चितीले खेल्यो होली – कार्तिकेय घिमिरे

Highlights कथा साहित्य

सागरनाथ नाम गरेको एउटा घना जङ्गल थियो । त्यो जङ्गलमा बाघ, भालु, चितुवा, बाँदर र अरु थुप्रै ठूला साना जनावरहरु बस्थे । ठूला जनावरहरु साना जनावरसँग बोल्न पनि रूचाउँदैनथे । त्यसैले त्यस जङ्गलका साना जनावरहरु आफूभन्दा ठूलाहरुको माया र स्नेह नपाउँदा असाध्यै दुःखी थिए ।

त्यही वनमा चिती नाम गरेको बच्चो खरायो थियो । चिती असाध्यै उत्साही खरायो थियो । नयाँ–नयाँ कुराहरु जान्नु र सिक्नुलाई नै उसले आफ्नो मुख्य काम बनाएको थियो । त्यसैले सबैले उसलाई ज्ञानी चिती भन्थे चिती पनि सबैको सुख–दुःखमा साथ दिएर सहयोग पुर्याउँथ्यो ।

एक दिनको कुरा हो, भुन्टे चितुवाको पसलमा कालु भालु बसिरहेको थियो । त्यत्तिकैमा सामान लिएर पैसा नतिरेको निहुँमा भुन्टे चितुवा र कालु भालुबीच झगडा सुरू भयो । त्यसपछि दुवै लड्न थाले कालु भालुले भुन्टे चितुवालाई मुखभरि रगत आउने गरी हिर्कायो ।

यसरी झगडा परेको दिनदेखि त्यो जङ्गलमा ठूला र साना जनावरबीचको दुश्मनी झन्–झन् बढ्दै गयो । एकअर्कालाई फुटेको आँखाले हेर्न नचाहने भए । यो सबै कुरा हेरिरहेको चिती खरायोलाई असाध्यै खल्लो लागिरहेको थियो । उसको मन भारी भएको थियो । त्यसैले ऊ शान्ति खोज्दै जङ्गल छोडेर चापिनी नाम गरेको एउटा अति नै सुन्दर गाउँमा गयो । “ओहो क्या रमाइलो !” चिती खरायो मानिसहरुले एकअर्कामा रङ्ग दलेर खुसी मनाएको देखी असाध्यै खुसी भयो । वास्तवमा ऊ फागूपूर्णिमाको होली खेल्ने दिन त्यहाँ पुगेको थियो ।

यसरी रङ्गको ‘होली हे’ को मौसममा सबे रमाएको देखेपछि चिती खरायोको दिमागमा एउटा जुक्ति आयो । त्यसपछि ऊ हतार–हतार केही रङ्गहरु किनी आफ्नै बासस्थान सागरनाथ वनतिर लाग्यो ।
भोलिपल्ट चिती खरायोले ठूला–साना सबै जनावरलाई चापिनी खोलाको चौरमा जम्मा हुने भनी खबर पठायो । नभन्दै सबै जनावरहरु नयाँ कुरा हेर्न पाउने लोभले गर्दा टाढा–टाढादेखि आए ।

सबै साथीभाइ जम्मा भइसकेपछि चिती खरायोले अस्ति पसलमा झगडा गर्ने कालु भालु र भुन्टे चितुवालाई पलेंटी मारेर बीचमा बस्न आग्रह गर्यो । त्यसपछि दुवैलाई आँखा चिम्लन भन्यो र आफूचाहिँ पालैपालो दुवैको अनुहारमा जुँगा, दाह्री (रङ्ग पोतेर) बनाइदिएर दुवैलाई जोकर बनाउन थाल्यो । केही छिनपछि कालु भालु र भुन्टे चितुवा एकअर्काको अनुहार हेरेर हाँस्न थाले । त्यसपछि ‘होली हे !’ भन्दै एकअर्कालाई फागूको रङ्ग दलेर सागरनाथ वनका ठूला–साना सबै प्राणी रमाउन थाले ।

चिती खरायो अलि पर बसेर होली खेलमा रमाएका आफ्ना जङ्गलवासी साथीहरुलाई हेरिरहेको थियो । ऊ असाध्यै खुसी थियो, किनकि उसले माया र सद्भावको होली खेलेको थियो र अरुलाई खेल्न उत्साहित गरेको थियो ।
(साभार : कान्तिपुर, ‘साप्ताहिक’, २०५७ फागुन २६ गते, पृष्ठ २१) | चित्रकला : मृगजा बज्राचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *