– उपासना बराल
कक्षा : ७, फिनिक्स स्कूल
‘चेजिङ्ग रेड–बर्ड’ शेरोन क्रिचद्वारा रचित एक सुन्दर पुस्तक हो । यो उपन्यास पूर्णरूपमा यस कथाको मूख्य चरित्र- नायिकाको साहसिकतामा आधारित छ । जिन्नी टेलर– जसले पुस्तकभरिका सबै घटनाको वर्णन गर्दछिन् । जिन्नी एउटा नाम हो । यो Zinnia शब्दबाट बनाइएको हो । जुन अमेरिकामा पाइने एक प्रकारको फूल रहेछ ।
कथा बाईब्याङ्क्स, केन्टकीको एउटा खेतमा रुमलिएको देखिन्छ ।
नायिका जिन्नी टेलरले आफ्नो स्थायी सम्पत्तिको पछाडि एउटा पुरानो ट्रेल भेट्टाउँछिन् । यस ट्रेलले उनलाई आकर्षित गर्दछ । अन्ततः उनी यस ट्रेलसँग जोडिन्छिन् र त्यस ट्रेलमा उम्रिरहेको झार खाली गरी त्यो ट्रेल कहाँ सकिन्छ भन्ने पत्ता लगाउने एउटा चुनौतिका रूपमा लिन्छिन् । उनी एक सङ्ग्रहालयको भ्रमण गर्छिन् जहाँ उनले त्यो ट्रेलको विवरण तथा नक्सा भेट्टाउँछिन् । त्यसले उनलाई रोमाञ्चित गर्छ र थप खोजीका लागि जिज्ञासु बनाउँछ ।
यो बीस माइल लामो ट्रेल बाईब्याङ्कस्देखि चोकटनसम्म घाँस र झारपातले भरिएको थियो । उनले पछि थाहा पाइन् कि त्यो ट्रेल मुख्य गरी भारतीय ट्रेल थियो, पछि यो ट्रेल ट्रयापरहरू र अझ पछि लजर्सहरूद्वारा प्रयोग भएको थियो । यो साँघुरो ट्रेल घोडसवारीका लागि पर्याप्त फराकिलो थियो तर घोडागाडीका लागि भने साँघुरो थियो । जिन्नी त्यो साँघुरो ट्रेलको बारेमा अनुसन्धान गर्न चाहन्छिन् । हुनसक्छ कि उनी यो ट्रेल आाफ्नी मृत काकी जेसी र बहिनी रोजलाई भेट्ने इच्छाले खोज्न तम्सिएकी थिइन् वा सायद ती रहस्यहरू सुल्झाउनका लागि जुन उनका काका नेटसँग सम्बन्धित थियो ।
यस मुख्य विषयवस्तुसँग सम्बन्धित अन्य कथाहरू पनि जोडिएका छन् । ती कथाले यस पुस्तकलाई अझ चाखलाग्दो र रमाइलो बनाउँछ । पुस्तक पढ्दै जाँदा यहाँ उल्लिखित सबै स्थान, स्थानचिह्न र ठाउँको तस्बिर आँखामा आउँछ । उपन्यासकी पात्र मेले कपालमा लगाएका रङ्गिन रिबन र त्यससँग जोडिएका सबै घटनाहरू महसूस गर्न सकिन्छ । केही घटनाहरू डरलाग्दा र केही घटनाहरू साँच्चिकै जस्ता र रमाइला पनि लाग्दछन् ।
काकी जेसी यस पुस्तककी सबैभन्दा मनपर्ने पात्र हुन् तर उनको मृत्यु कथाको सुरुवातमै हुन्छ । जिन्नीको मनमा काकीको मृत्यु उनकै कारणले भएको हो भन्ने विचार गडिन्छ । बहिनी रोजको मृत्युको कारण पनि उनले आफैँँलाई ठान्छिन् र आफू नै यसको दोषी भएको महसूस गर्छिन् ।
काकी जेसीको मृत्युपछि उनका काका नेटमा केही परिवर्तनहरू देखिन्छन् । नेट जेसीलाई रेड बर्ड अर्थात् रातो चरी भन्न मन पराउँथे । उनी कथाका केही भागहरूमा काल्पनिक राता चराहरू समाउन तिनको पिछा गरिरहेका देखिन्छन् । जिन्नी सायद काकीलाई भेट्न पाउने आशले गर्दा त्यो ट्रेल खाली गरिरहेकी थिइन् भने काका नेट ती राता चराहरूलाई आफ्नो रेड बर्डसँगको पुनर्मिलनको आशले पछ्याइरहेका थिए । यस कथाका केही भाग अत्यन्त दुःखद छन् र तिनले अवश्य पनि रुवाउनेछन् ।
यस संसारमा कहीँ एउटा ट्रेल छ जसले बाईब्याङ्क्सदेखि चोकटन सम्मलाई जोड्ने काम गर्दछ । त्यसैगरी जेक बून, काका नेट, जिन्नी र बाँकीका ती पात्रहरू पनि जीवित नै हुन् जस्तो लाग्दछ ।
ती चोरिएका उपहार, शिविरमा हेरविचार गर्न आएको जेक, काका नेट, उनको क्याबिन,पदक र जिन्नीका विगतका स्मृतिहरूले यस उपन्यासलाई एकदमै आकर्षक बनाएका छन् ।
केही त्रास, केही हाँस्य, केही दुःखद विषय तर रमाइलो कथन अनि यति धेरै अध्यायले यस पुस्तकलाई आकर्षक बनाएका छन् । पढ्न थालेपछि छाड्नै मन मान्दैन र पढ्दापढ्दै कुन बेला जिन्नीसँग आफू साटिइन्छ पत्तै हुँदैन ।