शर्मिला खड्का (दाहाल) को बाल्यकाल

Featured मेरो बाल्यकाल साहित्य

आदरणीय लेखक शर्मिला खड्का (दाहाल) वरिष्ठ बालसाहित्य लेखक हुनुहुन्छ । आख्यान लेखनमा सुपरिचित लेखक शर्मिलाको रमाइलो बाल्यकाल यस अङ्कमा हामीले प्रस्तुत गरेका छौँ । उहाँ आफ्नो बाल्यकालको अनुभव सुनाउँदै भन्नुहुन्छ :

मेरो जन्म धरानको भोटेपुल भन्ने ठाउँमा भएको हो । हाम्रो घरअगाडि ठुलो चौडा भएको फराकिलो बाटो थियो । यो बाटोलाई धनकुटे रोड भनिन्थ्यो । पहिला धनकुटा जानलाई यही बाटो खनेको थियो रे सडक विभागले । त्यसैले यसलाई धनकुटे रोड भनिएको हो रे । बाटो धुलैधुलौ थियो । अहिलेको जस्तो बाक्ला घरहरू थिएनन् । धरानबजारको माथि सिरानमा विजयपुर डाँडा थियो । विजयपुर डाँडामा दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर बाबा को ऐतिहासिक मन्दिर थियो । अहिले पनि छ ।

हाम्रो समयमा खेल्ने साधन खासै हुँदैनथ्यो । धुलोमाटोमा ढुङ्गाले कोरेर तिता भन्ने खेल खेल्थ्यौँ । ढुङ्गाको गोटी बनाएर खेल्थ्यौँ । डोरी र डण्डीबियो पनि हाम्रो खेल हुन्थ्यो । तर म त्यति धेरै खेल्न पाउँदिनथेँ । खेल्ने रहर धेरै हुँदाहुँदै पनि भाइ हेर्नुपर्ने अनि घरको काम गर्नुपर्ने भएकाले म त्यति खेल्न पाउँदिनथेँ । बालककालमा रहर पुग्नेगरी खेल्ने मेरो धोको अधुरै रह्यो ।

मेरो आमाहरू दुई जना हुनुहुन्छ । म कान्छी आमातिरको जेठी छोरी हुँ । दुईजना आमाका दसजना छोराछोरी हामी एउटै घरमा हुर्कियौँ । म कक्षा छमा पढ्दै गर्दा आमाले भाइ पाउनुभएको थियो । आमाले भाइ पाएपछि आमा निकै विरारी हुनुभयो । आमा विरामी हुनुअघि पनि मैले घरको धेरै काम गर्नुपर्दथ्यो । पछि भाइ जन्मेपछि भाइलाई बोकीबोकी हिँडनुप¥यो ।
ठुलो तीनतले घर थियो हाम्रो । हाम्रो घरसँगै जोडिएको काकाको अर्को दुइतले ठुलो घर थियो । हामी केटाकेटीमात्र बीस पच्चीसजना हुन्थ्यौँ । छोरीमान्छेलाई अर्काको घर जाने जात भनेर हेलाँ गरिन्थ्यो । पढ्नलाई समय पाइँदैनथ्यो । जबरजस्ती वा झगडा गरेर पढ्न बस्नुपर्दथ्यो ।

घरमा काम सघाउने सहयोगी भए पनि घरको काम उत्तिकै गर्नुपर्दथ्यो । धाराबाट पानी ल्याउनु, लुगा धुनु, चियाखाजा पकाउनु, घर लिप्नु, खाना पकाउनु, मही पार्नु, घर सफा गर्नु आदि मनग्गे काम हुन्थ्यो । यी काम छोराहरू गर्दैनथे । उनीहरूलाई गाग्राको पानी पनि हामीले सारेर दिनुपर्दथ्यो ।

म सानोमा साहै चञ्चले थिएँ । चुप लागेर बस्नै सक्दिनथेँ । कि त काम गरिरहनुपर्दथ्यो । कि त बोलिरहनु पर्दथ्यो । कि त पढिरहनु पर्दथ्यो । छोरीमान्छेलाई मान्छेजस्तो पनि व्यवहार गरिदैनथ्यो । यसरी हेलाँ गरी बोलेको देख्दा मलाई पढेर केही गरेर देखाउँ भन्ने लाग्दथ्यो । मलाई धेरैभन्दा धेरै किताब पढ्न मन लाग्दथ्यो । तर पढ्नलाई किताब पाउँदिनथेँ । घरको वातावरण लेखपढ गर्ने थिएन । बुवाको गाडीहरू थिए । ठेक्कापटटा गर्नुहुन्थ्यो । दाजुहरू त्यही गाडीमा हिँडथे । बुवा हरदम काममा व्यस्त रहनु हुन्थ्यो । कहिलेकाहीँ मात्र आक्कलझुक्कल बुवाको मुख हेर्न पाइन्थ्यो । हामी बुवासँग असाध्यै डराउँथ्यौँ । धेरै कम बोल्थ्यौँ । कोर्सभन्दा बाहिरको किताब पढन पाइँदैनथ्यो । त्यस्तो किताब पढे छोराछोरी बिग्रन्छ भनेर भनिन्थ्यो । मलाई भने यस्तो किताब पढन खुव मन पर्दथ्यो । पछि हाम्रो काकाको घरमा धरानको थानाको थानेदार भाडामा बस्न आउनुभयो । उहाँको श्रीमती भारतीय पत्रपत्रिका खूब पढ्नुहुन्थ्यो । त्यो बेला नेपाली पत्रपत्रिका खासै निस्केको नै थिएन । उहाँसँग म पत्रपत्रिकाहरू लुकीलुकी माग्थेँ अनि लुकीलुकी पढ्दथेँ । यसमा साहित्य, कला र विभिन्न जानकारीमूलक पत्रिका हुन्थेँ । उहाँहरू सरुवा भएर गएपछि मैले पढ्न पाउन छाडेँ । मलाइ साह्रै दुख लाग्यो । मैले यसरी पढेको घरका कसैले थाहा पाएका थिएनन् ।

पुस्तक पढ्न नपाएपछि म बुनतुन गरेर बस्दथेँ । अरूले बनाएको सजावटको सामानहरू, टेबुलपोस, रुमाल, स्वीटर देख्नेबित्तिकै म नक्कल गरिहाल्दथेँ । मैले हाते रुमाल, स्वीटरहरू धेरै नै बुनेँ । आमाले गरेको काम त तुरुन्तै टिपी हाल्थेँ । आमाले बाती काट्नुभएको, सेल रोटी पकाउनु भएको अनारस बनाउनु भएको, फुलौरा र तितौराहरू बनाउनुभएको देख्नेबित्तिकै सिकिहाल्दथेँ । यसरी तुरुन्त सिक्ने बानी देखेर आमाहरू छक्क पर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, ‘देख्नेबित्तिकै सिकिहाल्छेस् साहै्र दुःख पाउने भइस् । दुखिया हुने भइस् ।’

यसरी विभिन्न कलाहरूलाई आफूले टिपी हाल्ने हुँदा दुःख पाइदोरहेछ । त्यो गर्दा दुःख हुन्छ तर गरेपछि आनन्द आउँदो रहेछ । मेरो जीवनमा यस्तै एउटा दुःखलाई मैले कलामा उतारेर आनन्द पाएको घटना छ । यो घटना म त्यस्तै आठ वा नौ कक्षामा पढ्दै गरेको बेलाको हो ।
म त्यो बेला त्यस्तै आठ वा नौ कक्षामा पढ्दै थिएँ । हाम्रो घरको अलिक तल बाँझगरा भन्ने ठाउँ थियो । त्यहाँ एकजना दिदी बस्नुहुन्थ्यो । मेरो बुवाले उहाँलाई दिदी मान्नुभएको थियो । उहाँ त्यस्तै चालीस वा पैतालीस वर्षको हुनुहुन्थ्यो होला । उहाँको एकजना छोरा हुनुहुन्थ्यो । छोराको विवाह भैसकेको थियो । छोराले आफ्नो श्रीमती आमासँगै छोडेर सरकारी जागिरमा पूर्वीपहाड जानुभएको रहेछ । एकदिन दिदी दिउसोको समय हाम्रो घरमा आउनुभयो । त्यो बेला संयोगले मेरो बुवा पनि घरमा नै हुनुहुन्थ्यो । उहाँको घरमा बुहारीसँग खटपट परेको रहेछ । छोरा घरदेखि धेरै टाढा कसलाई यो कुरा भन्ने भनेर उहाँ मेरो बुवाआमासँग मनको पीर पोख्न आउनुभएको रहेछ । उहाँले रुँदै आफूलाई झाडापखाला हुँदा बुहारीले नहेरेको कुरा सुनाउनुभयो । हामी सबैले यो सुनिरह्यौ । गर्भमा हुँदा नै श्रीमान् बितेको अनि छोरालाई अनेकौ दुःख र हन्डर खाइ हुर्काउनुभएको थियो ती दिदीले । अहिले छोरा हाकिम भएर सरकारी जागिर खाने भइसकेको थियो । तर बुहारीले आफूप्रति गरेको व्यवहारले उहाँ अत्यन्तै पीडित हुनुहुँदो रहेछ ।

उहाँले भन्नुभयो, ‘भाइ कसरी मेरो छोरा सामु यो कुरा पु¥याउनु ? आफूलाई लेख्न पढ्न पनि आउँदैन । जसरी हुन्छ मेरो छोरालार्ई डाकी देऊ ।’

त्यो बेला अहिलेकोजस्तो फोन, मोबाइल थिएन । चिट्ठीपत्र पठाउने चलन थियो । त्यो पनि कम्तिमा हप्ता—दस दिनमा पुग्थ्यो । धेरैमा महिना दिन पनि लाग्थ्यो । अत्यन्त जरुरी हुँदा थोरै शब्दमा तार पठाउने चलन थियो । घरमा लेखपढ गर्ने दाजुहरू कोही हुनुहुन्थेन ।

आमाले भन्नुभयो, “यो शर्मिला छे यसले लेखिदिन्छे नि दिदीको छोरालाई चिट्ठी ।”
बुवाले भन्नुभयो, “लौ लेख्लेख् छोरी चिठी, अहिले दिदीले भनेका कुरा त सुनिस् होला नि । यस्तोयस्तो हालखबर छ छिट्टै आउनु भन्नु ल, लेखि हाल् ।”

बुवाले यति भन्नुभएपछि म कलम लिएर लेख्न बसेँ । कस्तो लेखेँ, के लेखँे, थाहा भएन । तर सबै कुरा सन्दर्भ मिलाएर लेखेजस्तो लाग्छ । लेखिसकेपछि मैले पढेर सुनाउनु पर्दथ्यो । अनि पढेर पनि सुनाएँ । त्यतिखेर केटाकेटी नै थिएँ । सबै कुरा त मैले ख्याल गरिनँ । मैले यो कुरा बिर्सिसकेको रहेछु ।
धेरै समयपछि भनौँ म तरुनी भएपछि आमाले भन्नुभयो, “यसले त्योदिदीको छोरालाई लेखेको चिट्ठी पढ्दा दिदी थोरै रुनु भएन । कस्तो भाका पुर्याएर लेखेकी ! त्यो चिठी पुग्नुबित्तिकै छोरा आमालाई लिन आइपुग्यो रे । कस्तो आमालाई काध हालेर रोयो रे । कसरी लेखेकी थिई ?”
लेख्न त केके लेखेँ मलाई नि थाहा थिएन । सायद मैले कोर्सभन्दा बाहिरी पत्रपत्रिकाको अध्ययन गरेको हुनाले भाका मिलाएर लेख्न सकेँ हुलाँ भन्ने लाग्छ ।
यो कुरा त मैले बिर्सिसकेको रहेँछु ।
मैले अरूको दुःखलाई आफूभित्र कसरी कला बनाएर उमार्न सक्ने रहेछु ! साँच्चै मैले ती विधवा आमाको वेदनालाई यति सानै उमेरमा कसरी कलामा उतारेर खुसी उमार्न सकेँ अहिले सम्झँदा मलाई अचम्म लाग्छ । त्यो कलाले त्यो बेला कति आनन्द दियो होला ती दुःखी आमालाई । मेरो कलाले ती आमालाई न्याय दिन सकेकोमा म पनि कति आनन्दित भए हुलाँ त्यो बेला । म अहिले पनि आनन्दित हुने गर्छु त्यो कुराले । त्यो कला मेरो जीवनमा बीज बनेर गाडियो अनि साहित्यिक वृक्ष बनेर हुर्कदै गयो । मलाई अहिले यस्तै लाग्छ र आफँैभित्र आनन्दमा हराउन मन लाग्छ – सारा दुःखका कला आफूभित्र उमारेर ।
त्यसैले होला म साहित्यमा कथा, उपन्यास लेख्न रुचाउँछु । साहित्यको यो विधामा प्राय अरूका दुःखहरू नै लेखिएका हुन्छन् । यसरी अरूका दुःख लेखेर म खुसी उमारी रहेको हुन्छु । यही खुसीलाई जीवनको ठुलो आनन्द मानेर रमाइरहेको हुन्छु ।

4 thoughts on “शर्मिला खड्का (दाहाल) को बाल्यकाल

  1. कति राम्रो संस्मरण । कति बर्षमा हुँदा र कुन सालका भनेर खुलाउनुभएको भए पछि पढ्ने पुस्तालाई पनि त्यो समयको साहित्य पढ्दा एउटा समाजको चित्रण आउथ्यो।

    1. सही कुरा हो राधिका मेम । मैले कक्षामात्र उल्लेख गरे अब चाहि उमेर पनि राख्नु पर्ला । सुझावको लागि हार्दिक आभार ।

  2. त्यसैले होला म साहित्यमा कथा, उपन्यास लेख्न रुचाउँछु । साहित्यको यो विधामा प्राय अरूका दुःखहरू नै लेखिएका हुन्छन् । यसरी अरूका दुःख लेखेर म खुसी उमारी रहेको हुन्छु । यही खुसीलाई जीवनको ठुलो आनन्द मानेर रमाइरहेको हुन्छु । Touchy, so nice interview

Comments are closed.