पनौतीमा १२ वर्षे मेला सकियो, पूर्वाधार निर्माण सकिएन

राष्ट्रिय समाचार

आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थी साना हुन्छन् । तिनलाई प्रयोग गरेर विद्यालयले मेलाकाे समयमा व्यापार गर्दा पनि नगरपालिका केही बाेलेन ।

पनौती, २ फागुन (रासस)/ पनौतीमा १२ वर्षे मेला लाग्ने समय पहिले नै निश्चित हुन्छ । यो वर्ष मेला लागेपछि अर्को मेला २०९० सालमा लाग्छ । यस्तै यो वर्ष मेला लाग्ने पनि विसं २०६६ मै थाहा थियो । जसअनुसार २०७४ सालमा निर्वाचित पनौती नगरपालिकाका जनप्रतिनिधिले मेलालाई भव्य बनाउन तयारी गरेका थिए । विसं २०७६ देखि नै तयारी थाल्ने निर्णयनगर कार्यपालिकाले गरेको थियो । बाह्र वर्षे मकर मेलाको तयारीका लागि दुई वर्षअघिदेखि भौतिक संरचना निर्माणका काम गर्ने निर्णय गरिए पनि काम भने तीन महिना अघिमात्र सुरु भयो ।

विद्यार्थीले काम गरे खाजा घरमा । फाेटाे : केटाकेटी अनलाइन

तीन महिनामा नसकिएका काम अहिले पनि मकर मेला लाग्ने त्रिवेणीघाट वरपरको नदी किनारमा अझै अलपत्र छ । यस क्षेत्रमा नगरपालिकाले ढुङ्गा विच्छ्याउने काम सुरु गरेकामा नसकिएर अझै खाली भुइँ देख्न सकिन्छ । किनारमा थुपारिएका ढुङ्गामा अल्झिएर कयौँ भक्तजन पछारिए । कतिलाई सामान्य चोटपटकसमेत लागेको तीर्थ यात्री रञ्जना तिमल्सिनाले बताउनुभयो ।

नगरपालिकाले दुई वर्ष अघिदेखि रु आठ करोड ३५ लाख मेलाका लागि संरचना निर्माण खर्च गरेको छ । यसमध्ये रु सात करोड आठ लाखको पूर्वाधार निर्माण खर्च गरिएको नगरप्रमुख भीम न्यौपानेले राससलाई जानकारी दिनुभयो । रु एक करोड २७ लाखको भने रङरोगन एवं मन्दिरलगायत सांस्कृतिकस्थल मर्मत सम्भारको काम गरिएको थियो ।

खाजाघर चलाउने विद्यालय । फाेटाे : केटाकेटी अनलाइन

माघ १ गते मेला सुरु भएपछि ढुङ्गा छाप्ने र रङ लगाउने काम सुरु गरियो । मेला सुरु भएपछि थालिएका यी काम अझै पूरा भएका छैनन् । नदीमा स्नान गर्न राखेको बाँस माघमा पानी परेर बाढी आउँदा बगाएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाका परामर्शदाता इञ्जिनीयर सितु सैँजुले बताउनुभयो । पहिलेदेखि नै निश्चित हुने मेलाको तयारीमा यस्ता कमजोरी भएको पनौतीवासीको गुनासो छ ।

नगरपालिकाले व्यवस्थापन गरेको मेलाका समयमा कोरोनाका कारण विद्यालय बन्द गरिएको थियो । पनौती बजारको श्री पनौती आधारभूत विद्यालयका विद्यार्थीले भने माघभर विद्यालयमै खाजा घर चलाए । यस क्रमममा करिब रु तीन लाख आम्दानी भएको जनाइएको छ । विद्यालयका प्रधानाध्यापक लक्ष्मीकृष्ण ताम्राकार शैक्षिक भ्रमण जान विद्यालयमै खाजा घर चलाउनुपरेको बताउनुहुन्छ ।

आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थी साना हुन्छन् । तिनलाई प्रयोग गरेर विद्यालयले व्यापार गर्दा पनि नगरपालिका मौन छ । विसं २०७४ मा राज्य पुनःसंरचना भएपछि माध्यमिक तह (कक्षा १२) सम्मका विद्यालयको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई नै दिइएको छ । मेला व्यवस्थाका लागि नगरपालिकाको सचिवालयका संयोजकसमेत रहनुभएका वरिष्ठ प्रशासकीय अधिकृत ईन्द्रप्रसाद अधिकारी मेलाका लागि विद्यालय बन्द गर्ने तयारी गरेकामा कोरोनाकै कारण सरकारले विद्यालय बन्द गरेको स्वीकार गर्नुहुन्छ ।

मेलाको सांस्कृतिक महत्व
पनौती नगरपालिकाको वडा नं ६ र ७ मा पर्ने तीन नदीको संगमस्थल क्षेत्रमा १२ वर्षमा मेला लाग्छ । वडा नं ६ को ब्रह्मायणी मन्दिरमा रहेका दुई खाल्डामा मेला लाग्ने वर्ष पानी भरिन्छ । अरु वर्ष जति गाग्री पानी हाले पनि नभरिने गरेको स्थानीयवासीसमेत रहनुभएका इञ्जिनीयर सैँजु बताउनुहुन्छ ।

माघ महिनामा सूर्य मकर राशिमा भएका बेला लाग्ने मेलालाई मकर मेला भन्ने गरिएको हो । मेला कहिलेदेखि चल्यो भन्ने सम्बन्धमा कुनै कागजात वा दस्तावेज पाइएको छैन । यो मेलाको सन्दर्भ भने देवराज इन्द्रसँग जोडिएको किम्बदन्ती पनौतीमा सुनिन्छ । इन्द्रले पापमोचनका लागि १२ वर्षसम्म तपस्या गरेपछि स्थापना गरेको मन्दिरलाई इन्द्रेश्वर भन्ने गरिएको छ । त्यसअघि गौतम ऋषिको श्रापबाट मुक्त भएपछि स्थापना भएको मन्दिरलाई मुक्तेश्वर भन्ने गरिएको छ ।

यी दुवै मन्दिर चतुःषष्टि अर्थात् ६४ ज्योतिर्लिङ्ग मध्येमा पर्छन् । देशभर रहेका ६४ ज्योतिर्लिङ्गमध्ये पनौतीमै चार वटा छन् । इन्द्रेश्वर, विश्वेश्वर, मुक्तेश्वर र भालेश्वर नामका चार ज्योतिर्लिङ्ग रहेको नगरपालिका भएकाले पनि यसको महत्व छ । मकर मेलाका बेला त्रिवेणीघाटमा रहेको वासुकीको शिलामुनि स्नान गर्ने प्राचीन कालदेखिको विधि छ । विधि थाहा नहुनेले भने जतासुकै स्नान गर्ने गरेका छन् । यससम्बन्धी जानकारी पनि राम्रोसँग नदिइएको भन्दै भक्तजनले आपत्ति जनाएका छन् । महत्वपूर्ण तीर्थस्थल भएकामा कतै पनि सूचना पाटीसमेत राखिएको छैन ।

पनौतीमा तीन नदीको सङ्गम भएकाले त्रिवेणीघाट भनिएको हो । लीलावती (रोशी), रुद्रावती र पद्मावतीको सङ्गमस्थललाई पवित्र तीर्थका रूपमा मान्ने गरिएको छ । पद्मावती अर्थात् दुधको खोला भने गोरखनाथ डाँडामुनिको रहेकाले देख्न नसकिने विश्वाससमेत यहाँ पाइन्छ । बत्तीस लक्षणले युक्त भएका मानिसले भने यो खोला र दुधखोला देख्न सक्ने धार्मिक विश्वास छ । अहिलेसम्म यहाँ दुधको खोला देखेँ भन्ने मानिस आएका छैनन् ।

गोदावरी र पनौतीको मेला छ/छ वर्षको फरकमा लाग्ने गरेको छ । यस सम्बन्धमा समेत यहाँ किम्बदन्ती सुन्न पाइन्छ । परापूर्व कालमा गोदावरी र पनौतीमा खडेरी पर्‍यो । पनौतीका राजा दीर्घरथ र पाटनका राजा सत्यरथ दुवैको इष्टदेवी फूल्चोकी माई थिइन् । दुवैले इष्टदेवीको आराधना गरे ।

फूल्चोकी माईले सुन र चाँदीको फूल ल्याउन भन्नुभयो । पाटन क्षेत्रमा सुन र चाँदीका कालीगढ धेरै हुने भएकाले फूल बनाउन गए । पनौतीका राजाले त्यहाँको फाँटमा तोरी मूलाका फूल भेटे । दीर्घरथले तोरी र मूलाको फूल चढाएपछि फूल्चोकी माईले लीलावती खोला पनौतीतिर पठाउनुभएको थियो । पाटनका राजाले सुन र चाँदीको फूल बनाएर ल्याएपछि लीलावतीको आधा पानी गोदावरी पठाएकाले छ/छ वर्षको अन्तरालमा दुवै स्थानमा मेला लाग्ने गरेको विश्वास स्थानीयवासीमा छ ।

मेलामा विभिन्न सङ्घ संस्थाको सहभागिता रहेको थियो । कोरोना कालमै मेला परेकाले मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोका चिया १० हजार जना मानिसलाई निःशुल्क खुवाइएको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिनुभयो । मेलामा आउने भक्तजनलाई गुर्जोलगायत ६० भन्दा बढी प्रकारका जडिबुटीबाट बनेको धुलो र चियाको पोकासमेत निःशुल्क वितरण गरिएको उहाँले सुनाउनुभयो ।

Leave a Reply

Your email address will not be published.