– अरुण नदी खत्री ‘नदी’
‘भगवानकाे रुप’ नामक सचित्र बालकथा सङ्ग्रह नारी साहित्यकार सुशीला देउजाको २०७१ सालमा प्रकाशित कृति हो । यस सङ्ग्रहभित्र कालु, मानिस ठुलो कामले हुन्छ, हुने बिरुवाको चिल्लो पात लगायत विभिन्न शीर्षकका ५ वटा बालकथाहरु रहेका छन् । यी कथाहरु बालजीवनका विभिन्न विषयसँग सम्बन्धित छन् ।
यस सङ्ग्रहभित्रको पहिलो कथा ‘काले’ भित्र रामको प्रिय कुकुर कालुको इमान्दारिता र सहयोगको कथा रहेको छ ।
‘मानिस ठुलो कामले हुन्छ’ शीर्षक कथामा किताबमा पढेका ठाउँहरु आफ्नै आँखाले देख्नु, हेर्नु र अनुभव गर्नुको महत्वको मज्जा नै बेग्लै हुन्छ भन्ने सन्दर्भको रोचक कथा रहेको छ ।
ठुलो सानो भन्ने जाति हुँदैन भनेर तपाईले भन्नु भएको होइन बुवा ? तर यहाँ यस्तो किन भयो ? भन्ने एउटी छोरीको आवाजलाई कथाकार देउजाले प्रस्तुत गरेकी छिन् । ठुलो जात र सानो जात भन्ने कुरा मानिसको सानो सोच मात्रै हो भनेर कथाकार सुशीलाले लेखेकी छिन् ।
‘हुने बिरुवाको चिल्लो पात’ शीर्षकको कथाभित्र विद्यालयमा मास्टरहरुले शङ्करको सराहना गर्दै स्याबासी दिन्थे । शङ्करको आत्मविश्वास झन् बढ्दै गयो । अब बाबुआमा पनि शङ्करको निर्णयप्रति गौरव गर्न थाले । फुपूको माया, निस्वार्थ सहयोग र शङ्करको लगनशीलता एवम् मिहिनेतले शङ्कर एस.एल.सी. र आइ.एस.सी. मा राम्रो नम्बर ल्याएर पास भयो । त्यसपछि खुला प्रतियोगितामा भाग लिएको शङ्करले इन्जिनियर पढ्नको लागि पूरै छात्रवृत्ति पायो । उसको र फुपूको खुसीको सीमा थिएन भन्ने विषयमा कथाकारले लेखेकी छिन् । सङ्ग्रहको नामकरण गरिएको कथा ‘भगवानकाे रुप’ भित्र शिवप्रसादलाई पक्का विश्वास भयो बालकहरु साँच्चिकै भगवानकाे रुप हुँदा रहेछन् भनेर । समय समयमा बालकहरुले पत्यार नलाग्दा ठुला असल काम गरेर देखाउन सक्दा रहेछन् । कृष्णको चतुर्याइदेिख गाउँलेहरु दङ्ग भए । उसलाई सबैले स्याबासी दिए भनिएको छ ।
यस सङ्ग्रहभित्रको अन्तिम एकताको बल शीर्षकको कथामा श्यामु नाम गरेको एकजना केटो भक्तपुरमा बस्थ्यो । ऊ साह्रै नै चकचके स्वभावको थियो । जहिले पनि खल्तीमा गुलेली लिई हिँड्थ्यो । श्यामुले कागलाई गुलेलीले हान्न लाग्दा कोही कागले श्यामुको टाउकोमा, कोही कागले श्यामुको शरीरको विभिन्न भागमा ठुंग्न थाले । सोच्दै नसोचेको अकस्मातको आक्रमणले श्यामु अतालियो र सम्हालिन नै गाह्रो पर्यो । सानासाना जाबो काग भनी हेपेको थियो श्यामुले । तर आज उसको ज्यान यिनै कागबाट नै जोखिममा परेको कुरालाई कथाकारले लेखेकी छिन् । यस कथामा एकताको महत्वलाई सुन्दर किसिमले प्रस्तुत गरिएको छ ।
सङ्ग्रहभित्रका सबै कथामा चित्रहरु पनि राखिएको यस सङ्ग्रहभित्रका बालकथाहरु हाम्रा प्यारा भाइबैनीहरुलाई ज्ञानवर्धक छन् ।
२०७१ सालमा निस्केको यस सङ्ग्रहभित्र रहेको सुशीलाका बालकथाहरु सानासाना भाइबहिनीहरुलाई अर्ती उपदेश दिने खालका छन् । यस बालकथा किताबकाे प्रकाशक केटाकेटी मिडिया हो । पृष्ठ संख्या ४७ र मूल्य रु. १०५ रहेको छ । यस कृतिको परिमार्जित दोस्रो संस्करण वि.सं. २०७९ मा प्रकाशन हुने प्रकाशकबाट जानकारी प्राप्त भएको छ ।
अन्त्यमा लेखक सुशीलाको यो कृति प्रकाशन पश्चात ‘बाघ र बाबा’, ‘महिमा’, ‘चारुमतीको रहस्य’, ‘सम्पदा दर्शन’ भाग १ र २ लगायत बालपुस्तकहरु प्रकाशन भइसकेका छन् । यसबाट बालसाहित्यप्रति उनको लगाव बढ्दै गएको देखिन्छ । भविष्यमा उनकाे अझ धेरै नयाँनयाँ विषयका बालकृतिहरु पढ्न पाइने कुरामा म आशावादि रहेको छु । अग्रिम शुभकामना पनि दिन चाहन्छु ।