बाराक ओबामा अमेरिकाका पूर्व राष्ट्रपति हुनुहुन्छ । उहाँ अमेरिकामा राष्ट्रपति हुने काला जातिका पहिलो नेता हुनुहुन्छ । राजनीतिमा लागेको साँढे चार वर्षको छोटो समयमा नै विश्वकै शक्तिशाली पदमा पुग्न सफल हुनुभएका आदरणीय नेता ओबामाको बाल्यकाल यहाँ प्रस्तुत गरिएको छ । उहाँ आफ्नो बाल्यकालको सम्झना सुनाउँदै भन्नुहुन्छ :
म चार अगस्त १९६१ इ.सं. मा हवाइको होनोलुलुमा जन्मिएको हुँ । मेरो बुवाको नाम बाराक ओबामा सिनियर र आमाको नाम स्टेनले एन डनहम हो । म दुई वर्षको हुँदा मेरो आमाबुवाको सम्बन्धबिच्छेद पारपाचुके डिभर्स भएको थियो । डिभर्स भएपछि बुवा केन्या फर्केर जानुभयो । त्यसको केही वर्ष पछि मैले मेरो बुवालाई भेटेर मेरो दुईजना बुवा किन ? तपाईंले मेरी आमालाई किन छोड्नु भयो ? भन्ने प्रश्न गरेको थिएँ । त्यो बेला म सानै थिएँ । मेरो बुवाले मलाई केही भन्नु भएन । मलाई हेरेर मुसुमुसु हाँस्नु मात्र भयो । यसरी मैले भेटेर फर्केको केही समय पछि बुवा कार दुर्घटनामा परेर बित्नुभयो ।
बुवासँग डिभोर्स भएपछि मेरी आमाले इन्डोनेसियाको मुश्लिम युवक लोलो सोयटरोसँग विवाह गर्नु भयो । उनी मेरा सौतेनी बाबु भए । त्यसपछि आमा र म दुवैजना त्यो नयाँ बुवाको घर इन्डोनेसिया गयौं । त्यहाँ मलाई मुस्लिमहरुले पढ्ने विद्यालय मदरसामा भर्ना गरियो । म त्यही पढ्न थालें । मलाई त्यो विद्यालयमा पढ्दा खुब समस्या भयो । मैले त्यहाँको भाषा नबुझ्ने भएकाले म पढाइमा कमजोर हुन थालें ।
इन्डोनेसियामा बोलिने इन्डोनेसियाई भाषालाई ‘भाषा’ भनिदो रहेछ । त्यो भाषाको कारणले मैले दुःख पाएँ । भाषा नबुझ्नाले मैले खेल्ने साथी पाउन नि सकिनँ । त्यसपछि म एकान्त मनपराउँन थालें । सँधै विद्यालय छुट्टी भएपछि समुद्रको किनारमा गएर बस्थें । एक्लै बसेर सोच्न मलाई रमाइलो लाग्थ्यो । समुद्रको किनारमा रहेको ठूलो ढुङ्गामाथि बसेर म धेरै कुरा सोचिरहन्थें । मलाई आमाबुवाले ‘बेरी’ भनेर बोलाउँनु हुन्थ्यौ ।
एकदिनको कुरा हो, म समुद्रको किनारमा बसेर मेरै उमेरका साथीहरु खेलेको हेरिरहेको थिएँ । ती साथीहरुले मेरो नजिक आएर मेरो काँधमा हात राखेर मलाई उनीहरुको भाषामा केके भने । मैले ‘या’ भनेर भनें । उनीहरुले तीनपल्ट सम्म सोधे । मैले ‘या’ मात्र भनें । मलाई उनीहरुको भाषा नआउने भएकोले म अलमलिरहेको थिएँ । त्यसपछि उनीहरुले रिसाउँदै मलाई समुद्रमा धकेलिदिए । म हत्तपत्त पौडँदै बाहिर निस्किएँ । मैले मलाई धकेल्ने केटा छेउमा गएर ‘ह्वाट इज दिस’ भनें । त्यसपछि बल्ल उनीहरुले बल्ल यो त गोरेको काले अङ्गेजी छोरा रहेछ भनेर भने । ला यो त धनी बाबुको छोरा हुनुपर्छ, यसले पोल लगायो भने त हामीले मदरसाबाट छुट्टी हुनुपर्छ भनेर उनीहरु डराए । त्यसपछि उनीहरु सबैले सरी फ्रेन्ड भनेर मसँग माफी मागे । म पनि केही छैन भनेर मुस्कुराउँदै बाटो लागें ।
घरमा गएर मैले सबै कुरा आमालाई सुनाएँ । मैले चाहेको भए उनीहरुको पोल लगाएर मज्जा चखाउँन नि सक्थें तर सरी भनेकोले छोडिदिएँ भनेर आमालाई धक्कु पनि लगाएँ । आमाले वन्डरफुल भनेर भन्नुभयो । आमाको मुखबाट यस्तो प्यारो शब्द सुन्न पाएको दिन म निकै खुसी भएँ ।
भाइबहिनीहरु, ‘मेरो बाल्यकाल’ नामक यो अडियो किताबको लेखन दाजु कार्तिकेयले र वाचन दिदी सरिता अर्यालले गर्नुभएको हो । यस अडियो किताबमा १९ जना आदरणीय व्यक्तित्वहरुको बाल्यकालको रमाइलो सम्झना रहेको छ । दृष्टिविहीन बालबालिकाका लागि तयार गरिएको यो किताब कार्तिकेय ट्रस्ट नेपाल र बालसाहित्य प्रतिष्ठान नेपालको सहयोग र केटाकेटी अनलाइन बालपत्रिकाको संयोजनमा तयार गरिएको हो ।