चितवन, १२ माघ (रासस)/ आफन्तको मृत्युपश्चात् समवेदना प्रकट गर्न लगिने भेटी व्यवस्थापन गर्न समस्या हुने गरेको पाइएको छ । पछिल्लो समय भेटीका रूपमा लगिने समवेदना फ्रेम, फलफूल, चिनी, मिश्रीजस्ता वस्तुको व्यवस्थापनमा समस्या हुनेगरेको हो । खानेकुरा अनाथालय/आश्रममा पठाइने भए पनि समवेदना व्यक्त गरिएका फ्रेम व्यवस्थापन झन्झटिलो हुने गरेको छ ।
तेह्रौँ दिनको कर्मसम्म बाहिर देखाएर राखिए पनि त्यसपछि त्यसको व्यवस्थापन जटिल बन्ने गरेको भुक्तभोगी बताउँछन् । कतिपयले त फ्रेम नल्याउन अनुरोध गर्ने गरेका छन् । चितवनका पण्डित शेखर अर्यालले समवेदनाको अर्थ सम भनेको बराबर र वेदना भनेको दुःख हो । यसको अर्थ तपाईँहरु बराबर दुःखी छु भन्ने हो । त्यही समवेदना प्रकट गर्न जाँदा किरीयापुत्रीले घरका सामग्री निकाल्न अप्ठ्यारो पर्ला भनेर घ्यू, चामल, चिनीजस्ता खाद्यान्न लगिने गरेको उहाँको भनाइ छ ।
पछिल्ला दिनमा फ्रेमसहित समवेदनापत्र लग्ने गरिन्छ । पण्डित अर्याल गरुडु पुराणमा भेटीका रूपमा के आवश्यक छ, त्यही वस्तु लैजानुपर्ने उल्लेख भएको बताउनुहुन्छ । लगेका वस्तु उपयोगमा नआएर राम्रो व्यवस्थापन नभएमा लैजाने र लिने दुवै दोषी हुने पुराणलाई इङ्गित गर्दै अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “भेटीका रूपमा समर्पण गर्दा आवश्यक नभएको वस्तु लैजानु बेकार हो ।”
सामाजिक अभियानकर्मी मीना खरेलले गत वर्ष आमाको देहावसान हुँदा १७७ फ्रेममा समवेदनापत्र प्राप्त भएको बताउनुभयो । ती फ्रेम १३औँ दिनपछि व्यवस्थापन गर्न जटिल बनेको उहाँको अनुभव छ । घरको मन्दिरमा १०० वटा अटे भने बाँकी फ्रेम निकालेर पत्रमात्रै फाइलमा राख्नुपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अपमान गर्न भएन, मेरो त मन्दिर थियो, नहुनेले कहाँ राख्ने ? ।” फ्रेमको सट्टामा समवेदनापत्र मात्रै लैजाँदा उपयुक्त हुने सुझाव उहाँले दिनुभयो । केही थप दिन मन लागे कोषमा राखिदिँदा सदुपयोग हुने उहाँको भनाइ छ ।