पर्वत, ११ चैत (रासस)/ दुर्लभ मानिने चिरकालिज पन्छी पछिल्ला केही वर्षयता उचित वातावरणको अभावका कारण लोप हुने अवस्थामा छ । केही वर्षअघिसम्म पर्वत जिल्लाकाे उच्च पहाडी भेगमा प्रशस्तै सङ्ख्यामा पाइने चिरकालिज पछिल्लो समय मुस्किलले देख्न पाइन्छ ।
अवैध रूपमा चोरी शिकारी, वनजङ्गलमा आगलागी, बासस्थानको समस्या र जनचेतना अभावका कारण यो पन्छी लोपोन्मुख अवस्थामा पुगेको हो । बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुईपटक मात्र चिरचिर गरेर कराउने भएकाले यसलाई चिरकालिज भनिएको हो । चिरकालिजको अवस्था, बासस्थान, सङ्ख्या र लोप हुनाको कारणबारे अनुसन्धान भने हुन सकिरहेको छैन ।
‘क्याट्रस वालिचि’ वैज्ञानिक नाम रहेको यस पन्छीलाई अङ्ग्रेजीमा चिरफेजेन अर्थात् नेपालीमा चिरकालिज र सुदूरपश्चिमा चेडु चराको नामले चिनिने गरिएको पाइन्छ । यो पन्छी नेपाल वन्यजन्तु संरक्षण ऐनमा संरक्षित पन्छीको सूचीमा सूचीकृत छ । नेपालमा यो पन्छी समुद्री सतहबाट एक हजार ४०० मिटरदेखि तीन हजार ६०० मिटरसम्मको भू–भागमा पाइने लामो समयदेखि पर्वतमा वनजङ्गलको क्षेत्रमा काम गर्दै तत्कालीन डिभिजन वन अधिकृत हरिशचन्द्र सापकोटाले बताउनुभयो ।
नेपालका विभिन्न जिल्लामा दुईदेखि तीन हजारको हाराहारीमा रहेको यो पन्छी पर्वतका उच्च पहाडी क्षेत्रमा देखिन्छ । याे पन्छी उत्तरी पर्वतको शालिजा, लेखफाँट, हम्पालको लेकलगायत पञ्चासेको लेक, डहरेदेउराली, गोल्र्याङ र चिसापानी लगायतका जङ्गलमा पाइने उहाँले बताउनुभयो । सामान्य कालिजजस्तै यो तल्लो तटीय क्षेत्रमा पाइँदैन ।
उहाँले भन्नुभयो, “यो चरा झट्ट हेर्दा कालिजको पोथीजस्तै देखिए पनि कालिज र चिरकालिजमा धेरै भिन्नता रहेको पाइन्छ ।” यो कालिजको भालेको पुच्छर लामो, आँखाको रङ पनि रातो हुने, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ । यसले विशेषगरी चैतदेखि जेठसम्म मात्रै फुल पार्ने र बच्चा कोरल्ने गरेको अनुसन्धानकर्ताहरूको भनाइ छ ।
यो पक्षी मुख्यगरी मध्यपहाडको माथिल्लो भेगका जङ्गल नभएको खुला भिर, खरबारी र अलिअलि झाडी भएको ठाउँमा पाइने गर्छ । ठूला–ठूला जङ्गलको पुछारमा हुने खर्कहरूमा यसलाई देख्न सकिने पर्वतका स्थानीयले बताएका छन् ।
भिरमा नै बासस्थान बनाउने यो पक्षीले एक पटकमा सात देखि १५ वटासम्म फुल पार्ने गरेको अनुसन्धानकर्ताहरु बताउँछन् । चिरकालिज नेपालमा मुख्यगरी अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन शिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर पर्वत सँगै म्याग्दी र बागलुङ तथा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा पाइने अनुसन्धानबाट देखिन्छ ।