‘विनयशील विनय’ अध्ययन गर्दा

मैले पढेको किताब

        – अरुणबहादुर खत्री “नदी”

            साहित्यकार विजयराज आचार्यले लेख्नुभएको ‘विनयशील विनय’ नामक जीवनी कृति २०७७ सालमा प्रकाशित भएको छ । यस कृतिभित्र पाल्पामा जन्मेर रिडीमा बाल्यकाल,  जोगीको सङ्गत, गुल्मीको ठिटो बाग्लुङमा बिहे, अड्किदै अघि बढेको शिक्षा लगायत विभिन्न १३ वटा शीर्षकका साहित्यकार विनय कसजूका बारेमा लेखिएका सामाग्रीहरु राखिएका छन् ।

यस कृतिभित्रको पाल्पामा जन्मेर रिडीमा बाल्यकाल शीर्षकको पहिलो लेखमा स्रष्टा विनयकुमार कसजूको जन्म वि.सं. २००४ साल श्रावण महिनामा पाल्पा जिल्लाको तानसेन बजारको भगवती टोलमा भएको हो । उनको जन्म आमा तारादेवी कसजू र बुबा मोतीकुमार कसजूबाट भएको रहेछ । आर्थिक रुपमा सम्पन्न परिवारमा जन्मिएको भएता पनि विपन्नको पक्षमा चिन्तित भई उनीहरुको जीवनस्तर उकास्न लागिपर्ने कसजूको पुर्खाचाहिँ भक्तपुरबाट व्यापारको सिलसिलामा पाल्पा हुँदै गुल्मीको रिडी पुगेको रहेछ । विनय कसजूको बाल्यकाल र किशोरावस्था गुल्मीको रिडीमा बितेको रहेछ ।

रिडी नेपालकै चर्चित धार्मिकस्थलमध्ये एक हो । रिडीमा लगेर मान्छे जलाएमा सिधै स्वर्ग पुगिन्छ भन्ने जनविश्वास थियो । त्यही विश्वासले गर्दा गुल्मी जिल्लाबाहेक अर्घाखाँची, प्यूठान, स्याङ्जा लगायतका जिल्लाहरुबाट पनि धेरै दिन लगाएर अन्तिम संस्कार गर्न लास रिडीमा ल्याउने चलन थियो जोगीको सङ्गत शीर्षकभित्र विजयराजले लेखेका छन् ।

            एस.एल.सी. उत्तीर्ण गरेर आई.ए. पढ्न कसजू भारतको वाराणसी गए । त्यहाँ फेरि उनको सङ्गत जोगीसँग हुन पुग्यो । गुल्मीको ठिटो बाग्लुङमा बिहे शीर्षकभित्र विनय कसजूको विवाह वाग्लुङ बजारका तेजबहादुर राजभण्डारी र रत्नदेवी राजभण्डारीकी छोरी गङ्गादेवी राजभण्डारीसित २०३२ सालमा भएको  थियो । कसजू दम्पत्तीको कोखबाट तीन छोरा अभिनव, दीपङ्कर र सरोवरको जन्म भएको थियो विजयराजले लेखेका छन् ।

साहित्यकार विनयकुमार कसजूका बालकथा र लघुकथा धेरै पत्रिकाहरुमा पढ्न पाइरहन्थ्यो । सामाखुसी साहित्य समाजको कविगोष्ठी कार्यक्रममा पनि कसजू बेला बेलामा मर्निङ स्टार बोडिङ स्कुलमा सहभागी हुन आउनुहुन्थ्यो ।

अड्किदै अघि बढेको शिक्षा शीर्षकभित्र आई.ए. उत्तीर्ण भएपछि कसजू विभिन्न संघसंस्थामा सक्रिय भए । त्यसै समयमा उनी रुरु गाउँ पञ्चायतको प्रधानपञ्च पनि भए । तिनै कारणले गर्दा उनले स्नातक तहको अध्ययनलाई कलेजमा नियमित उपस्थित भएर निरन्तरता दिन सकेनन् । उनले स्वाध्ययनबाट नै परीक्षामा मात्र सामेल भएर २०२९ सालमा पाल्पाको तानसेनमा रहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको त्रिभुवन डिग्री कलेजबाट स्नातक तह उत्तीर्ण गरे त्यसपछि उनको औपचारिक शिक्षामा पूर्णविराम लाग्यो भनिएको छ ।

            प्रधानपञ्चदेखि बामपन्थी बुद्धिजीवीसम्म शीर्षकभित्र २०२४ सालदेखि उनी औपचारिक रुपमा राजनीतिमा होमिए । त्यतिबेला उनी २० वर्षका थिए । कसजूले वामपन्थी आन्दोलनलाई राजनीतिक रुपमा क्रियाशिल भएर पत्रकारिता र साहित्यको क्षेत्रबाट उल्लेखनिय योगदान पु¥याएका थिए विजयराजले लेखेका छन् । साहित्यमा प्रवेश शीर्षकभित्र कसजूको पहिलो रचना रिडीको परिचय शीर्षकमा गोरखापत्रको शनिबारीय अङ्क २०१९ सालमा प्रकाशित भएको थियो भनिएको छ ।

लघुकथामा योगदान शीर्षकभित्र विनय कसजू २०३० को दशकदेखि लघुकथा लेखनमा समर्पित भएर लागेका थिए । उनले आफ्ना चारवटा र विजयसागरका चारवटा लघुकथा राखेर २०३३ सालमा भाग–१ र २०३४ सालमा भाग–२ चौतारी हवाई पत्रिका प्रकाशन गरेका थिए । बालसाहित्यमा योगदान शीर्षकभित्र उनले २०२२ सालदेखि नै फाटफूट रुपमा बालसाहित्य लेखेका थिए । खासमा उनी २०६० को दशकदेखि भने बालसाहित्यमै समर्पित भएर लागे र सबैभन्दा बढी उपलब्धि पनि यही विधामा हासिल गरेका रहेछन् ।

            बिनय कसजू बहुप्रतिभाशाली व्यक्तित्व थिए । उनले साहित्यिक पुस्तक मात्र लेखेनन् तथ्य पुस्तक र सैद्धान्तिक पुस्तक पनि लेखेका रहेछन् । उनी कुशल सम्पादक पनि हुन् । उनले जिन्दगीको लामो समय र निरन्तर गरिरहेको कर्म हो सम्पादन । उनले सुरुमा विभिन्न पत्रपत्रिका, हवाईपत्र सम्पादन गरे भने पछिल्लो समयमा साहित्यका खासगरी बालसाहित्यका पुस्तक सम्पादन गरेर यस क्षेत्रमा उल्लेखनिय योगदान दिन सके । उनी कुशल सम्पादक थिए भनिएको छ ।

            विनय कसजूले विभिन्न संघसंस्थामा आवद्ध भएर र स्वतन्त्र रुपमा आमसञ्चार र पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका रहेछन् । उनले कलिलै उमेरबाट पत्रकारिता गर्न थालेका थिए । २०२२ सालदेखि भैरहवाबाट प्रकाशित हुने दैनिक निर्णय पत्रिकाको संवाददाताको रुपमा रिडीबाट उनले काम गर्न लागेका थिए । सञ्चारक्षेत्रका संघसंस्थामध्ये उनले सबैभन्दा महत्वपूर्ण योगदान दिएको संस्था भने राष्ट्रिय सूचना आयोग हो । आफू प्रमुख आयुक्त हुंदा उनकै नेतृत्वमा आयोगले कलेज, स्कुल जुनसुकै तहका विद्यार्थीले चित्त नबुझेमा आफ्नो परीक्षण गरेको उत्तरपुस्तिका हेर्न पाउने ऐतिहासिक निर्णय गरेको थियो । यो निर्णय हुनुभन्दा पहिले विद्यार्थीलाई रिटोटलिङ गर्ने अधिकार मात्र थियो विजयराजले लेखेका छन् ।

कसजूले बालसाहित्य सम्बन्धि दुईवटा संस्था बालवाङ्मय तथा अनुसन्धान केन्द्र र नेपाल बालसाहित्य समाजमा आबद्ध भएर महत्वपूर्ण योगदान गरेका रहेछन् । उनले आफ्नै नेतृत्वमा २०६९ सालमा स्थापना भएको बालवाङ्मय तथा अनुसन्धान केन्द्रबाट लेखन, प्रशिक्षण र सम्पादनको क्षेत्रमा महत्वपूर्ण योगदान गरेका रहेछन् ।

            प्रस्तुत कृति ‘विनयशील विनय’ नेपाली साहित्य, पत्रकारिता, मानवअधिकार र सूचनाप्रविधिका क्षेत्रमा महत्वपूर्ण योगदान दिने आफ्ना अग्रज र गुरु विनय कसजूप्रति सम्झिदै विजयराज आचार्यले लेखेका हुन् । साहित्यकार कसजूले पत्रकारिता तथा आमसञ्चारमा योगदान पुर्याएवापत पनि थुप्रै सम्मान पुरस्कार पाउन सकेका छन् । उनले गोपालचन्द्र गौतम पत्रकारिता पुरस्कार २०५८ सालमा प्राप्त गरेका थिए भने २०६० सालमा प्रेस चौतारीले उनलाई सम्मान गरेको थियो ।

पछिल्लो समयमा बालसाहित्यमा समर्पित भएर लाग्दालाग्दै २०७६ मङ्सिर १० गतेका दिन ७२ वर्षको उमेरमा उनको असामयिक निधन भएको थियो । यस पुस्तकका लेखक विजयराजले बालसाहित्य सम्बन्धि धेरै पुस्तकहरु निकाल्दै आएका छन् । भविष्यमा उनका यस्तै अन्य कृतिहरु पनि निस्कन सकोस् भन्न चाहन्छु ।

कृतिः विनयशील विनय

लेखकः विजयराज आचार्य

प्रकाशनः विवेक सिर्जनशील प्रकाशन प्रा.लि.

मूल्यः रु. १००।–

पहिलो संस्करणः मङ्सिर, २०७७

पृष्ठः ३६

Leave a Reply

Your email address will not be published. Required fields are marked *