन्ट हो । जुन निकै संक्रामक र छिटो सर्ने प्रकृतिको रहेको वैज्ञानिक अनुसन्धानबाट पत्ता लागेको छ । पहिलो पटक यस वर्षको नोभेम्बरमा दक्षिण अफ्रिकामा भेटिएको ओमिक्रोन संसारका १ सय ५० भन्दा बढी देशहरुमा पुगिसकेको छ । संसारभर लगाइएका कोरोना भाइरस विरुद्धका खोपले पनि ओमिक्रोन संक्रमण रोक्न नसक्ने भनिएपछि विश्व स्वास्थ्य संगठन लगायतका निकायले पनि निकै चासो र चिन्ताका रुपमा हेरेका छन् ।
हालै गरिएको बेलायती र अमेरिकी अध्ययनले ओमिक्रोन संक्रमण रोक्न कोरोना विरुद्ध लगाइएका दुई डोज खोप पर्याप्त नभएको निष्कर्ष निकालेका छन् । यिनै खोपको तेस्रो डोज लगाएपछि भने संक्रमण रोक्न ७५ प्रतिशत सम्म प्रभावकारी भएको अध्ययनबाट देखिएको छ ।
कसरी हुन्छ त तेस्रो डोज अर्थात् बुस्टर डोज प्रभावकारी ?
पछिल्लो वैज्ञानिक अध्ययनले कोरोना विरुद्धका दुई डोज कामै नलाग्ने नभई रोग प्रतिरोधात्मक क्षमता विरुद्ध लड्न कम प्रभावकारी हुने देखिएको छ । तर जब तेस्रो डोज खोप लागाइनछ त्यसले शरीरमा भएको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउने र त्यसले ओमिक्रोन संक्रमण हुनबाट रोक्ने बताइएको छ । साथै तेस्रो डोज खोप लगाएकालाई संक्रमण भइहालेमा पनि त्यसले जटिलता आउन नदिने र अस्पताल भर्ना हुनुपर्ने अवस्था नआउने बताइएको छ ।
जसरी विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह अध्ययन गरेपछि ज्ञान र सिकाइको अवस्था परिपक्व हुँदै जन्छ ठिक त्यसै गरी कोरोना विरुद्धका तीन डोज खोपले काम गर्ने वैज्ञानिक निष्कर्ष रहेको छ ।
Photo : BBC