रसुवा, २८ माघ (रासस)/ उत्तरी रसुवाको चिलिमेस्थित गोङ्गाङ माथिको तातोपानीकाे मूल पुनः सुकेको छ । गानुगोला, टाउको दुख्ने, शरीर चिलाउने र दमजस्ता रोगको समस्या भएका व्यक्तिले औषधिका रूपमा प्रयोग गर्दै आएको पानीकाे मूल सुकेपछि नुहाउन तथा लामो समय डुबुल्की मार्न नपाउने भएका छन् । विसं २०७२ को भूकम्पसँगै विलय भएको तातोपानीको मूल पाँच वर्षपछि गत भदौमा यथास्थानमै फर्किए पनि सुक्खायामसँगै केही दिन अगाडि उक्त मूल पुनः सुकेको स्थानीय बासिन्दाले बताएका छन् ।
परम्परागत रूपमा नुहाउँदै आएको तातोपानी मूल सुकेसँगै तातोपानी क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दामाझ चिन्ता छाएको छ । पर्यटकीय क्षेत्रको तामाङ सम्पदा मार्ग अन्तर्गत् पर्ने सो तातोपानीको मूल सुकेसँगै आन्तरिक एवं बाह्य पर्यटकको आकर्षण समेत घटेको छ । विशेषगरी प्रत्येक वर्ष कात्तिक र चैतमा नुहाउँदा शारीरिक रोग हट्ने मान्यता रहिआएको थियो । मानिसको चापलाई दृष्टिगत गरी बनाइएका दर्जनौ निजी होटलसमेत खाली हुँदै गएका छन् ।
भूकम्प अगाडिको समयमा तातोपानी नुहाउन वार्षिक रूपमा २० हजारभन्दा बढी मानिस त्यस स्थानमा पुग्ने गरेको स्थानीयको भनाइ छ । अधिकांश समय चिसो रहने सो क्षेत्रमा दैनिक सयौँ स्थानीयवासीलाई नुहाउन समेत सहज हुँदै आएको थियो ।