एसइई परीक्षा वैशाखमा हुने

राष्ट्रिय समाचार

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) वैशाख ९ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर २० गते सम्पन्न गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । कोरोना भाइरस सङ्क्रमणका कारण विगत दुई वर्ष एसइईको आन्तरिक मूल्याङ्कन गरेको र त्यसअघिका एसइई परीक्षा चैत महिनामा हुँदै आएकाे थियाे ।

यस वर्ष भने कोरोना महामारीका कारण पढाइको कक्षा प्रभावित भएकाले पढाइलाई पूर्णता दिनका लागि बोर्डले नियमित समयभन्दा एक महिना ढिलो गरी परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले आउँदो स्थानीय तहको निर्वाचनलाई समेत ध्यानमा राखेर परीक्षाको मिति निर्धारण गरेको उहाँले जानकारी दिनुभयो । यस वर्षको परीक्षामा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने अनुमान बोर्डले गरेको छ । परीक्षाको तालिका भने बिहान सार्वजनिक गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published.