– सरिता अर्याल
साधारणतया प्रत्येक मानिसको जन्म एक सुखद सुरुवात हो। कुनै पनि परिवारमा कसैको जन्मले सदस्यको सङ्ख्या मात्र बढाउँदैन परिवारमा उत्सव एवं खुसियाली पनि सँगै लिएर आउँछ। तर जन्मजात परिवारका निम्ति खुसि लिएर आउन पाउने सुअवसर सबैलाई नमिल्दो रहेछ। म जस्ता कोही त समाजले छुट्याएको अभागि र अलछिनाको वर्गमा पनि पर्दा रहेछन् । जसको जन्मले परिवारमा हाँसोको सट्टा आँसु साथमा लिएर आएको हुन्छ।
त्यो दिन पनि मेरी आमा घरधन्दामै ब्यस्त हुनुहुन्थ्यो। बर्षातको समय भएकाले आकाश पनि धुम्मिएको थियो। सायद मौसमले पनि भावि परिस्थितिको सङ्केत गरेको हुनुपर्छ। आमा बिहानको सारा घरधन्दा सकेर घाँस दाउरा गर्न नजिकैको वनमा जानुभयो। बुवा त बिहान छ बजे नै खाना खाएर तीन घण्टा लामो पैदल यात्रा गरेर आफ्नो कार्यक्षेत्रमा पुग्ने र साँझ उसै गरी घर फर्कने गर्नुहुन्थ्यो। साँझसम्म पनि आमाले सामान्य अवस्थामै घरधन्दा सक्नुभयो र दिनभरि थाकेको शरीरलाई ओछ्यानमा बिश्राम दिनुभयो। आकाशको गर्जन चर्को थियो। धर्तीमा आउन हतारिएकी म पनि आमाको पेटभित्र गर्जन थालेछु। आमाको पीडा बढ्दै जान थाल्यो। धर्ती टेक्नको लागि मेरो सङ्घर्ष पनि कहाँ कम थियो र। म पनि त मेरा आमा बुवा र दादा दिदीलाई भेट्न हतारिएकी थिएँ। अन्ततः असार २० गतेको दिन रातको साढे एघार बजे बिरेन्द्रनगर नगरपालिका वडा नम्. ७ इत्राम सुर्खेतमा मेरी आमाले मलाई यस धर्तीमा टेकाउनुभयो। अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ भनेझैँ मेरी आमाले सुरुमा बुवालाई के जन्मियो भनेर सोध्नुभयो। बुवाले छोरी जन्मिई भन्नासाथ आमाले सकिनसकि मेरो आँखा हेर्नुभयो। नभन्दै मेरो आँखाको प्रकृती मेरी ठूली दिदीको जस्तै देखियो जो दृश्टिबिहिन हुनुहुन्थ्यो। त्यसपछि मेरी आमाको होसहवास उड्यो। उहाँ लगभग आठ घण्टासम्म अचेत अवस्तामा रहनुभयो।
त्यसपछि त झनै गाउँका मानिसहरूलाई के निहु पाऊँ कनिका बुकाऊँ भनेझैँ भैहाल्यो। “मेघराजकी स्वास्नीले त अर्की पनि नदेख्ने छोरी जन्माई अरे” भनेर गाउँभरि हल्ला फिजियो। मेरी हजुरआमाले त झन फेरि पनि नदेख्ने छोरी जन्मिएकी छ रे म त हेर्न पनि गएको छैन। मलाई त त्यस्ताको जुठो सुत्केरो पनि लाग्दैन भन्नसम्म भ्याउनुभएछ। मेरी दिदीलाई पनि आफ्नी बहिनी आफू जस्तो दृश्टिबिहिन नहोस् जस्तो लागेको रहेछ। त्यसैले उहाँले थुप्रै पटक आमालाई बहिनी म जस्तै आँखा नदेख्ने त होइन नि है आमा? ऊ त दादाले जस्तै देख्न सक्छे नि है? भनेर सोध्नुहुन्थ्यो रे। आमाले आफ्नो मनलाई बाँधेर दिदीलाई हो छोरी तिम्री बहिनीले आँखा देख्न सक्छिन् भनेर ढाँट्नु हुन्थ्यो अनि एकान्तमा लुकेर धेरै रुनु हुन्थ्यो रे। घरभन्दा धेरै टाढा रामघाटमा विद्यालयको छात्रावासमा बसेर पढ्दा पढ्दै मेरी दिदीको जम्मा आठ वर्षको सानै उमेरमा दुःखद निधन भयो। त्यो दुखद घटना हुँदा भरखर एक वर्षमा टेक्दै गरेकी मलाई आफ्नी दिदीको सम्झना हुने कुरै भएन। आफूले थाहा नपाएका यि सबै घटना आमाको मुखबाट सुन्दा एक काल्पनिक कथा जस्तै लाग्दो रहेछ।
आमा बुवाको लागि सन्तान मुटुको टुक्रा हो भनेर त्यसै कहाँ भनिएको हो र। आफ्नो सन्तान जस्तो सुकै शारीरिक अवस्ताको भएता पनि ऊ बाबूआमाका निम्ति उत्तिकै प्यारो हुन्छ किनकि ऊ उहाँहरूको मुटुको टुक्रा हो। त्यसैले मेरा बुवा आमाले कहिल्यै पनि मेरो शारीरिक अवस्ताका कारण मलाई कुनै पनि कुराको कमि महसुस गराउनु भएन। यतिसम्म कि म आँखा देख्दिन भन्ने कुरा पनि मैले उहाँहरूको मुखबाट कहिल्यै सुनिन। म अरु जस्तै उफ्रन्थेँ, खेल्थेँ अनि उनीहरूसँगै खोलामा पौडि खेल्न पनि जान्थेँ। आमाले धेरै टाढा गएँ भने अरुका आमाले जस्तै मलाई पनि गालि गर्नु त हुन्थ्यो तर तँ आँखा देख्दिनस् त्यसैले यसो नगर् उसो नगर् भनेर कहिल्यै भन्नु भएन। मेरो दादाले पनि मलाई उत्तिकै माया गर्नुहुन्थ्यो। म उहाँ भन्दा सानी भएकीले आफूले गल्ति गर्थेँ र गालि भने दादाले खानु हुन्थ्यो। म साथीहरूसँग खेल्दै गर्दा गाउँका अरु आफन्तहरूले चाहिँ “लड्लिस् है नानी! कति धेरै कुदेकी नसक्ने भएर पनि”। भनेर कहिलेकाहिँ भन्थे तर म चाहिँ त्यस्ता कुरा केहि बुझ्दिनथेँ किनकि मलाई मेरो घरपरिवारले कहिल्यै तँ नसक्ने मान्छे होस् भनेको थिएन। त्यसैले मलाई नसक्ने भनेको के हो, थाहा थिएन। मलाई त्यति धेरै खुसि दिएर मेरा आमाबाबाले भने समाजको कचकच धेरै सहनुभयो। कतिले आमाको कोखलाई दोश दिए त कतिले हाम्रो भाग्यलाई। कतिले त यस्ति अशक्त छोरीलाई पनि कति धेरै माया गरेको होला भनेर समेत भन्न भ्याएछन्। मलाई अचम्म लाग्छ, के त्यसो भन्ने आमाहरूको माया त्यति स्वार्थि थियो जुन शारीरिक अवस्ता ठिकठाक भएका सन्तानहरूलाई मात्र दिइन्थ्यो? के शारीरिक अवस्ता कम्जोर भएका मानिसहरू मानव प्राणीमा गनिदैनन्? के उनीहरूलाई माया र स्नेहको खाँचो पर्दैन? के आँखाले देखेको सुन्दरतामा मात्र मनको माया छचल्किएर आउँछ? के आमाको माया सन्तानको शारीरिक अवस्ता अनुसार भिन्न हुन सक्छ? अब यस्ता सवालहरूमाथि हाम्रो समाजले गहिरो मस्तिष्क मन्थन गर्नु जरुरी छ।